राजमार्गले खायो यी चार विमानस्थलको व्यवसाय
गण्डकी । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा दश करोड रुपैयाँ, पालुङटारमा सात करोड रुपैयाँ, बलेवामा १२ करोड रुपैयाँ र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले विसं २०६९ मा नौ करोड रुपैयाँ खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो । धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् । लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे । ‘विसं २०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि’, उनले भने । मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताउनुभयो । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि आठ करोड २४ लाख रुपैयाँ खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको यो विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । छब्बिस वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन, केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो । त्योबेला नेपाल र तारा एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौंको भाडादर ६५ सय तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन । प्राधिकरणले धावनमार्गको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले दुई वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो । धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको निचोड निकालेको थियो । परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताएका थिए । उनले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिएका थिए । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकको पहुँच स्तरीय हुनसकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् । बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले पनि कच्ची छ । सरकारले यसखण्डमा कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु गरे पनि कामले गति लिन सकेको छैन । बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडक स्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाई हुने बताए । ‘भर्खरै विमानस्थल सञ्चालन गरौँ भन्ने अवस्था छैन, पहिले त्यहाँ पुग्ने सडकलगायत अरु पूर्वाधार बनेपछि नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई पनि भन्न सजिलो हुन्छ’, उनले भने । यो खण्डमा दश किमि कालोपत्र भएमा विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । वडाध्यक्ष खत्रीले पहुँचमार्ग निर्माण र विमानस्थल सञ्चालनका लागि नगरमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको बताए । बलेवा विमानस्थल चलेमा यस क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । सरकारले भने आगामी आवको नीति तथा कार्यक्रममार्फत बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताए । ‘पालुङटार विमानस्थलाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न’, उनले भने, ‘काठमाडौं र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ ।’ मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइरहेको छ । काठमाडौं–मुग्लिन सडक पनि स्तरोन्नतिको चरणमा छ । सडक सुविधा नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल हाल प्रयोगविहीन छन् । विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द अवस्थामा रहेको प्रमुख चिन्तनले जानकारी दिए । काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन । देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ । बर्सेनि वन्यजन्तु सिकारका लागि विदेशी हेलिकप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन् । सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ । रासस
‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्वर भूमि’
महोत्तरी । मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्वर भूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् । बिहीबार होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मधेस चुरे पर्वत श्रेणीबाट भारतीय सीमासम्म फैलिएको भौगोलिक विविधतायुक्त प्रदेश रहेको बताएका हुन् । ‘हामीले पर्यटन प्रवर्द्धन गर्न प्रदेशका आठ जिल्लालाई चार समूहमा राखेर काम गर्ने निर्णय गरेका छौँ,’ मुख्यमन्त्री सिंहले भने, ‘सम्भावित नयाँ ठाउँको पहिचान र यसअघि नै विशिष्ट महत्व बोकेका स्थलको संरक्षण र प्रवर्द्धन गरिनेछन् ।’ मुख्यमन्त्री सिंहले मधेसका वन, भूगोल, धार्मिकस्थल, कृषि र स्वास्थ्य पर्यटनका मुख्य क्षेत्र बन्नसक्ने उल्लेख गरे । ‘आँखा र सर्पदंशको उपचार लिन भारतको बिहारबाट मान्छे आउँछन्, हामीले यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सक्नुपर्छ,’ उनले भने । चुरे शृङ्खलाका चनौटे, बेसारेसहितका उच्च डाँडालगायतका स्थान पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको उनको भनाइ छ । जनकपुरधाम, राजविराज र सिमरासहित तीन विमानस्थललाई मुलुकका विभिन्न ठाउँसँग हवाई मार्गमा जोडेर व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ । ‘पर्वतीय क्षेत्र अवलोकन गर्न चाहने पर्यटकलाई हाम्रा विमानस्थलबाट १० मिनटमै अवलोकन गराउन सक्छौँ,’ सिंहले भने, ‘हामीले यसका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ ।’ विकासका सन्दर्भमा जनतामा पलाएको आशा मर्न नदिने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा आयोजकका तर्फबाट मुख्यमन्त्री सिंहलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमले अभिनन्दनपत्र प्रदान गरे । कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकी र महासंघका संरक्षक सल्लाहकार विजय झुनझुनवालागायतको उपस्थिति रहेको थियो ।
युरोपेली देशको भिसा पाउन किन गाह्रो छ ?
