पर्यटन बोर्डलाई एटीएम मेसिन जस्तै बनाइयो

काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकादेखि नै विभिन्न संकटको सामना गर्दै आएको छ । त्यति हुँदाहुँदै पनि बोर्ड बजारीकरण र प्रमोशनमा अघि बढिरहेकै छ । बोर्डले सीमित ठाउँमा पर्यटकीय गतिविधिलाई विस्तार गर्दै आएको छ । हाम्रो उद्देश्य पनि पहिले विदेशी पर्यटक त्यसपछि मात्रै आन्तरिक पर्यटकलाई जोड दिने रहेको छ । त्यसतर्फ हामी लागिपरेका छौं । नेपालमा आन्तरिक पर्यटक इतिहास धेरै पुरानो छैन । पछिल्ला १०/१२ वर्षपछि मात्रै नेपालमा आन्तरिक पर्यटकको संख्या बढेको देखिन्छ । पछिल्ला दिनहरूमा स्थिर अवधारणा निकै महत्त्वपूर्ण भएर गएको छ । यसमा पनि हामीले विभिन्न निकायसँग सहकार्य गर्दै अघि बढेका छौं । पर्यटन क्षेत्रको कुरा गर्दा विशेषगरी होटलहरूको क्यापसिटी बढेको छ । अहिले होटलहरूले करिब ४० लाख पर्यटकलाई धान्न सक्ने अवस्था भइसकेको छ । तथापि सन् २०२४ मा १० लाख ५० हजारको हाराहारीमा पर्यटन भित्र्याउन सफल भयौं । सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्रिएका थिए । २०२४ मा ग्लोबल रिकोभरी ९७ प्रतिशत भएको छ । कतिपय मुलुकहरू २०२२/२३ मा भइसके पनि हाम्रोमा भर्खर रिकभर हुँदैछ । हामीले एक/दुई वर्षअघि विभिन्न कारणले मार्केटको प्रमोशन आक्रामक रूपमा गर्न सकेनौं । यदि गर्न सकेको भए यत्तिबेलासम्म रिकभर भइसकेका हुन्थ्यौं । भूकम्पछि पुन:निर्माण, त्यसपछि कोभिडको कारण यो क्षेत्रले एक किमिसले विश्राम लिनुपर्ने अवस्था आयो । विश्रामपछि पुनः सुरु भएको यो क्षेत्रले विस्तारै लय समातेको अवस्थामा सोचेजस्तो लक्ष्य हासिल गर्न सकेन । चुनौती नेपाल पर्यटन बोर्ड आफैमा सार्वजनिक र निजी साझेदारीमा चलेको संस्था हो । काम गर्न सहज हुन्छ भनेर बोर्डको प्राथमिकता सरकारी निकायमा बढी देखिन्छ । तर आउँदा दिनमा निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्न चाहन्छौं । बोर्ड र बोर्डले गर्ने गतिविधिका बारेमा बाहिर वास्तविकताभन्दा फरक ढंगले आइरहेको देख्छु । नेपालमा पर्यटनको क्षेत्रमा बोर्डले मात्रै गर्नुपर्छ, बोर्डको मात्रै जिम्मेवारी हो भन्ने जुन भाष्य निर्माण हुन खोजिरहेको छ, त्यसमा परिवर्तन ल्याउनु जरुरी छ । पर्यटन क्षेत्रको उत्थानको लागि हामी सबैको उत्तिकै दायित्व र जिम्मेवारी छ । बोर्डले मुलतः नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, पर्यटन क्षेत्रमा निजी क्षेत्रले जसरी ठूलो लगानी गर्नुभएको छ, उहाँहरूको लागि सहयोगी भूमिका खेल्दिने हो । उहाँहरूको विषयहरूलाई सहजीकरण गरिदिने हो । नेपाल पर्यटन बोर्ड एटीएम कार्डजस्तो भएको छ । प्रपोजल हाल्ने अनि पैसा आइहाल्छ भन्ने धेरैको सोच भएको देख्छु । भन्नैपर्दा यहाँ हरेक दिन ७०/८० देखि सय वटासम्म प्रपोजलहरू आइरहेको हुन्छ । जुन हामीले गर्न सक्ने अवस्थामा छैन । कहिलेकाहीं गर्न सकेनौंभन्दा दु:ख नमान्दिनुहोला । यो सार्वजनिक संस्था हो । बोर्डले धेरै क्षेत्रमा जिम्मेवारी बहन गर्नुपर्ने छ । धेरै सेक्टरमा बजेट बाँडफाँट गर्नुपर्ने हुन्छ । धेरैले पर्यटन बोर्डका कर्मचारी विदेशमात्रै घुम्छन्, विदेशको मात्रै चासो हुन्छ भन्ने गरेको पाउँछु । विदेश कर्मचारीको चाहनाभन्दा पनि काम गर्न गएको हो । काम नै त्यही तोकेको छ । अझ कतिले त यो बोर्ड आवश्यक नै छैन बन्द गर्दिनुस् भन्नेसम्म सुनेको छु, हामीलाई के लाग्छ भने यी सबै कुराभन्दा बोर्डलाई बलियो बनाउन सबैको साथको खाँचो छ । सबैले यसमा