सातै प्रदेशमा नेपाल एयरलाइन्सको जहाज, निजी क्षेत्रको सहभागिता कति आवश्यक ?
नेपालको जुन भौगोलिक अवस्थिति छ, यसले नेपालको आकाश नगारिक उड्ययनको क्षेत्र र यसको दायरा कहिल्यै घट्ने छैन । यसको दायरा अनन्तकालसम्म रहनेछ । किनभने हामीले सडक यातायातलाई जतिसुकै राम्रो, मजबुत, सृदृढ र चुस्त बनाए पनि हाम्रो भौगोलिक अवस्थितिका कारणले उडाउने जहाज, हेलिकप्टरलगायतका हवाई सेवाहरूको औचित्य कहिल्यै कमजोर हुने छैन । त्यसको औचित्य निरन्तर बढ्दो क्रममै रहने छ । टीकापुरबाट कमलबजार जानको लागि गाडीको यात्रा तय गर्ने हो भने कम्तीमा १२ घण्टा लाग्छ । तर प्लेनको यात्रा तय गर्ने हो भने त्यहाँसम्मको यात्रा मुस्किलले १८ मिनेटमा पूरा गर्न सक्छौं । यसले जहाजको महत्त्व कति छ भन्ने दर्शाउँछ । हाम्रो देश भौगोलिक विविधताले भरिपूर्ण देश हो । यहाँ देखाउन र हेर्नलायक धेरै कुरा छन् । नेपालमा सांस्कृतिक दृष्टिकोणले होस् या कुनै पनि दृष्टिकोणले आउने मान्छे जहाँ पनि जान सक्छन् । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, मालिकाअर्जुन बढीमालिका, पाथिभरा या चथाराधाम जान सक्छन् । त्यो पर्यटकले मसँग सात दिनमात्रै समय छ भनिरहँदा सडकको माध्यमबाट यात्रा तय गर्न सम्भव हुँदैन । त्यसको एउटा मात्रै विकल्प हवाई यातायात नै हो । नेपाल घुम्न आउने पर्यटकले ७० मिटर समुन्द्र सतहदेखि सगरमाथाको उचाइसम्म पुग्न चाहन्छ, सिंगो नेपाल घुम्न चाहन्छ भने त्यसको विकल्प पनि यही हवाई माध्यम नै हो । उसले छोटो समयमा घुम्न सक्ने माध्यम यसैलाई ठान्नेछ । यसले यसको दायरा कहिल्यै घट्ने छैन । हामीले हवाई क्षेत्रमा जुन नीति लिएर अघि बढेका छौं, त्यो नीतिका माध्यमबाट पनि नेपालको हवाई क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा केवल सरकार मात्रै नभएर अन्य निकायहरू पनि विशेषगरी निजी क्षेत्रलाई अगाडि सार्ने कुरा छ । यस कुराले नेपालको आकाश सुरक्षित छ र नेपालको आकाश चलायमान छ भन्ने कुरा हामीले आगामी दिनमा देखाउनुपर्ने छ । हाम्रो मन्त्रालयले विविधातापूर्ण संस्कृतिको प्रचार गर्नुपर्ने छ । विविधतापूर्ण संस्कृतितिर मानिसहरूको ध्यानाकर्षण गर्नुपर्नेछ । देशभित्र र देशबाहिरका मानिसहरूलाई विविधतापूर्ण प्रकृतिजन्य प्रकृतिप्रति ध्यानाकर्षण गर्नुपर्ने छ । त्यसलाई चलायमन बनाउन, सहज बनाउन, थोरै दिनमा धेरै ठाउँ पुग्ने वातावारण बनाउनको लागि नागरिक उड्यनको क्षेत्रलाई हामीले माथि पुर्याउनु छ । यसलाई विकसित र विस्तारित बनाउनुपर्ने छ । हामीसँग थुप्रै जटिलता छन् । हामीमाथि सुरक्षा सूचीदेखि लिएर निजी क्षेत्रले भोग्नुपरेका समस्या छन् । ती समस्यालाई कसरी सहज बनाउने, सरकारले कुन नीति र ऐन बनाउँदा हाम्रो आकाशलाई सुरक्षित र चलायमन बनाउन सक्छौं भन्ने दिशामा हामीले तत्परतासाथ अघि बढ्नुपर्ने छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिंहको नेतृत्वमा नागरिक उड्ययनको क्षेत्रमा अध्ययन गर्नको लागि उच्चस्तरीय