अन्नपूर्ण पदमार्गमा १० हजार पर्यटकले घुमफिर गरे

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा ६ महिनामा १० हजार ६ सय १३ विदेशी पर्यटक आएका छन् । यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये ६ हजार ४ सय ३५ पुरुष र ४ हजार १ सय ७८ महिला पर्यटक आएको जानकारी दिए । यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट १ हजार ७४, इजरायलबाट ८ सय ३२, जर्मनबाट ७ सय ८४ पर्यटक आएका छन् । यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भए पनि दैनिकजसो चार–पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ । सन् २०२३ मा २१ हजार २ सय ४७ र सन् २०२२ मा १५ हजार ९ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । सन् २०२२ को तुलनामा सन् २०२३ मा ५ हजार ३ सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् । केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६ सय ४७, सन् २०१८ मा २९ हजार ४ सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए । सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना संक्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् ।

११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा

सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार ९ सय ७९ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४ सय २ जना विदेशी र ७ हजार ५ सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा ९ हजार ९ सय ७६ जना र सबैभन्दा कम साउनमा २ सय ८ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ । चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख ७ सय रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग १ हजार ५ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा ७ हजार ५ सय ७७ नेपाली, ६ हजार ३ सय ८ सार्क मुलुकका र ४२ हजार ९४ अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

‘नेपाल करी सेफ’ गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४’ आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र इतिहासलाई विश्वभर चिनाइने लक्ष्य लिइएको छ । नेपाली खानाको परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन तथा नेपाली सेफहरुको प्रतिभा चिनाउन प्रतियोगिता आयोजना गरिएको नेपालको लोकप्रिय चेन हस्पिटालिटी ब्राण्ड सिद्धार्थ हस्पिटालिटीका सीइओ सन्तोष न्यौपानेले जानकारी दिए । प्रतियोगिताले नेपाली सेफहरूको प्रतिभा र सीप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि पनि सहयोग पुर्‍याउने न्यौपानेको भनाइ छ । नेपाल पर्यटन बोर्ड समेतको आवद्धतामा आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुकले सिद्धार्थ ग्रुप अन्तर्गतका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्याफेहरु मार्फत आवेदन दर्ता गर्न सक्छन् । साथै इसेवामा नेपाल करि शेफ अफ द इयर सर्च गरि अनलाइन फारम भरेर पनि सहभागी हुन सकिने कार्यक्रम संयोजक दुर्गादत्त पन्तले बताए । आन्तरिक प्रतियोगितामा छनौट भएकाहरुको अन्तिम चरणको प्रतिस्पर्धा र विजेता घोषणा अगस्ट २४ मा काठमाडौंमा हुनेछ ।