जहाजभन्दा बढी विमानस्थल, ५० प्रतिशत घाटामा, यस्तो छ आम्दानी र खर्च

काठमाडौं । देशमा सञ्चालनमा रहेका अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेको देखिएकाे छ। नेपाल नागरिक उड्यन प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका ३६ विमानस्थलमध्ये १८ विमानस्थल घाटामा सञ्चालन भइरहेको पाइएको हाे । तथ्यांकअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित १८ विमानस्थल घाटामा सञ्चालित छन् । गौतमबुद्ध विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड १३ लाख आम्दानी गरेकोमा २१ करोड २२ लाख खर्च भएको छ । उक्त विमानस्थलको सञ्चालन खर्चमात्रै १६ करोड २ लाख रहेको छ भने पुँजीगत खर्च ५ करोड २० लाख भएको छ । तथ्यांकअनुसार गौतमबुद्धको आव २०७९/८० को तुलनामा २०८०/८१ मा आम्दानीसमेत घटेको देखिन्छ । आव २०७९/८० मा उक्त विमानस्थलले २५ करोड ३० लाख आम्दानी गरेको छ । आव २०७९/८० पनि विमानस्थल घाटामै सञ्चालित थियो । उक्त आवमा विमानस्थलको खर्च २८ करोड २० लाख रुपैयाँ खर्च भएको देखिन्छ । घाटामा रहेको अर्को विमानस्थल हो तुम्लिङटार । उक्त विमानस्थलले आव २०८०/८१ मा ५१ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा ६१ लाख रुपैयाँको खर्च देखिन्छ । विमानस्थलको सञ्चालन खर्चमात्रै ५५ लाख ६६ हजार छ । जुम्ला विमानस्थलले आव २०८०/८१ मा २६ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा २९ लाखभन्दा बढी खर्च गरेको छ । घाटामा चलिरहेको अर्को विमानस्थल हो बझाङ । जुन विमानस्थलले २ लाख मात्रै कमाइ गरेको छ । जसको खर्च २६ लाख छ । त्यस्तै, बाजुरा विमानस्थलले २३ लाख रुपैयाँको आम्दानी गर्दा खर्च ९ लाख रुपैयाँभन्दा बढी भएको छ । भोजपुर विमानस्थलले ६ लाख ६३ हजार रुपैयाँको कमाइ गरेको देखिन्छ भने जसको खर्च १४ लाख ४५ हजार बढी छ । २०८०/८१ अनुसार घाटामा सञ्चालित अन्य विमानस्थलहरुमा दाङ, डोल्पा, रारा, रुकुम सल्ले, रुम्जाटार पनि हुन् । दाङले पाँच लाखका कमाइ गर्दा ८ लाखको खर्च भएको छ । डोल्पाको आम्दानी १४ लाख रुपैयाँ छ, जसको खर्च १६ लाख रुपैयाँ छ । राराको कमाइ २५ लाख रुपैयाँ र खर्च २६ लाख रहेको छ । घाटामा सञ्चालित विमानस्थल नाफामा सञ्चालित विमानस्थल नेपालमा सञ्चालित विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ८६ करोड रुपैयाँ कमाएको छ । विमानस्थलको उक्त आवमा एक अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । तथ्यांकअनुसार त्रिभुवन विमानस्थलको सञ्चालन खर्च ९९ करोड ३५ लाख र पुँजीगत खर्च ५७ करोड ४१ लाख रुपैयाँ भएको छ । नाफामा सञ्चालन भइरहेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल हो पोखरा । पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँको आम्दानी गर्दा १३ करोड ३६ लाखको खर्च भएको छ । नेपालगञ्ज विमानस्थलले १३ लाख ११ करोडको आम्दानी गरेको छ । जुन विमास्थलको ४ करोड ९९ लाख रुपैयाँ खर्च भएको देखिन्छ । त्यस्तै, धनगढी विमानस्थले आव २०८०/८१ मा ६ करोड ३९ लाख आम्दानी