समिति बनेको छ । उच्चस्तरीय अध्ययन समितिले तपाईंहरूसँग पनि सरोकार र छलफल गर्छ । यो क्षेत्रको अनुभव बोकेका उच्चपदस्थ कर्मचारी र अन्य साथीहरू जो निरन्तर अप्रेसनका काममा लागिरहनुभएको छ, उहाँहरूसँग पनि सल्लाह गर्नुहुन्छ । त्यो समितिले दिने अध्ययनका आधारमा हामीले आवश्यक नीति र ऐन ल्याउने विषयमा अगाडि बढ्नेछौं । त्यसैगरी, नागरिक उड्ययन प्राधिकरणलाई नियमन निकाय र सेवाप्रदायक निकाय बनाउने भन्ने दुइटा ऐन आएको छ । त्यो भर्खरै मन्त्रिपरिषदले पास गरेको छ । त्यो ऐनको सन्दर्भमा यहाँहरू जानकार हुनुहुन्छ । यो लामो छलफलपछि राष्ट्रिय सभाबाट पारित भयो । पारित भएपनि लामो समय प्रतिनिधिसभामा रोकिएको अवस्था थियो । त्यो रोकिएको ऐनलाई हामीले मन्त्रिपरिषदमा पुर्याएका छाैं । हाल यस ऐनलाई मन्त्रिपरिषदले पास गरेको छ । मन्त्रिपरिषदले पास गर्दैमा यो ऐन टुङ्गिएको छैन । यो ऐन निर्माण प्रक्रियाको एउटा औपचारिक प्रारम्भ मात्रै भएको छ । यो ऐन संसदमा प्रस्तुत हुन्छ । संसदमा प्रस्तुत भएपछि यसबाट सैद्धान्तिक छलफल हुन्छ । सैद्धान्तकि छलफल भएको ७२ घण्टासम्म शंसोधनका प्रस्तावहरू दर्ता हुन्छ । संशोधनका दर्ताहरू गर्ने सन्दर्भमा प्रतिनिधि सभाका सांसद्हरूले संशोधनका प्रस्तावहरू राख्नुहुन्छ । त्यसपछि मात्रै दफावार छलफलका लागि समितिमा जान्छ । समितिले सरोकारवालासँग थप छलफल गर्छ । तपाईंहरूसँग पनि केही कुरा चित्त बुझिरहेको छैन भने संशोधनका माध्यमबाट सांसदहरूलाई प्रस्तुत गर्न सक्नुहुन्छ । यी सबै प्रक्रिया पूरा भएपछि मात्रै ऐन निर्माण अघि बढ्छ । त्यसैले तपाईहरूले कुनै असुरक्षित र शंका मान्नुपर्ने अवस्था छैन । तपाईंहरूको सरोकारलाई वेवास्ता गरेर ऐन बन्ने छैन भन्ने कुरा म प्रतिबद्धता दिलाउन चाहन्छु । कर्मचारीको कुनै पनि सेवासुविधा घट्नेगरी ऐन बन्ने छैन । यो संस्थाको गरिमालाई उच्च गराउने र संस्थाको विश्वसनीय बनाउने ढंगले नै ऐनलाई अन्तिम रूप दिनेछौं । ऐन बनाउने भनेको सबै मिलेर बनाउने हो । ऐन कुनै व्यक्ति, पार्टी, मन्त्रीले या राष्ट्रिय, प्रतिनिधि सभाले मात्रै बनाउने होइन । प्रतिनिधि सभा र राष्टिय सभा भनेको हाम्रै प्रतिनिधि हुन् । हाम्रा भावनाअनुसार नै ऐन बन्छ । त्यो ऐनले प्राधिकरणको गरिमा कसरी माथि पुर्याउन सक्छ ? त्यो ऐनले नेपालको आकाशलाई सुरक्षित छ भनेर दुनियाँलाई कसरी देखाउन सकिन्छ ? तपाईंहरूको सेवासुविधालाई कसरी बढोत्तरी गर्न सकिन्छ ? आत्मनिर्भर भएर व्यावसायिक भएर यो क्षेत्रमा सबल बनाउन सकिन्छ भन्ने दिशामा रहेर नै ऐन निर्माण हुन्छ भन्ने वचनप्रतिबद्धता प्रकट गर्न चाहन्छौं । हामीले प्राधिकरणको २६ औं वार्षिकोत्सव मनाइरहेको अवस्था छ । यो मनाइरहँदा हामीले विभिन्न खालका चुनौती र प्रश्नहरूलाई चिरफार गर्नुपर्ने हुन्छ । कतिपय प्रश्नहरू पूर्वाग्रहपूर्ण ढंगले आएका हुन्छन् । कतिपय प्रश्नहरू मिथ्या आरोपको आधारमा आएका हुन्छन् । कतिपय जेनुन पनि हुन्छन् । जेनुन प्रश्नलाई हामीले