मनकामना केबलकार ५० दिन बन्द हुने
मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘ एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए । स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
पर्यटन मेला सम्पन्न, ५ हजार बढीले गरे अवलोकन
काठमाडौं । पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ । समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो । मेलाको समापन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताइन् । उनले काठमाडौंभित्रको सम्पदा र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महानगरपालिकाको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् । उपप्रमुख डङ्गोलले मेलामा सहभागीलाई आ–आफ्नो देशमा गएर नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउन आग्रह गरिन् । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न मेलाले थप सहयोग पुगेको उल्लेख गरे । उनले निजी क्षेत्रको प्रयासमा सराहनीय काम भएको बताए । मलेसियाको मलेसिया पर्यटन बोर्ड र भारतको बिहार पर्यटन बोर्डकोसमेत सहभागिता रहेको उक्त मेलामा १६ देशका एक सय ५० पर्यटन व्यवसायीका स्टल रहेको थियो । दुई दिनसम्म चलेको मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेको समिट इभेन्ट्स मार्केटसका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए । मेलामा पर्यटनसँग सम्बन्धित समूहगत छलफल भएको थियो । निजी क्षेत्रको सक्रियतामा पहिलोपटक गरिएको मेला सफल रूपमा सम्पन्न भएसँगै आयोजकले आगामी वर्षको मे ३० र ३१ मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासमेत गरेको छ ।
नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो सुरु, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले शुक्रबारदेखि भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट २०२४) सुरु भएको छ । आयोजकले एक्सपो भोलीसम्म चल्ने बताएका छन् । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाडौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकाको लक्ष्य रहेको उल्लेख गर्दै यो कार्यक्रमले पनि सरकारको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । ‘सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ मा कम्तिमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ । सरकार नीजि क्षेत्रसंगको सहकार्य र सहभागितामा पर्यटन प्रर्वद्धनका कार्यक्रम गर्दै जाने छ’, उनले भने । आगामी वर्षको बजेटमा पर्यटनका कतिपय विषयहरु छुटेको स्वीकार गर्दै मन्त्री तामाङले छुटेका विषयहरुलाई बजेटमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गरे । नाइट एक्स्पोले देश तथा विदेशमा रहेका पर्यटन सम्बद्ध व्यवसायी (होटेल, रिसोर्ट, होमस्टे, ट्राभल/टुर/ट्रेकिङ/माउन्टेनियरिङ एजेन्सी, एयरलाईन्स), सरोकारवाला व्यक्ति तथा निकायलाई एक ठाउँमा ल्याई नेपालको समग्र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यो प्रदर्शनीमा १६ देश, १५० विक्रेता, २५० क्रेता तथा १ हजार भन्दा बढि आगन्तुक सहित मलेशियाको मलेशिया टुरिजम बोर्ड, बिहारको बिहार टुरिजम बोर्ड समेतको सहभागिता रहेको नाइट संस्थापक/संयोजक एवं समिट इभेन्ट्स एन्ड मार्केट्सका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए । नेपालमा पहिलो पटक आयोजना गरिएको नाइट २०२४ नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय बिटुबी र बिटुसी पर्यटन प्रदर्शनी भएको र यसले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सरोकारवालाहरूलाई दुई दिने नेटवर्किङका लागि एकसाथ ल्याउने, नयाँ सहकार्यलाई बढावा दिने र दिगो साझेदारी स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । एस्क्पोमा शुक्रबार र शनिबार पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा समुह छलफल (प्यानल डिस्कसन) हुने छ । जसमा नेपालका पर्यटनका बहुआयामिक विषयहरुमा मन्थन हुने आयोजको धारणा छ । एक्सपोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका सहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम), हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एन्ड रिसोर्ट्स काठमाडौं र रे–जिन–टा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फुड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, टाभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।