होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल क्षेत्रलाई इण्डस्ट्रीको रुपमा अघि बढाउन सरकारले काम गरिरहेको बताएका छन् । बुधबार काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले होटललाई इण्डस्ट्रीको रुपमा बुझेको र सोहीअनुसार काम अघि बढाइरहेको बताए । उनले होटलको विकाससँगै पर्यटन क्षेत्र पनि चलायमान बन्ने बताए । अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेल स्थापनाले नेपालमा होटल इण्डस्ट्रीको विकासक्रम अघि बढेको प्रमाण भएको जानकारी दिए । ‘हामीले होटललाई इण्डस्ट्रीको रुपमा बुझेका छौँ र इण्डस्ट्रीको रुपमा यसलाई सुरक्षा र यसको विकासमा मद्दत गर्नुपर्छ भन्नेकुरा पनि हामीले बुझेका छौँ । यसबाट हाम्रो टुरिजम सेक्टर लगायतका कुराहरु अघि बढ्नेछन्,’ उनले भने । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटेलको उद्घाटनसँगै होटल व्यवसाय, पर्यटन व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली परिकार र यसको ब्राण्डिङ, पहिलो सेफ केसीको विचार

पछिल्लो समय बजारमा नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने भनेर हुरी नै चलेको छ । जसलाई सकारात्मक नै मान्नुपर्छ । तर आजको दिनमा नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा नपुगेको भने होइन । यसलाई प्रमाणित गर्न नसकेको मात्रै हो । उदाहरणको लागि मम । मम अन्तर्राष्ट्रियस्तरमा प्रख्यात छ । तर यो नेपाली खाना हो भनेर प्रमाणित गर्न नसक्दा हामी पछि परेका छौं । नेपालको हस्पिटालिटीमा विगत र आजमा ठूलो अन्तर छ । विगतको तुलनामा आज नेपाली खानासम्बन्धी खोज, अनुसन्धानसमेत बढेर गएको पाइन्छ । आजभन्दा ४७ वर्षअघि अर्थात् सन् १९७७ तिर मैले सेफको जागिर सुरु गर्दा परिस्थिति अर्कै थियो । त्यतिबेला स्रोतसाधन र प्रविधिको अभावले गर्दा धेरै कुरा भेट्टाउन असम्भव थियो । हामीले पढ्ने बेलामा हलुवाईदेखि लिएर करेला, घिरौंलालाई अंग्रेजीमा के भनिन्छ भनेर शिक्षकले जसरी सिकाउनुहन्थ्यो त्यही हिसाबले कपीमा नोट गरेर पढ्थ्यौं । तर आज हामीलाई जुनसुकै भाषामा जेसुकै विषयमा जान्नुपरे सहजै भेट्टाउन सक्छौं । आज सूचना र प्रविधि तीव्र रूपले विकास हुँदै गएको छ । यसले हरेक नयाँ कुराको खोजी र अनुसन्धानसमेत बढ्दै गएको छ । नेपाली खानाकै कुरा गर्ने हो भने विगतमा पनि यसको महत्त्व उत्तिकै थियो । ४० वर्षअघि सोल्टी होटलमा काम गर्दा पनि होटलमा नेपाली खाना पाक्थ्यो । त्यहाँ पाक्ने खाना भने दरबार शैलीको हुन्थ्यो । हामीलाई दरबारबाटै राजदरबार शैलीको खाना कसरी बनाउने भनेर सिकाउन आउनुहुन्थ्यो । खाना बनाउँदा जिरा, मरिच, धनियाँ, खुर्सानी सबै एकैचोटि हालेर सिलौटामा राखेर लोरोले पिसिन्थ्यो । साथै कालो दाल बनाउँदा काँचो तोरीमा मेथी पट्काएर तेजपत्ता, गरम मसला हालेर पकाइन्थ्यो । त्यतिबेला बनाइने खानाको छुट्टै स्वाद हुन्थ्यो । अहिले त बजारमा विभिन्न स्वादका परिकार पाक्न थालिसकेको छ । तर नेपाली अथेन्टिक खाना भनेको विशेषगरी हिङ, चुकअमिलो, ज्वानो, मेथी, छ्यापी, शुद्ध घिउ, काँचो तोरीको तेल प्रयोग