एक/एक गरेर हल गर्न सक्नुपर्छ । जेनुन, तथ्य र तथ्यांकमा आधारित प्रश्नलाई हामीले वेवास्ता गरेर अगाडि बढ्न मिल्दैन । किनकि हामी भनेका जनताका प्रतिनिधि हौं । नागरिकप्रतिको जवाफदेहितालाई हामीले वेवास्ता गर्न मिल्दैन । देशको अवस्था, नागरिकको अवस्था के छ ? देशबासी नागिरकले प्रधानमन्त्री, मन्त्री, सांसदहरूलाई के भन्दैछन् ? ती प्रश्नमा तथ्य छ, तर्क छ भने हामी भागेर हुँदैन । ती प्रश्नहरूको अगाडि उभिएर आमनेसामने भएर नै जवाफ दिन सक्नुपर्छ । कर्मचारीले जवाफ दिन सक्नुपर्छ । प्रधानमन्त्री मन्त्रीदेखि प्राविधिक, अप्राविधिक सबैले जफाव दिन सक्नुपर्छ। किनभने देश जुन ढंगले अघि बढ्नुपर्ने हो त्यसरी अघि बढ्न सकेन भनेर धेरैजनाको गुनासो छ । ती गुनासोहरूलाई सम्बोधन गर्दै जाने त्यसलाई ठीक गर्ने काम पनि हाम्रै हो । किनकि सामान्य नागरिकभन्दा केही माथि उठेको कारणले हामी कर्मचारी भएका छौं । सामान्य नागरिकभन्दा हामी थप जिम्वेवार छौं । हामी जिम्बेवार भएका कारणले नै हामी राजनीतिकर्मी जनप्रतिनिधि भएका हौं । हामीले देशका विभिन्न राज्यका काम र निकायमा जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा छ । त्यो दिशामा हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने लाग्छ । प्राधिकरणका साथीहरूसँग पाँच/छ महिना संगतबाट यहाँहरू व्यावसायिक हुनुहुन्छ भन्ने अनुभव गरेको छु । यहाँहरूले विभिन्न तालिम, विज्ञता, व्यावसायिक क्षमता विकास गर्नुभएको छ । त्यसैले यो संस्था एक प्रकारले कमाण्डमा चलेको छ । यो संस्थाले निश्चित दिशा निर्देशका साथ कुनै अन्यौलता, अस्तव्यस्त नभइकन सही बाटो समाएर अघि बढेको छ । यो संस्थालाई थप सृदृढ बनाउनको लागि तपाईंहरूको दक्षता, योग्यता, आफ्ना कामप्रतिको पूर्ण समर्पणता र कर्तव्यनिष्ठता जरुरी छ । यो तपाईंहरूले विगतमा पनि देखाउनुभएको छ, आगामी दिनमा पनि त्यसलाई बढोत्तरी गर्नुहुनेछ । हाम्रो तर्फबाट पनि हामीले के गर्नुपर्ने हो त्यो हामी गर्नुपर्ने छ । हाम्रो आफ्नो नागरिक उड्यन प्राधिकरण क्षेत्रको कार्यक्षेत्र पनि बलियो छ । देशभर ५५ वटा एयरपोर्ट बनेका छन् । अहिले दुर्गम पहाडका ठाउँमा जहाँ पिच भएकाे छैन, पिच गर्दिनुस् भन्ने मागहरू त्यहाँको समुदायबाट निरन्तर आइरहेको छ । जहाँ टावर छैन टावर बनाइदिनुस्, जहाँ पिच पनि छ, टावर पनि छ, एटीसी पुर्याइदिनूस् भन्ने मागहरू आइरहेका छन् । किनकि आजको दिनमा हवाई सवैतिर आवश्यकता बनिसकेको छ । कालिकोट, दाचुर्ला, इलामलगायत क्षेत्रमा पनि जहाजको माग भइरहेको छ । अस्ति हामी गाईघाटमा गयौं, त्यहाँ प्रस्तावित सगरमाथा एयरपोर्टको निम्ति जग्गाको कुनै अभाव छैन । नेपालका समुदाय अरू कुराको निम्ति जग्गा दिन आनाकानी गर्छन् तर एयरपोर्टको निम्ति जग्गा दिन बडो तत्परता देखाइरहनुभएको छ । ओखलढुंगामाथि खिजी चण्डेश्वरीको एयरपोर्ट सञ्चालन गर्नुपर्ने माग छ । डोल्पाको जुफालमा एयरपयोर्ट छ तर नजिकैको मसिनो चउरमा एयरपोर्ट परीक्षण उडानको