होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिइने

काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डल र उपप्रधान तथा अर्थमन्त्रीबीच होटल क्षेत्रको वृहत्तर विकासमा छलफल भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरुप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताएका छन् । अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बढ्दै गएको होटलहरूको संख्या र क्षमतामा उपयोग गर्न भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान बढाउनुका अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरुको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताए । उपप्रधान तथा अर्थमन्त्री पौडेलले आउँदो मौद्रिक नीतिमा पर्यटन/होटल क्षेत्रको स्थायित्व तथा प्रवद्र्धन गर्न अभिप्रेरित रहने बताउँदै व्यवसायीहरुले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने मागप्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने बताए । उनले नेपालमा आउने भारतीय पर्यटकहरुबाट त्यहाँको खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउने लगायत होटल संघ नेपालले उठाएका पर्यटन विकास विस्तारका विषयहरुमा मन्त्रालय सकारात्मक रहेको बताए । उक्त अवसरमा होटल संघ नेपालका अध्यक्ष शाहले होटलको संख्या तथा क्षमता बढे अनुरुप माग बढ्न नसकेको हुँदा आउँदो मौद्रिक नीति लगायतका सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरेका थिए । प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यहरु सीपी श्रेष्ठ र जयदीन श्रेष्ठको उपस्थिति रहेको थियो ।

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गरेका थिए । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका थिए । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ । काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउँछन् । ‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,’ उनी भन्छन्, ‘हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं, त्यहाँ घुमेर फोटो खिच्छन्, टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।’ वाटिका निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको ५ लाख रुपैयाँ लगानी भएको जानकारी दिए । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताए ।

सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन

काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए । होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका थिए । पाण्डेको आजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।