होटलको व्यवसायमा उछाल, नाफा दोब्बर बढ्यो
काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे १८ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत वर्ष खुद नाफा औसत १८.६७ प्रतिशत बढेर १ अर्ब ४९ करोड १७ लाख रपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा होटलहरूले १ अर्ब २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेका थिए । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटलले नोक्सानी बेहोरेको छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ । चन्द्रागिरी हिल्सको नाफा शतप्रतिशत बढेको छ । यस्तै गत वर्ष यी होटल कम्पनीहरूको कुल आम्दानी १७.४० प्रतिशत बढेर ६ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब ९५ करोड ७ लाख रुपैयाँ कुल आम्दानी गरेका थिए । चन्द्रागिरी हिल्स चन्द्रागिरी हिल्सको गत वर्ष खुद नाफा ९९.३९ प्रतिशत बढेर २२ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । जबकी अघिल्लो वर्ष यस कम्पनीको खुद नाफा ११ करोड २० लाख रुपैयाँ मात्रै थियो । बाह्य तथा आन्तरिक पर्यटकहरूको आवागमनमा उल्लेख्य सुधार भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार गत वर्ष पर्यटकहरू ६.८८ प्रतिशत बढेर ७ लाख ६८ हजार २७० आवगमन भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा करिब ७ लाख १८ हजार ८४४ पर्यटकहरूको आवागमन भएको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालन आम्दानी ९.४९ प्रतिशत बढेर १ अर्ब १ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९१ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानी ८.८० प्रतिशत बढेर ८७ करोड ३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष २३ करोड ७८ लाख रुपैयाँ कुल खर्च गरेको यस कम्पनीले गत वर्ष २९.३७ प्रतिशत बढेर ३० करोड ७७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १० करोड ७७ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको यस कम्पनीले गत वर्ष ११ करोड ६६ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोष ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ७.२६ रुपैयाँ बढेर १४.५६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.३६ गुणा रहेको छ । कालिञ्चोक दर्शन कालिञ्चोक दर्शनको खुद नाफा ७.७५ प्रतिशत बढेर २ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्ममा कम्पनीको आम्दानी २३.२२ प्रतिशत बढेर ८ करोड ५४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेर ८ करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेर ४ करोड २५ लाख रुपैयाँ र वित्तीय खर्च २१.७३ प्रतिशत बढेर १ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५९ करोड ६३ लाख रुपैयाँ र जगेडा कोष ३२.७४ प्रतिशत बढेर ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर ४.४७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १००.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २५८.३८ गुणा छ । ओरियण्टल होटल ओरियण्टल होटलको खुद नाफा २३.९२ प्रतिशत घटेर १२ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ६.३४ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको कुल आम्दानी ०.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड ६२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ८९ करोड ७७ लाख रुपैयाँ कुल खर्च रहेको यस होटलको गत वर्ष ८.१४ प्रतिशत बढेर ९७ करोड ८ लाख रुपैयाँ गरेको छ । कम्पनीको सञ्चालन मुनाफा २१.६७ प्रतिशत घटेर २४ करोड ५४ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ । नाफासँगै होटलको प्रतिसेयर आम्दानी ३.४२ रुपैयाँ घटेर १०.८४ रुपैयाँमा झरेको छ । होटलको प्रतिसेयर नेटवर्थ ३४३.४२ रुपैयाँ रहेको छ । तारागाउँ रिजेन्सी तारागाउँ रिजेन्सीको गत वर्ष नाफा २८.१७ प्रतिशत बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म कम्पनीको कुल आम्दानी १ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५७ करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३४ करोड १० लाख रुपैयाँबाट बढेर १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सुधारोन्मुख राजनीतिक तथा पर्यटकीय आगमन वृद्धिका साथै पर्यटक क्षेत्रमा पनि तारे होटलहरूको संख्यामा भएको वृद्धिले व्यवसायिक प्रतिस्पर्धा सिर्जना भएको देखिन्छ । तर, यस होटलले व्यवसायिक प्रतिस्पर्धामा अब्बल बनाएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोष ९१ करोड ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१.४३ रुपैयाँबाट बढेर २६.४१ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४६.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.५५ गुणा रहेको छ । सिटि होटल अघिल्लो आर्थिक वर्ष २७ करोड २२ लाख रुपैयाँ नोक्सानी बेहोरेको सिटि होटलले गत वर्ष घटाएर २० करोड ४७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । गत वर्ष होटलको सञ्चालन आम्दानी ६.५७ प्रतिशत बढेर ५० करोड ४२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको कुल आम्दानी १४.२५ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ७० लाख रुपैयाँ कुल खर्च गरेको यस होटलको गत वर्ष २.८१ प्रतिशत बढेर ३७ करोड ७४ लाख रुपैयाँ गरेको छ । यसअवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँ छ भने अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.२३ रुपैयाँ २३ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४५६ रुपैयाँ रहेको छ । सोल्टी होटल सोल्टी होटलको गत वर्ष खुद नाफा ८.३० प्रतिशत बढेर ६० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष २ अर्ब २५ करोड ४६ लाख रुपैयाँ कुल आम्दानी गरेको यस होटलले गत वर्ष २ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ गरेको छ । होटलले गत वर्ष १ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । अघिल्लो वर्ष ८६ लाख ६० हजार रुपैयाँ वित्तीय लागत रहेको यस होटलको गत वर्ष घटेर ३४ करोड १४ लाख रुपैयाँमा सीमित गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग तथा जगेडा १ अर्ब २२ करोड १६ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँबाट बढेर ६.४७ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २५.४३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६८.३१ गुणा छ ।
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
म्याग्दी । समथर फाँट र भिरालो पाखामा फुलेका रंगीबिरंगी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुंगी र जनावरहरूको आवाज । यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ । ढोरपाटन पर्यटन प्रवर्द्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताए । ‘असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,’ उनले भने, ‘केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।’ सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरू आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौंका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताए । ‘शान्त वातावरणमा रंगीबिरंगी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,’ समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भने, ‘थरीथरीका फूलले रंगिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।’ ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,’ उनले भने, ‘यहाँ पाइने फूलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।’ संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन् । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ । संकलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पँगेनीले बताए । आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायतले बताए । ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ । ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा ४ करोड ७१ लाख २ हजार ६ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए । रासस
तेस्रो मुलुकका लागि पूर्वीनाका खुला गरेसँगै पर्यटक आवागमन बढ्याे
झापा । पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २ सय २५ पर्यटकको आवागमन भएको छ । सोही अवधिमा १ सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् । कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए । उनले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताए । ‘धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्,’ उनले भने, ‘आन्दोलनका कारण उहाँहरूलाई नेपाल प्रवेशमा नाकामा कडाइ गरिएको छ, त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।’ कोरोना महामारी समाप्तिपछि मुलुकका अरू सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो । यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बंगलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको उनले बताए ।