योगदान गर्नुपर्छ । कहिलेकाहीं बोर्डले प्याकेज बनाएन भन्ने आउँछ । बोर्डले प्याकेज बनाउनेभन्दा निजी क्षेत्रले बनाएका प्याकेजलाई प्रवर्द्धन गर्ने हो । अर्को पछिल्लो समय स्थानीय तह, प्रदेश जताततै पर्यटक आओस् भन्ने खालको अपेक्षा बढेर गएको पाइन्छ । नेपालमा मुस्किलले १२ लाख पर्यटक भित्रिन्छन् । त्यो पनि सबै ठाउँमा पुग्ने सम्भावना छैन । पर्यटन व्यावसायिक सेक्टर भएकाे हुनाले जहाँ सम्भावना छ त्यहाँमात्रै जोड दिनुपर्छ भन्ने लाग्छ । पर्यटकलाई घरघर लानेभन्दा पनि पर्यटकबाट आएका आम्दानीलाई घरघरसम्म पुर्‍याउने हो । थुप्रै देशमा हेर्ने हो भने निश्चित क्षेत्रमा मात्रै पर्यटकीय गतिविधि हुन्छ । त्यस्तै, थुप्रै ठाउँमा भ्रमण वर्ष घोषणा गर्ने त्यसपछि पर्यटनमा कायापलट हुन्छ भन्ने बुझाइ छ । घोषणा आवश्यक छ त्यसले सबै क्षेत्रलाई चलायमान पनि बनाउँछ । त्यसभन्दा बढी हाम्रो ध्यान पर्यटन भित्र्याउनका लागि चाहिने आवश्यक तयारी अझ गर्नुपर्छ । आगामी कार्यदिशा विगतमा भएका विभिन्न गतिविधिबाट हामीले धेरै पाठ सिकेका छौं । विगतका वर्षहरूमा ‘ट्राभल ट्रेड फेयर’ मा हाम्रो सहभागिता धेरै हुन्थ्यो । जुन धेरै खर्चिलो हुने तर खासै उपलब्धि नहुने महसुस गरेका छौं । आगामी दिनमा त्यसमा हुने सहभागी घटाएका छौं । हामी जहाँ गएपनि पर्यटन क्षेत्रको विकास हुने गरी नै अघि बढ्ने नीतिलाई सारेका छौं । पछिल्लो समय प्रविधिको द्रुत विकास भएसँगै बोर्डका कामकारबाही एउटै डिजिटल प्लेटफर्मबाट गर्ने भन्ने सोच बनाएका छौं । विश्व यति गतिशील ढंगले अघि बढिरहेको छ, त्यसअनुसार भविष्यका लागि हामी तयार भएनौं भने पर्यटन क्षेत्रबाट सोचेजस्तो उपलब्धि लिन हामी असक्षम हुनेछौं । त्यसलाई ध्यान दिएर भविष्यमा थप पर्यटन भित्र्याउनका लागि हामीले विभिन्न कार्यक्रमहरू अघि सारेका छौं । हामीले दिर्घकालीनमा नतिजा आउने खालका कार्यक्रमहरू ल्याउने तयारी गरेका छौं । अबको तीन महिनाभित्रै काठमाडौं, पोखरा, चितवन र लुबिनीजस्ता ठाउँमा गएर कार्यक्रम गर्दैछौं । त्यसैगरी, हामीले एक/डेढ वर्षदेखि रोकिएका अन्तर्राष्ट्रिय मार्केटिङ प्रमोसनलाई अघि बढाउनेछौं । जनशक्ति विकासमा पनि हामीले विभिन्न पर्यटन व्यवसायी, एशोसिएसनहरूसँग समन्वय गरेर काम गर्नुपर्ने भएको छ । अहिले दैनिक चार/पाँच हजार जनशक्ति बाहिरिरहेको अवस्था छ । रोजगारको सिलसिलामा खाडी मुलुकदेखि विभिन्न देशमा जाने युवाको संख्या बढ्दो संख्यामा छ । यसले पर्यटन क्षेत्रले मात्रै नभएर दिर्घकालीन रूपमा देशले समेत ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । पूर्वाधारमा सुधार भएसँगै त्यो हिसाबले पर्यटक नेपाल भित्रनेछन् । तर पर्यटकलाई सेवा दिने दक्ष जनशक्ति कम हुँदै गएको छ । यसतर्फ सबैले सोच्नुपर्ने बेला भएको छ । निजी क्षेत्र र सरकारी दुबैमा डिजिटल इन्टरभेसनको आकर्षण बढ्दो छ । तर आज पनि धेरै चिज म्यानुअलमै गइरहेका छौं । तर हामीले बढ्दो ट्रेनलाई ग्रहण गर्नुपर्छ । सबै नेता, कर्मचारी भ्रष्ट हुन् भन्ने जुन नकारात्मकता बढेकाो छ कि त्यस्ता कुरालाई जति सक्दो छिटो बदल्न सकेनौं भने त्यसले हामीलाई अगाडि बढ्न दिँदैन । यहाँ धेरै राम्रा मान्छेहरू सक्रिय रूपमा लागिरहनुभएको छ । त्यसरी लाग्नेहरूलाई उत्साह प्रदान गरिदिनुहोला । हिजोका दिनमा निराशा हुनैपर्ने केही देख्दिनँ, अबको २ देखि पाँच वर्षको अवधिमा पर्यटन क्षेत्रले राम्रो फड्को मार्छ । (जोशी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् )