लागि माग आइरहेको छ । त्यसैले एयरपोर्टको बारेमा जनताको यत्ति ठूलो आकर्षण देख्छु । निजगढ एयरपोर्ट जुन ठूलो सपनाको रूपमा छ, त्यो अल्झिरहेको छ । यो सबै कुरालाई अगाडि बढाउने काम, निर्णय गर्ने काम प्राधिकरणको हो । प्राधिकरणको काँधमा ठूलो जिम्मेवारी छ । त्यसकारणले प्राधिकरणले आफूलाई त्यसका निम्ति सक्षम ठानेर अघि बढ्नुपर्छ । निजगढ एयरपोर्ट बनाउने कति खर्ब लाग्छ ? वास्तवमै त्यो सानोतिनो रकमले बन्नेवाला छैन । यी भएका एयरपोर्ट चलाउन कति प्लेन चाहिन्छ ? अहिले समिटको चारवटा प्लेन, तारा एयरलायन्सको तीनवटा मात्रै उडिरहेको अवस्था छ । हाल नेपालमा ८/९ वटा प्लेनबाहेक अरू नियमित छैनन् । तर हामीसँग एयरपोर्ट धेरै छन् । एयरपोर्टको अनुपातमा प्लेनको व्यवस्था हुनुपर्ने हो । त्यसतर्फ सोच्नुपर्छ । दुर्गममा चल्ने प्लेनको व्यवस्था गर्ने हो भने अहिले पनि प्यासेन्जरको समस्या छैन । अस्ति टीकापुर एयरपोर्टमा १५ वटा सिट सुनिश्चित गर्ने गरी टीकापुर नगरपालिकाले पैसा तिर्न तयार छु चलाइदिनुस् भन्ने कुरा आयो । त्यो चलाउन सुरु भएको दिनबाट हप्तामा तीनवटा फ्लाइट उड्न थालेको छ । तर अहिलेसम्म प्यासेन्जरको अभाव भएको छैन । हाम्रोजस्तो भूगोल भएको ठाउँमा प्यासेन्जरको अभाव नै छैन । देशबाहिरका मान्छेहरू नेपालमा किन आउन अप्ठ्यारो मानिरहेका छन् ? यसको एउटै कारण यहाँ यातायातको सुविधा सहज छैन । पर्यटन क्षेत्रको किन भनेजस्तो विकास हुन सकिरहेको छैन भने यहाँका यायातायत क्षेत्रको विकास सडकहरू अस्तव्यस्त छन् । गुणस्तरीय सडक बन्न सकेका छैनन् । प्लेनको सेवा सुलभ, सहज र सुनिश्चित हुने हो भने मेचीदेखि महाकाली र महाकालीदेखि मेचीको मात्र नभर विश्वभरका मान्छेहरू नेपाल आउनेछन् । त्यसका लागि हामीले वातावारण बनाउनुपर्ने छ । त्यो सबैका लागि निजी क्षेत्रले भोगिरहनुभएका नीतिगत, कानूनी र व्यावसायिक समस्याहरू आर्थिक समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकता छ । उहाँहरूले भोगिरहेका समस्याको बारेमा हामी जानकार छौं । सरकारले के किसिमले निजी क्षेत्रलाई सहुलियत दिन सक्छ, सजिलो किसिमले निजी क्षेत्रलाई वातावारण बनाउन सक्छौं र राज्यलाई कर तिर्न सक्ने वातावरण बनाउन के गर्नुपर्छ त्यो हेर्छौं । हाम्रा आफ्नै ध्वजाबाहक भनेजस्तो प्रभावकारी भएको छैन । यसकाे पनि संख्या कम छ । अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडबडी, न्यारोबडी दुई/दुई गरी चारवटा छ । कहिलेकाहीं प्राविधिक समस्या बेहोर्नुपर्छ । त्यसलाई राम्रो बनाउनका लागि के गर्न सकिन्छ ? निजी क्षेत्रलाई यसमा सहभागी गराउन सकिन्छ ? अहिले भइरहेका व्यवस्थापनलाई प्रभावकारी बनाउन कुनै विकल्प सोच्नुपर्छ कि ? अहिले भइरहेका कमीकमजोरी सच्याउन के गर्नुपर्छ भन्ने बारेमा हामी सोचिरहेका छौं । विशेषगरी हाम्रा मन्त्रालयको नेतृत्वमा हुने विषयगत समितिको पहिलो बैठक पोखरामा बस्यौं, दोस्रो बर्दियामा बस्यौं । सातवटा प्रदेशमा सातवटा कम्तीमा नेपा