व्यवसायीमाथि धरपकड नगर्न श्रममन्त्रीलाई नाट्टाको आग्रह

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीमाथि गरिएको कानुनी धरपकड बन्द गर्न आग्रह गरेको छ । नाट्टाको प्रतिनिधिमण्डलले सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई भेट गरी वैदेशिक रोजगार विभागले हवाई टिकट बिक्रेता ट्राभल एजेन्सीहरू माथि गरेको कानुनी धरपकडका विषयमा ध्यानाकर्षण गराएको हो । जवाफमा श्रममन्त्री अर्यालले यस्तो प्रक्तिका घटना निराकरणका लागी प्रतिबद्धता व्यक्त गरे । उनले वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयमा तत्काल परिपत्र गरी यस्ता प्रकृतिका विषयमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसँगं सोधपुछ, छानविन तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने आश्वासन दिनुभएको नाट्टाका अध्यक्ष कुमारमणि थपलियालले जानकारी दिए । मन्त्री अर्यालले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरुले आधारभूत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिएको पनि थपलियाले जानकारी दिए । अध्यक्ष थपलियाले विभागले हवाई टिकट बिक्रेतामाथि टिकट बिक्री गरेकै भरमा विना कुनै छानबिन, स्पष्ट अध्ययन नगरी व्यवसायीलाई त्रसित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए । भेटका क्रममा नाट्टाको टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रवर्द्धनका लागि सात बुँदे सुझाव पनि पेश गरेको थियो ।

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास (होमस्टे) को संरक्षण, प्रवर्द्धन, घरबासमा पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए । गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ । यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए । पर्यटनलाई आम्दानीको मुख्य स्रोत ठान्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने उनले बताए। उनले भने, ‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्कने कार्यक्रम सञ्चालन गर्ने सोचमा छौँ ।’ गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित बन्दीपुरका छवटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि बन्दीपुर गाउँपालिकामा पर्यटकीय केन्द्र बनाइने अध्यक्ष थापाले उल्लेख गरे। पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका पर्यटकीयस्थलको संरक्षण गर्ने नीति अगाडि सारिएको छ । रासस

हवाई टिकट विक्रेता ट्राभलमाथि कानुनी धरपकड अस्वीकार्य : नाट्टा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेता ट्राभल एजेन्सीमाथि कानुनी धरपकड गरेको भन्दै ध्यानाकर्षण गराएको छ । मन्त्रालयमै बसेको छलफलमा नाट्टाका अध्यक्ष कुमारमाणि थपलियाले वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेतामाथि टिकट बिक्री गरेकै भरमा स्पष्ट अध्ययन नै नगरी कसैले भनेको भरमा व्यवसायीहरूलाई आतंकित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए । श्रममन्त्री अर्यालले जवाफमा यस्तो प्रकृतिका घटनाहरू निराकरणका लागि प्रतिबद्धता जाहेर गर्दै तत्काल वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयहरूमा परिपत्र जारी गरी यस्ता प्रकृतिका विषयहरूमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसगँ सोधपुछ, छानबि तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताए । उनले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरूले समेत आधारभुत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिए । भेटका क्रममा नाट्टा अध्यक्षसहितको कार्यसमिति टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रथा प्रवर्द्धनका लागि ७ बुँदे सुझाव पनि पेस गरेको थियो ।