नयाँ वर्षलक्षित विशेष कार्यक्रम गर्दै होटल गुञ्जन, प्रवेश नि:शुल्क

बर्दिबास । ‍‍महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जनले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ । होटल गुञ्जको जानकारी अनुसार न्यु इयर इभ र न्यु इयरको दिनमा ‘समुन्द्र ब्यान्ड’ र ‘द हाईम्स ब्याण्ड’ को संयुक्त लाइभ म्युजिकको प्रस्तुति रहने छ । साथै डिजेहरूको प्रस्तुति, बार्बेक्यु नाइट र विभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ । होटल गुन्जका म्यानेजर सुशान्त कार्कीले भने नयाँ वर्ष विशेष बनाउन विभिन्न कार्यक्रमहरू गर्ने योजना बनाएको बताए । यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको होटल गुञ्जनले जनाएको छ ।

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना, पर्यटकको औसत बसाइ तीन दिन बनाइने

काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो । भ्रमण वर्षलाई भव्यताका साथ सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन भइसकेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको उनले जानकारी दिए । ‘प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण एव विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो’, अध्यक्ष थापाले भने । सचिवालय संयोजक पर्यटन वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रबर्द्धन गरी पर्यटकको संख्या दोब्बर बनाउने गरी योजना बनाइएको छ । ‘भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने गरी ल्याउने योजना बनाएका छौँ’, उनले भने, ‘भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुर्‍याउने हाम्रो लक्ष्य छ ।’ गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे ९घरबास०का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण, नयाँ गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ । भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उनको भनाइ छ । ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रबद्र्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरुका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रबर्द्धन गरिनेछ’, उनले भने । भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रबर्द्धन हुने आफूहरुको अपेक्षा रहेको पर्यटन विज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए । भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै गाउँमै कमाऔँ गाउँमै रमाऔँ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने गाउँपालिकाले लक्ष्य लिएको छ । भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । अनुमानित खर्च विवरणमा संघ, प्रदेश र स्थानीय सरकारका साथै अन्य विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट अपेक्षा गरिएको प्रतिवद्धतालाई समेत राखिएको छ । साथै नेपाल सरकारको बन्दीपुर गाउँपालिका अन्तर्गत नियमित कार्यक्रम पनि समावेश गरिएको छ ।

लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्कि‍एपछि आकस्मिक अवतरण, प्राविधिक परीक्षण जारी

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको हेली एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकोप्टरमा आइतबार चरो ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता रन्जी शेर्पाले बताए । उनले भने, ‘हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलिकप्टरमा त्यस्तो समस्या त केही थिएन । एक्कासि आकासमा उडिरहेको चरासँग हेलिकप्टर ठोकिन पुग्यो । कुनै ठूलो क्षति भएको देखिएको छैन ।’ प्रवक्ता शेर्पाका अनुसार हेलिकप्टर चरासँग ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् । हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए। सबै यात्रु सुरक्षित रहेको जनाइएको छ । अहिले हेलिकोप्टरमा प्राविधिक परीक्षण जारी रहेको प्रवक्ता शेर्पाको भनाइ छ ।