प्रतिकूल मौसमले उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए । ‘मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन,’ उनले भने, ‘अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको हो । दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निणय नभएसम्मका लागि मूल्यमा कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ । गत साउन ३१ गते प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बैठक बसेको थियो । उक्त बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल गरेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्य योजना बनाएको छ । सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विसं २०८३ भदौसम्म नलिने जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ । गत साउन १८ गते प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यान दिई दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका विकल्प र उपायबारे छलफल गरेका थिए । उनले दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका थिए । निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नु परेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रूपमा लिन प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायु सेवा सञ्चालकहरूले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरे । प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका थिए । यस क्षेत्रमा देखिएका समस्या समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरेका थिए । उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो राखेका थिए । युरोपेली संघ (इयू) ले नेपालको हवाई उडानलाई ‘सेफ्टी’ सूचीमा लगाएको प्रतिबन्ध हटाउन पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गरेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौंबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि उडान गर्ने गरी अनुमति लिएको जनाइएको छ । कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतमबुद्ध विमानस्थलमा पुनः उडान गर्नेगरी क्यानसमक्ष कागजात पेस गरेको विमानस्थलले जनाएको छ । उक्त एयरलाइन्सले सातामा तीन उडान गर्नेगरी अनुमति मागेको छ । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो भने त्यसको छ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । भैरहवामा केही समय अन्तर्राष्ट्रिय उडान भए पनि पोखरा विमानस्थलमा चार्टर उडानबाहेक व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।
कच्ची अवस्थामा नियमित उडान, कालोपत्र भएपछि बन्द
काठमाडौं । खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका हुन् । समिट एयरको नाइन एन-एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उनले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिएका थिए । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन । वि.सं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८-२८ मिटर कालोपत्र गरिएको गरिएको छ । ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पथ्र्याे । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो । ४८ वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् । तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाए । ‘स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ,’ उनले भने, ‘नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।’ लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ । विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताए । ‘लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ, नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ,’ उनले भने । १० स्थानीय तह रहेको खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ । प्राधिकरणको ७ करोड २४ हजार ३८० रुपैयाँ लागतमा लामा बुइल्डर्स/चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको १० करोड ६० लाख ७१ हजार रुपैयाँ लगानीमा कालोपत्र गरेको हो ।