एयरलाइन्सका साना जहाजहरू दुर्गममा चल्ने जहाज व्यवस्था गर्न सकिन्छ कि ? त्यसका मोडालिटी के हुन सक्छ ? त्यसको स्रोत कसरी संकलन गर्ने ? सन्दर्भमा विवाद नहुनेगरी पारदर्शी ढंगले किन्ने प्रबन्ध कसरी मिलाउने ? पछि सञ्चालनको मोडालिटी पनि पारदर्शी र व्यवसायिक मोडल कसरी बनाउने भन्ने सन्दर्भमा गहन अध्ययन गरिरहेका छौं । त्यसो हुनासाथ देशभित्र र बाहिर हाम्रा ध्वजाबाहक बलियो हुनासाथ अरू निजी क्षेत्रलाई सहजता प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ । अन्तर्राष्ट्रिय स्तरका एयरलाइन्सका प्रतिनिधिहरूसँग समन्वय गर्न, उहाँहरूलाई नियमन गर्न, उहाँहरूलाई पनि हाम्रो कानुनको क्षमताको दायराअनुसार चल्न र चलाउने वातावारण बनाउनका निम्ति प्रयास गरिरको छौं । यी सबैको केन्द्रबिन्दुमा प्राधिकरण छ । सरकार एक प्रकारले अप्राविधिक निकाय हो । नीतिगत निकाय हो । सरकारले गर्ने नीतिगत कामको निम्ति यो क्षेत्रमा प्राविधिक सहयोग प्राधिकरणबाट चाहिन्छ । यहाँहरूले दिनुभएको प्राविधिक सल्लाहकै आधारमा हामी अगाडि बढ्न सक्छौं । (संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरणको २६औं वार्षिकोत्सवमा पर्यटनमन्त्री पाण्डेले राखेकाे विचार)
हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले वृद्धि, ३५ विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिए
काठमाडौं । मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले वृद्धि भएको हो । प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले दिएको जानकारीअनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कूल ८७ लाख ६० हजार ३०२ लाई हवाई यात्रुले यात्रा गरेका छन् । सन् २०२३ को नोभेम्बरसम्म कूल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ७.९ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कूल ४४ लाख ४९ हजार १३३ पुगेको हो । नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । कूल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपश्चात् यो सङ्ख्या २८ भएको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको छ । महानिर्देशक अधिकारीले पूर्वाधार निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरूयोजनाबमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको छ । त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरूलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरू सञ्चालनमा ल्याइएको छ । विमानस्थलको रनवे २ तर्फको तीन सय १५ मिटर लम्बाइमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्याण्डसाइड क्षेत्रमा करिब एक हजार चार सय वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ । त्रिभुवन विमानस्थलमा यसै वर्ष कात्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरू भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आइकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरूयोजनासँगै फेज–१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
