टरिगाउँ विमानस्थलबाट अब मंगलबार पनि उडान हुने

दाङ । दाङको टरिगाउँ विमानस्थलमा अब मंगलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मंगलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख सुनारले बताए ।

ऋणले थिचिएको नेपाल वायुसेवा निगम, ऋण तिर्न फेरि ऋण लिँदै

काठमाडौं । पुरानो ऋण तिर्न नसकेको र ऋणमा थिचिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले फेरि ऋण लिने भएको छ । निगमले एक सूचना जारी गर्दै ऋण तिर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने जनाएको छ । वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज किन्दा लिएको ५५ अर्ब रुपैयाँ ऋण अहिलेसम्म तिर्न सकेको छैन । वाइडबडी र न्यारोबडी जहाज खरिद गर्न सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ गरी कुल ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो । तर, समयमै किस्ता बुझाउन नसकेपछि दायित्व बढेर ५५ अर्ब रुपैयाँ पुगेको हो । निगमले उक्त ऋण तिर्न, नयाँ जहाज खरिद र जहाज मर्मत गर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋणको खोजीमा दौडधूप गरिरहेको छ । न्यून ब्याजदरमा स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थाबाट निगमले ऋण लिन खोजेको हो । यसअघि कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट महँगो ब्याजदरमा ऋण लिएको थियो । उक्त ऋण चुक्ता गर्ने र बाँकी रकम जहाज खरिद र मर्मतमा खर्च गर्ने योजना रहेको निगमले जनाएको छ । निगमले यसअघि नै उक्त ऋणको खोजी गरेको थियो । तर, एउटा कम्पनीको मात्रै आवेदन परेको र सो कम्पनीले ऋण दिने टुंगो नभएपछि पुनः आवेदन आह्वान गरिएको निगमको भनाइ छ । निगमलाई ऋण दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले ४५ दिनभित्र पेस गर्नुपर्नेछ ।

सञ्चालनमा आयो ‘सिद्धार्थ होटल’, दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न भएको दावी

दमौली । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । ‘दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको छ, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्,’ उनले भने, ‘म लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु ।’ उनले दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दिपुर, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो । एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए । ‘प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुईवटा सिनेमा हाल सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘होटल निर्माणपछि यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलगायत लाभान्वित हुने अपेक्षा गरेको छु ।’ उनले दमौली भइ पोखरा, काठमाडौं र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको बताए । होटलमा डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा छन् । साथै करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन् । होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ । पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेन चोकमा रहेको होटल काठमाडौंबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ । पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कूल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ। ‘पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरु महर्षी वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पूजिने छाब्दिबाराही र दमौलीको शीरमा अवस्थित तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवा जस्ता ऐतिहासिक र पुरातात्विक महत्त्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ । उनीहरुका लागि लक्षित गरी होटल निर्माण गरिएको हो,’ अध्यक्ष तिमल्सिनाले भने । उनले नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको बताए । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले होटल सञ्चालनले यहाँको पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुलुकको पर्यटन क्षेत्रको विकास विना आर्थिक समृद्धि हासिल नहुने उल्लेख गर्दै उनले विकासको पहिलो सर्त पर्यटन क्षेत्र भएको बताए । ‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४.४ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउन सकिन्छ, यसका लागि होटललगायतका पूर्वाधारमा लगानी बढाउनु जरुरी छ,’ सीइओ न्यौपानेले भने, ‘पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने हो ।’ उनले हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका आउटलेटमा नेपालमै उत्पादित कफी खपत भइरहेको जानकारी दिए । ‘हाम्रो नेटवर्कभित्रका होटल, रेष्टुरेन्ट तथा क्याफेमा प्रयोग हुने कफी सिद्धार्थ ग्रुपअन्तर्गतको कृषि कम्पनी बायोटिका र नेपाली किसानले उत्पादन गरेको हो, आगामी दिनमा होटलमा स्वदेशमा उत्पादित खाद्यान्न हुनेमा हाम्रो जोड रहनेछ,’ उनले भने । एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरूले नयाँ व्यवसाय सुरुआत गरेको र सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भवन निर्माण सुरु गरेको लामो समयपछि सुविधासम्पन्न होटल तथा क्यूएफएक्स ब्राण्डमा दुई वटा सिनेमा हल सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यसअवसरमा तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले होटलको सेवा ग्राहकमुखी हुनुपर्ने बताए । उनले दमौलीमा अहिलेसम्मकै ठूलो लगानीमा होटल सञ्चालन आएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा गलेश्वर धामका पीठाधीश स्वामी आत्मानन्द गिरीले होटलको व्यावसायिक सफलताको शुभकामना दिँदै मेहनतका साथै आत्धात्मिक चिन्तन र ध्यानले मात्रै सफलता प्राप्त हुने भएकाले मेहनतसँगै अध्यात्ममा केन्द्रित हुन सुझाव दिए । व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले दमौलीमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको सञ्चालनमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाए । होटल संघ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गाविलास भट्टराईले यस होटल सञ्चालनले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ दमौलीका अध्यक्ष बैकण्ठनाथ मिश्रले दमौलीमा आवश्यकताअनुसारको स्तरीय होटल सञ्चालनमा आएको उल्लेख गर्दै यसको व्यावसायिक सफलताका लागि आफूहरूले साथ र सहयोग रहने उल्लेख गरे ।