गरेको छ । जसको खर्च २ करोड ७८ लाख छ । भरतपुर विमानस्थलले ६ करोड ३९ लाखको आम्दानी गर्दा एक करोड ३५ लाखको खर्च गरेको देखिन्छ । किन घाटामा छन् विमानस्थल ? नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल र ५२ आन्तरिक विमानस्थल गरी हाल देशभर ५५ विमानस्थल सूचीकृत छन् । ५२ आन्तरिक विमानस्थलमध्ये पनि मझौला जहाज जाने ११ वटा विमानस्थल छन् । बाँकी ४१ विमानस्थल साना धावनमार्ग भएका विमानस्थलहरू हुन् । ४१ मध्यपनि २८ वटा धावनमार्ग कालेपत्र भएका विमानस्थल छन् । बाँकी १३ वटा अनपेभ्ड विमानस्थलमा पर्छन् । जिरी, लाङटाङ, रोल्पा, ढोरपाटन, गोर्खापालुङटार, दार्जुलालगायत यसभित्र पर्छन् । प्राधिकरणका अनुसार १३ विमानस्थलमध्ये ९ वटा विमानस्थल सूचीमा मात्रै सीमित छन् । जुन विमानस्थल उडानयोग्य छैनन् । ती विमानस्थललाई प्राधिरणले सूचीबाट हटाउन सकेको छैन । प्राधिकरणका अनुसार २८ वटा कालेपत्रे भएका विमानस्थलमध्येमा पनि नियमित उडान हुने विमानस्थल १८ वटा मात्रै छन् । बाँकी १० वटा नियमित रूपमा उडान हुने तालिका छैन । यसरी संख्यामा धेरै विमानस्थल देखिएतापनि व्यावसायिक रूपमा सञ्चालन हुने विमानस्थल थोरै देखिन्छ । प्राधिकरणका प्रवक्ता हंशराज पाण्डे नेपालमा विमानस्थलको संख्याअनुसार जहाज कम हुँदा २८ वटै विमानस्थलमा नियमति उडान गर्न सम्भव नभएको बताउँछन् । सञ्चालनमा रहेका ती विमानस्थलहरूमध्ये धेरैजसो दुर्गम, पहाडी भूभागदेखि सडक सडक पूर्वाधार नभएको ठाउँमा छन् । जहाँ यसको महत्त्व धेरै छ । ‘विमानस्थलको महत्त्व हुँदाहुँदै पनि नियमति उडान गर्न सकेको छैन । उडान नहुँदा विमानस्थलहरुले आम्दानी गर्न सकेका छैनन्, आम्दानी नहुँदा कम्पनीले नाफा गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने । दुर्गम क्षेत्रमा निगमको दायित्व महत्त्व हुँदाहुँदै पनि दुर्गम क्षेत्रमा उडान नहुँदा ती विमानस्थल ओझेलमा परेको उल्लेख गर्दै प्रवक्ता पाण्डेले ती क्षेत्रमा उडान गर्ने सरकारी दायित्व नेपाल वायु सेवा निगमले लिनुपर्ने बताए । घाटामा जाने जाने विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन र चलायमन बनाउन सबै निकायको उत्तिकै सहयोग आवश्यक रहेको प्रवक्ता पाण्डेको भनाइ छ । त्यसबाहेक जहाजको संख्या थपेर नियमति उडान गर्न सके घाटा कम गर्न सक्ने प्रवक्ता पाण्डेको विचार छ । घाटामा गएका विमानस्थलहरू सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने हुँदा त्यसको महत्त्व पनि धेरै छ । ‘ती विमानस्थलमा आर्थिक हिसाबले घाटा भएपनि अतिआवश्यक छन् । भूकम्प, दैवीप्रकोप हुँदा त्यही विमानस्थलले ठूलो भूमिका खेलेको हुन्छ,’ पाण्डेले भने ।

खुम्बु क्षेत्रमा उडान गर्न पाइने

