४० भन्दा बढी मुलुकमा सेवा दिइरहेको साउदर्न एयरलाइन्सले भैरहवा र पोखरामा उडान भर्न देखायो चासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान भर्ने विषयमा छलफल भएको छ । चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले आज मन्त्री पाण्डेसमक्ष सिंहदरबारमा भेट गरी पोखरा र भैरहवामा उडान भर्न आफूहरु उत्साहित रहेको बताएको पर्यटन मन्त्रालयले जनाएको छ । ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको प्रमुख एयरलाइन्समध्येको चाइना साउदर्न एयरलाइन्सले नेपालमा समेत आफ्नो सेवा सञ्चालन गरिरहेको छ । चीनको ग्वाङजाओबाट हाल काठमाडौंमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि मन्त्री पाण्डेले नीतिगत रूपमा गरेको सुधारको प्रशंसा गरेको थियो । चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान् गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्नेमा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्नेछ ।’ मन्त्री पाण्डेले चाइना साउदर्नको नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले चाइना साउथ एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिनेसमेत प्रस्ट पारे । साथै मन्त्री पाण्डेले हवाई उडानका क्रममा नेपाली पक्षबाट केही कमजोरी भएको भए पनि सो बारेमा आफूलाई जानकारी गराउन अनुरोध गरेका थिए । त्यसैगरी, द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नेसमेत बताएका छन् ।
हिमाल चढ्न १३२ जनाले लिए अनुमति, उठ्यो डेढ करोड रोयल्टी
काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागका अनुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका १२० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् । मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको २ दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका ७ र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका ५ जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । यस सिजनका लागि हिमाल आरोहणबापत १ करोड ३० लाख ९६ हजार २६४ रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।
विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशत बढ्यो, ७ महिनामा भित्रिए ७ लाख बढी
काठमाडौं । सन् २०२४ को ८ महिनामा ७ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म ७ लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन ८.०३ प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् । गत वर्ष कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला दिनमा विदेशी पर्यटक आवागमनमा वृद्धि भइरहेको बताए । छिमेकी मुलुक भारत र चीनलक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएकाले आगामी दिनमा छिमेकीसहित अन्य मुलुकबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक आउने उनले विश्वास व्यक्त गरे । बोर्डको आँकडाअनुसार अगस्तमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को अगस्तमा ४१ हजार ३०४, सन् २०२१ को सोही अवधिमा ६ हजार ९३ र सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना विदेशी पर्यटक नेपाल आएका थिए । कुन महिनामा कति पर्यटक मार्च महिनामा सबैभन्दा बढी १ लाख ११ हजार ३७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६, जनवरीमा ७९ हजार १ सय, फेब्रअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्तमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । के छ पर्यटक बढाउने सरकारी योजना ? कोरोना महामारीपछि विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटन रणनीति योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । पर्यटकीय गन्तव्यको विकास, विस्तार तथा पहिचान, पदमार्ग निर्माण, पर्यटकीय उपजका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम निरन्तर हुँदै आएको मन्त्रालयले जनाएको छ । पर्यटन बोर्डबाट एक सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन विभागले पूर्वाधार निर्माणसमेत गरिरहेको छ ।