गर्ने हो । सोल्टीमा काम गर्दा ‘हिमाल चिल्ली’ भन्ने रेष्टुरेन्ट थियो । उक्त रेष्टुरेन्टमा नेपाली परिकार नै पाक्थ्यो । कालो दालमा जिम्बु हालेर झान्ने, कुखुराको मासुमा मुला हालेर पकाउने, खसीको भुटुवा, पक्कु, गुन्द्रक साँधेको अचार बनाइदिन्थ्यो । अचार पनि विभिन्न प्रकारको हुन्थ्यो । उदाहरणको लागि काँक्रोको अचार, निम्बुको अचार, कोइरालाको अचार इत्यादि । त्यतिबेला पनि पर्यटकको रोजाइमा नेपाली खाना हुन्थ्यो । जस्तोः भारतबाट सुटिङका लागि नेपाल आउँदा चलचित्रका नायक/नायिका सोल्टी होटलमै बस्थे । तिनीहरुको रोजाइमा नेपाली खाना नै हुन्थ्यो । हामीले कालो मासको दालमा जिम्बु हालेर, कुखुराको मासुमा मुला हालेर, मिक्स तरकारी बनाएर दिन्थ्यौं । लोपपछि पुनः चर्चा  ग्लोबलाइजेसन, सूचना र प्रविधिको विकासँगै विस्तारै नेपालमा विदेशी खानाले प्राथमिकता पाउन थाल्यो । होटल तथा रेष्टुरेन्टमा पनि नेपाली खानाको सट्टामा विदेशी खाना पाक्न थाल्यो । जसले गर्दा नेपाली खानाको मौलिकता विस्तारै हराउन थाल्यो । यो एक किसिमले पर्यटकको मागअनुसार पनि हो । नेपालमा भित्रिने पर्यटकहरूले नेपाली खाना नै खान्छ भन्ने छैन । त्यसमा पनि विभिन्न मुलुकबाट आएका पर्यटकले नेपाली खाना पचाउन सक्छ भन्ने पनि हुँदैन । पहिले आजजस्तो ग्यास्ट्रोनोमीको अवधारणा पनि आइसकेको थिएन । त्यसले गर्दा पनि नेपाली खानाभन्दा बढी इन्डियन, चाइनिजलगायत विदेशी खानाले प्राथमिकता पाउन थाल्यो । नेपालमा पनि नेपाली रेष्टुरेन्ट भनेर खोल्ने तर तन्दुरी, चिकेन, नान किसिमका इन्डियन परिकार राख्दा नेपालीपन नै हराएर गयो । अहिले फेरि नेपाली खानाले पुनः चर्चा पाउन थालेको छ । यो पनि सूचना प्रविधि र प्रचारप्रसारकै कारण हो । विस्तारै मान्छेहरूले नेपाली खानाको महत्त्व र फाइदाबारे थाहा पाउँदै गएका छन् । विदेशी खानाभन्दा नेपाली खाना स्वाथ्यवर्द्धक छ भन्ने कुरा विभिन्न खोज तथा अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ । यसले गर्दा अहिले फेरि नेपाली खानाको माग बढ्दै गएको छ । तारे होटलमा पनि कुनै न कुनै आइटमका नेपाली खाना बन्नुपर्छ भनेर आइसकेको छ । नेपालमा तारे होटलहरू बढ्दैछन् । चेन होटल पनि थपिने क्रममा छन् । पहिले नेपालका पहाडी भू-भागमा सजिलै उपलब्ध हुने रैथाने बाली कोदोलाई घृणाको नजरले हेरिन्थ्यो । तर कोदोमा एन्टिअक्सिडेन्ट, प्रोटिन, भिटामिन, मिनरल, आइरन, क्याल्सियम पाइन्छ । यसको महत्त्व बुझ्दै गएसँगै मान्छेहरूले कोदोलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ । अहिले मान्छेहरू कोदो अनि फापरको खोजी गर्दै हिँडेका छन् । सामान्यतया भान्सामा कोदोको परिकार बन्ने भनेको कोदोको ढिँडाे र रोटी मात्रै हो । पछिल्लो समय यसलाई फ्युजन गरेर नयाँ परिकार बनाउन थालिएको छ । अहिले काेदोबाट धेरै परिकार बन्छन् । नेपाली खानामा विविधता छ । यहाँ भेषभूषा र जातजातिअनुसारको खाना पाइन्छ । हरेक जातिको आफ्नै किसिमको खानाको मौलिकता हुन्छ । उपत्यकामा नेवार जातिको बहुल्यता छ । नेवार जातिको पनि विभिन्न परिकारहरू प्रख्यात छन् । नेवार