सन् २०२४ मा भित्रिए साढे ११ लाख पर्यटक, ९३ प्रतिशत पर्यटन पुनरुत्थान

काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए । विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड-१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ । कोरोनाले तीन वर्ष विदेशी पर्यटक आगमन खुम्चियो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो । उल्लेखित आँकडाले एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रुपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका ८ सयभन्दा बढी चार्टड उडान, अन्तर्राष्ट्रिय बेलुन फेष्टिबल चिनियाँ ड्रागन फेस्टिबलका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेको छ । विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवद्र्धनलाइ प्राथमिकतामा राखेको बोर्डले उल्लेख गरेको छ । कुन महिनामा कति पर्यटक ? मार्च महिनामा सबैभन्दा बढी १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अक्टोबरमा १ लाख २४ हजार ३९३, अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा १ लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए ।

होटलमा साढे ५ खर्ब लगानी, १० अर्ब बढी विदेशी

काठमाडौं । नेपालको होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ रहेको छ । तथ्याङ्ककअनुसार होटल उद्योगमा साढे १० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा १ लाख ४२ हजार २२३ होटल/रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटल, रिसोर्ट र गैरतारे होटलमात्र समेटिएको थियो । डा रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्राबास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत सङ्कलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो । देशभरका डेढ लाख होटलमध्ये १ हजार १२१ होटलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये १ हजार ७३ होटलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्‍याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्णगणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तथ्याङ्कअनुसार १० करोड रुपैयाँभन्दा बढी स्थायी सम्पत्ति भएका होटल/रेस्टुरेन्ट सङ्ख्या ४९३ छन् । तीमध्ये बागमतीमा २१४ छन् । १ करोडदेखि १० करोड रुपैयाँ सम्म सम्पत्ति भएका होटल ८ हजार ७३२ छन् । २ लाखभन्दा कम लगानीमा खुलेका होटल/रेस्टुरेन्ट ६७ हजार ५२१ छन् । तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटल/रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७१६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ । नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३२७ होटल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल/रेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या १ लाख ५ हजार ४५९ रहेको छ ।