विदेशी पर्यटक बढाउन ‘डिजिटल मार्केटिङ’ प्रभावकारी बनाइने
काठमाडौं । सरकारले विदेशी पर्यटकको सङ्ख्या वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा ‘डिजिटल’ बजारीकरणलाई प्रभावकारी बनाउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक आगमन बढाउन तथा नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत रुपान्तरणको काम गरिरहेको बताए । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवमा अवसरमा यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन विकासका लागि सरकारले नयाँ पर्यटन नीति तयार गरिरहेको र यसलाई चाँडै पूर्णता दिने बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२४ मा ११ लाख ४७ हजार २४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । डिसेम्बरमा मात्रै ८९ हजार ७६५ पर्यटक आएका छन् । यो आज बिहानसम्मको तथ्याङ्क हो । थप एक दिनको जोडेर यो वर्ष ११ लाख ५० हजार हाराहारीमा विदेशी पर्यटकको सङ्ख्या पुग्ने बोर्डको विश्वास छ । यसअघि सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए । पर्यटनमन्त्री पाण्डेले नेपालको मौलिक पर्यटन उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रवर्द्धन गर्न आवश्यक रहेकामा जोड दिए । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त देश भएको बताउँदै उहाँले यही विविधताका बीच एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता रहेको धारणा राखे । पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै यसका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताए । पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डले बोर्डले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताए । बोर्ड सञ्चालक समितिका सदस्य ऋषि भण्डारीले पर्यटन प्रवर्द्धनको मुख्य जिम्मेवारी बोकेको नेपाल पर्यटन बोर्ड सरोकारवाला सबैलाई साथमा लिएर गतिशील बनाउँदै लैजानुपर्ने खाँचो औँल्याए । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटक आगमन विस्तारै लयमा फर्किंदै गएको र नेपालको पर्यटनमा आगामी दिन थप सुनौलो हुने धारणा राखे । कोभिडपछि विश्व परिवेशमा ९७ प्रतिशत ‘रिकभरी’ देखिएको र सन् २०२४ मा नेपालमा ११ लाख ५० हजार हाराहारी पर्यटकले भ्रमण गरेकाले कोभिडपछि नेपालमा ९६ प्रतिशतसम्म रिकभरी देखिएको उनले जानकारी दिए । कार्यक्रममा बोर्ड कर्मचारी सङ्गठनका अध्यक्ष कुन्दन मिश्रले संस्थाको आन्तरिक सुदृढीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि पहल गरिदिन आग्रह गरे । कार्यक्रममा बोर्डले प्रकाशन गरेको वार्षिक मुखपत्र ‘इनफोकस’को विमोचन गर्नाका साथै वार्षिकोत्सवका अवसरमा आयोजना गरेका विभिन्न खेलकुद कार्यक्रमका विजेता तथा उपविजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।