काठमाडौं । युरोपको सौन्दर्यले सबैलाई आकर्षित गर्छ । र, धेरै मानिस युरोप भ्रमण गर्न चाहन्छन् । तर, युरोपेली देशका लागि भिसा पाउन निकै गाह्रो छ । युरोपेली देशमा यात्रा गर्न एक विशेष प्रकारको भिसा आवश्यक छ, त्यो हो ‘सेन्जेन भिसा’ । युरोपेली देशहरूले मिलेर सेन्जेन क्षेत्र सिर्जना गरेका छन्, जहाँ भ्रमण गर्न सेन्जेन भिसा आवश्यक पर्छ । सेन्जेन क्षेत्रमा ती युरोपेली देश समावेश छन् जसले सेन्जेन सम्झौतालाई अपनाएका छन्, जसअन्तर्गत कुनै पनि सेन्जेन देशमा पासपोर्ट, भिसा वा परिचयपत्र बिना यात्रा गर्न सकिन्छ । सेन्जेन क्षेत्र २७ देश मिलेर बनेको छ । जसलाई सेगेन पनि भनिन्छ । यहाँ जानका लागि तपाईंलाई एउटा देशको सेन्जेन भिसा चाहिन्छ र यदि तपाईंले भिसा पाउनुभयो भने त्यहाँ गएपछि तपाईं बिना कुनै बाधा सेन्जेन क्षेत्रको जुनसुकै देशमा जान सक्नुहुन्छ । धेरै सेन्जेन देशहरूको भिसा पाउन गाह्रो छ । यी देश जानका लागि धेरै मानिसले अप्लाई गरेका भिसा आवेदनहरू अस्वीकार गरिन्छ । माल्टा, इस्टोनिया र बेल्जियम जस्ता देशहरूमा भिसा पाउन गाह्रो छ । त्यसैगरी युरोपमा आइसल्यान्ड, स्विट्जरल्यान्ड, लाटभिया र इटाली जस्ता केही देश छन् जसको भिसा सजिलै पाउन सकिन्छ । युरोपेली देशहरू घुम्नका लागि सबैभन्दा राम्रो मौसम गर्मी हो किनभने गर्मीमा पनि तापक्रम कम रहन्छ । युरोपमा अगस्टसम्म र कहिलेकाहीँ अक्टोबरसम्म गर्मीको मौसम हुन्छ, त्यसैले तपाईं यी महिनाहरूमा युरोप भ्रमण गर्ने योजना बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले ती सेन्जेन देशहरूबाट भिसाको लागि आवेदन दिन आवश्यक छ जहाँ भिसा अस्वीकार दर सबैभन्दा कम छ । एकपटक तपाईंले त्यो देशको लागि भिसा प्राप्त गरेपछि तपाईं सबै सेन्जेन देशहरूमा यात्रा गर्न सक्नुहुन्छ । तपाईंले पहिले जुन देशका लागि भिसा लिनुभएको छ त्यो देशमा जानुपर्ने छ, त्यसपछि तपाईं त्यहाँबाट बाँकी देशहरू भ्रमण गर्न सक्नुहुने छ । सबैभन्दा कम भिसा अस्वीकृत दर भएका सेन्जेन देशहरू देश अस्वीकृत दर आइसल्यान्ड- २.२ प्रतिशत स्विट्जरल्यान्ड- १०.७ प्रतिशत लाटभिया-११.७ प्रतिशत इटाली– १२ प्रतिशत लक्जेम्बर्ग- १७.७ प्रतिशत लिथुआनिया- १२.८ प्रतिशत स्लोभाकिया- १२.९ प्रतिशत जर्मनी- १४.३ प्रतिशत अस्ट्रिया- १४.३ प्रतिशत ग्रीस- १४.७ प्रतिशत एजेन्सी