जातिका विभिन्न परिकारहरू छन् । संस्कृति र खानाको हिसाबले नेवार जाति धनी छ । म आफै लामो समय यो इन्डस्ट्रीमा सेफको रूपमा काम गरेपनि उनीहरूले बनाउनेजति खानाको परिकार बनाउन सक्दिनँ । त्यो खालको खानासम्बन्धी सीप छ नेवार जातिमा । नेवार मात्रै नभएर थारु, मगर, गुरुङलगायत जातजातिको आफ्नै संस्कृति र खाना छ । ‘नजिकको तीर्थ हेला’ भने झैं हामीले नेपाली खानाको प्रवर्द्धन र प्रचार जति हुनुपर्ने त्यो हुन सकेको छैन । त्यसको प्रचार र प्रवर्द्धन हुन सके हस्पिटालिटी सेक्टरमा सम्भावना छ । खानाले नै पर्यटकलाई तान्न सक्छ । नेपालमा अर्थतन्त्रको ठूलो स्रोत पर्यटन हो । एक जना विदेशी पाहुना नेपाल आएर बस्दा त्यसले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ । त्यसैले पर्यटकलाई भित्र्याउन सक्यो भने नेपालमा विदेशी डलर भित्र्याउन सकिन्छ । यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्नुका साथै रोजगारी सिर्जना हुन्छ । जसले गर्दा आज जुन हिसाबले रोजगारको लागि लाखौंको संख्यामा वैदेशिक रोजगारको लागि युवाहरू पलायन भइरहेका छन् त्यसलाई केही हदसम्म रोक्न सकिन्छ । (नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसीसँगको कुराकानीमा आधारित) गाउँले परिकारको सहरमा तहल्का, तारे होटलमा प्रिमियम शुल्क

गाउँले परिकारको सहरमा तहल्का, तारे होटलमा प्रिमियम शुल्क

काठमाडौं । कुनै समय गरिबको खानाको रूपमा चिनिने कोदोको ढिँडो अहिले सहर बजारका ठूला तारे होटल तथा रेष्टुरेन्टमा आकर्षक खानाको परिकारको रूपमा चिनिन थालेको छ । होटलहरूमा यसको बढ्दो मागसँगै नेपालको रैथाने बाली कोदोको परिचय नै बदलिएको छ । पहिले चामलको भात खाने हैसियत भएको परिवारलाई धनी वर्गको रूपमा गनिन्थ्यो । आज ठीक विपरीत त्यहीं धनी भन्ने वर्गले नै खोजीखोजी कोदो, मकैलगायतको रैथाने परिकार खान थालेका छन् । पछिल्लो समय नेपाली रैथाने खानाको महत्त्व बढ्दै गएको छ । होटल व्यवसायीहरूका अनुसार अहिले कोदोको ढिँडो होटलहरूमा ‘लक्जरियस फुड’को रूपमा गणना भइसकेको अवस्था छ । यसको अर्थ महँगो शुल्क तिरेरै भएपनि ढिँडो खाने ग्राहकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोदोको ढिँडो एक उदाहरणमात्रै हो । पछिल्लो समय स्थानीय खानाको माग साना होटल तथा रेष्टुरेन्टदेखि ठूला तारे होटलहरूमा बढिरहेको र सोही मागअनुसार होटलमा स्थानीय खानाकाे परिकारलाई प्राथमिकतामा राखिएको होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य बताउँछन् । उनका अनुसार चारतारे र पाँचतारे होटलहरूले अनिवार्य रूपमै मेनुमा नेपाली खानालाई समावेश गर्नैपर्छ । त्यसबाहेक अन्य होटलहरूले पनि आवश्यकता र मागअनुसार मिलाएर स्थानीय परिकारलाई प्राथामिकतामा राख्ने गरेका छन् । नेपाली खाना भन्नेबित्तिकै दाल,भात, तरकारी, गुन्द्रुक भन्ने धेरैको मानसिकता हुन्छ । तर, नेपाली परिकार त्यतिमा मात्रै सीमित छैन । नेपालमा विभिन्न जातजातिका विभिन्न परिकार उपलब्ध छन् । ती स्थानीय परिकारलाई होटलहरूले अहिले प्राथामिकतामा राखेर पस्किन थालेको महासचिव शाक्यले