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी उडान गर्न अनुमति दिएको छ । पारिस्थितिकीय प्रणाली, वन, वन्यजन्तु, जैविक विविधता तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि निकुञ्ज स्थापना गरिएकाले उडान/अवतरण/होभरिङ गर्न/गराउनका लागि तोकिएको राजस्व बुझाइ प्रचलित कानुनअनुसार गर्न वरिष्ठ संरक्षण अधिकृत सुषमा रानाले जारी गरेको सूचनामा उल्लेख छ । निकुञ्जको जैविक विविधता तथा सांस्कृतिक सम्पदा विश्वका लागि अनुपम भएकाले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९७९ मा प्राकृतिक विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । विश्वभरबाट बर्सेनि हजारौँ पर्यटक निकुञ्जको भ्रमणमा आउने गरेका छन् । जसका कारण आर्थिकरूपमा राष्ट्रिय तथा स्थानीय अर्थतन्त्र एवं रोजगारीमा टेवा पुगेको छ । निकुञ्जभित्र रहेका विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल, तालतलैया तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न आउने पर्यटकलाई सो स्थानको दृश्यावलोकन गर्न, पर्यटक तथा स्थानीय बिरामीको उद्धार गर्न विकास निर्माणका सामग्री, खाद्यसामग्री तथा अन्य सामग्री ढुवानी गर्नेलगायतका कामका लागि निकुञ्ज क्षेत्रमा सेवा दिइरहेका निजी कम्पनीका हेलिकप्टरलाई अनुमति लिएर कानुनअनुसार उडानरअवतरणरहोभरिङ गर्नरगराउन अनुमति दिइएको उनले बताए ।

पर्यटक बसपार्क निर्माणका लागि पर्यटनमन्त्रीले पहल गर्ने, व्यवसायीले सुनाए गुनासो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भने । ‘नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका निर्माणका लागि पहल गर्छु,’ उनले भने । टुरिष्ट बस एशोसिएसन अफ नेपालले काठमाडौंको गौशालास्थित पशुपति क्षेत्र विकास कोषमा बसपार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरेर अगाडि बढ्ने मन्त्री पाण्डेको भनाइ थियो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसपार्कको आवश्यक रहेको बताएका थिए । उनले पर्यटक बसपार्क निर्माणका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले टिवान र नाट्टाले पशुपति क्षेत्र विकास कोषसँग बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको भन्दै उक्त कार्यमा सहयोग गर्न मन्त्रीलाई आग्रह गरेका थिए । टुरिष्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय राजधानी पोखरा र चितवनको सौराहमा पर्यटकका लागि छुट्टै बसपार्क भए पनि सङ्घीय राजधानी काठमाडौंबाट भने सडकबाट पर्यटक बस गुडाउनुपर्ने बाध्यता रहेको भन्दै यसलाई अन्त्य गर्न पहल गरिदिन सरकारको ध्यानाकर्षण गरेका थिए । टिवानका संस्थापक अध्यक्ष श्रीकान्त आचार्य, सल्लाहकार केदार शर्मा, मदन आचार्यलगायतले मुुलुकको राजधानीमा काठमाडौंबाट बसपार्कको अभावका कारण बिहान ७ बजे चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रमा पर्यटक बस गुडाउनुपर्ने अवस्था आएको भन्दै बसपार्क निर्माण भए जुनसुकै समयमा पर्यटक बस सञ्चालन गर्न सकिने बताएका थिए । हाल मुलुकको राजधानी काठमाडौंबाट पोखरा र चितवनको सौराह, लुम्बिनी, जनकपुरका लागि मात्रै दैनिक झण्डै एक सयवटा पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस ‘पार्किङ’ गरेर यात्रु बोक्दै आएका छन्भने रातको समयमा विभिन्न ‘ग्यारेज’मा शुल्क तिरेर पार्किङ गर्दै आएका छन् । रासस