बताए । उनका अनुसार नेवारी फुडहरू जस्तै- बारा, चटामरी, योमरीजस्ता खानालाई समावेश गर्न थालिएको छ । शाक्य विदेशका होटहलरूमा पनि नेपाली खानाको फेस्टिबल गर्नुपर्‍यो भनेर माग आइरहेको बताउँछन् । उनले विदेशमा पनि नेपाली खानालाई प्रवर्द्धन गर्ने भनेर लागिरहेका बताए । हान आफैले समयसमयमा नेपाली खानाको प्रवर्द्धनकाे लागि लागिपरेको महासचिव साजन शाक्यले बताए । ‘हामीले भृकुटीमण्डमा रैथाने खानालाई प्रदर्शनमा राख्यौं । यसबाहेक आफ्नै कार्यक्रम हुँदा स्थानीय खानालाई प्रवर्द्धन गरिरहेका हुन्छौें ।’ होटल संघल नेपालले नेपाली खानालाई प्रवर्द्धन गर्नका लागि गत वर्षदेखि अभियान नै थालेको छ । यस वर्षको माघ २ गते सत्कार दिवसको अवसरमा सातै प्रदेशको खानालाई स्टलमा राखिँदै छ । बर्गर, पिजा, स्याण्डविच लगायत सहरिया परिकारलाई अहिले गाउँले ढिडो, कोदो, फापर लगायत परिकारले विस्थापित गर्न थालेका छन् । महँगा रेष्टुरेण्टमा अहिले गाउँले परिकारको शुल्क नै महँगो पर्छ । ग्राहकको माग नै गाउँले परिकार हुने गरेको होटल व्यवसायी बताउँछन् । उच्च प्राथमिकतामा मौलिक खाना होटल हिमालयका फुड एण्ड वेबरेजका म्यानेजर राजेश यादव होटलले कन्टिनेन्टल, ओरिएन्ट, मेरियन्टका खानाका साथै स्थानीय खानालाई मेनुमा उच्च प्राथमिकताका साथ राखेको बताउँछन् । नेपाली खानाको उच्च माग भएसँगै होटलले पनि त्यसलाई प्राथमिकतामा राखेर सेवा प्रवाह हुने गरेको उनले बताए । उनका अनुसार हिमालय होटलकै लगानीमा सञ्चालित पाटन म्युजियम क्याफेमा ९५ प्रतिशत मौलिक नेवारी खानाहरू पस्किने गरिएको छ । यसबाट पनि मौलिक स्थानीय खानाको माग उच्च रहेको उनले बताए । पछिल्लो समय नेपाली खाना र संस्कृतिको झुकाब बढेर गएको यादवको भनाइ छ । उनले भने, ‘आजभन्दा २० वर्षअघि हेला गरिएको कोदो र फापरलाई सुपर फुडको रूपमा गणना गर्न थालिसकेको छ । उदाहरणको लागि लिम्बुले खाने खाना ‘किनेमा’ जुन सोयाबिनबाट बनेको हुन्छ, आज त्यसलाई ‘न्याटो’ भनिने सुपुर फुडको रूपमा राखिएको छ । यादव पछिल्लो समय नेपाली खानाको उच्च माग भएसँगै नेपाली नामबाटै होटलहरू खुल्न थालेको बताउँछन् । साथै पहिले बिदा मनाउन जाँदा पर्यटकको रोजाइमा पिजा, बर्गरजस्ता खाना रोजाइमा हुन्थ्यो भने आज नेपाली खाना हुने गरेको छ । विदेशी पर्यटकमात्रै नभएर आन्तारिक पर्यटकले नेपाली खानालाई महत्त्व दिन थालेको यादवले सुनाए । प्रचारप्रसारले लोकप्रियता बढ्यो आजभन्दा १० वर्षअघि आजजस्तो डिजिटल मिडियाको प्रभावकारिता थिएन । नेपाली खानाप्रति प्रचारप्रसार कम थियो । साथै नेपाली खानासम्बन्धी अनुसन्धान भएपनि बाहिर आउन सकेको थिएन । जसले गर्दा मान्छेहरूमा विशेषगरी विदेशी पर्यटहरूलाई यसले ‘साइड इफेक्ट’ गर्छ कि भन्ने डर थियो । विस्तारै प्रविधिको विकास र नेपाली खानाको प्रचारप्रसार बढ्न थाल्यो । अध्ययन अनुसन्धानबाट पनि यसको महत्त्व जनमानसमा पुग्यो । जसले गर्दा आज नेपाली खानाको माग बढेर गएको हो । नेपाली खानाप्रति आकर्षण आज आएर ह्वात्तै बढेको होइन । पहिले पनि नेपाली खानाप्रति मान्छेहरूको रुचि थियो नै । तर प्रचारप्रसारको कमीको कारण ती कुरा बाहिर नआएको चिफ एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष श्याम लामा बताउँछन्। पछिल्लो समय प्रविधिको विकासले नेपाली खाना र महत्त्वका बारेमा सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार हुन थालेको छ । यसले गर्दा हरेक मान्छेमा स्थानीय खानाबारे जनचेतना बढ्दै गएको छ । जसले नेपाली खानाप्रतिको रुचि बढ्नमा महत्त्वपूर्ण भूमिका खेलेको लामाले बताए । उनले भने, ‘रैथाने परिकारको लोकप्रियता अहिले मात्रै नभएर विगतमा पनि थियो । मझौला होटल रेष्टुरेन्टले पहिलेदेखि खुवाउने भनेको नेपाली खाना नै हो । तर प्रचार हुन सकेको थिएन । सम्बन्धित सरोकारवाला, सामाजिक सञ्जाल, सञ्चार माध्यमलगायतका क्षेत्रबाट यसको प्रवर्द्धन हुन थालेसँगै अहिले नेपाली खानलाई धेरैले बढावा दिन थालेका हुन् ।’ विगतमा होटल तथा रेष्टुरेन्टले नेपाली खानालाई भन्दा कन्टिनेन्टल, चाइनिज, इन्डियनलगायतलाई मात्रै जोड दिन्थे । तर पछिल्लो समय नेपाली खानालाई मेनुमै समावेश गरेर पस्किन थालेको छ । होटल सोल्टीदेखि विभिन्न तारे होटलमा सेफको रूपमा काम गरिसकेका लामाले आफ्नो अनुभव साझा गर्दै भने, ‘मैले कन्टिनेन्टल खानाबाटै जागिर सुरु गरेको हो । नेपाली खाना त घरमै पाकिहाल्छ नि भन्ने मानसिकताले विदेशी खाना नै प्राथामिकतामा हुन्थ्यो । अहिले तारे होटलहरूले नेपाली खानालाई नै फलो गर्न थालेका छन् । यो पनि नेपाली खानाप्रतिको प्रवर्द्धन हो ।’ यसबाहेक विभिन्न संघसंस्थाले पनि स्थानीय खाना र संस्कृतिलाई प्रचारप्रसार गर्न थालेका छन् । होटल तथा रेष्टुरेन्टहरूले मात्रै नभएर होमस्टेहरूले पनि रैथाने खानालाई प्राथामिकता दिँदै नेपाली खाना पस्किनुपर्छ भनेर अभियान नै सञ्चालन गर्दै आइरहेका छन् । यसले स्थानीय खानाको लोकप्रियता बढ्दै गएको लामाले बताए । पर्यटकहरू जहाँ जान्छन्, त्यहींको संस्कृति र खानालाई फलो गर्ने प्रवृत्ति बढ्दै गएको हुँदा अहिले नेपाली खानाभन्दा पनि संस्कृति र ठाउँअनुसारको खानाको माग झन् बढेर गएको उनको तर्क छ । पछिल्लो समय ग्यास्ट्रोनोमी टुरिजमको अवधारणा बढ्दै गएकाले त्यसअनुसार सेफहरूले पनि खानालाई पस्किने गरेको लामाको भनाइ छ । उनका अनुसार सबै विदेशी पर्यटकले नेपाली खानालाई पचाउन नसक्ने हुँदा त्यही नेपाली खानालाई पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर पस्किने गरेको छ । नेपाली खानाको महत्त्व नेपाली खाना स्वादको लागि नभएर स्वास्थ्यकै दृष्टिकोणले फाइदाजनक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । ‘नेपाली खाना पश्चिमेली खानाको तुलनामा बढी पोषक हुन्छ,’ हिमालय होटलका फुड एण्ड बेबरेज म्यानेजर यादवले भने, ‘दाल,भात र तरकारीमा हाम्रो शरीरलाई चाहिने कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्स, म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ । स्वादिष्ट मात्रै नभएर पोषक तत्त्वले भरिपूर्ण भएकाले पश्चिममा पनि पूर्वेली खानप्रति आकर्षण बढेर गएको छ ।’ नेपाली खानामा प्रयोग गरिने बेसार, धनियाँ मेथी, जिम्बुलगायत मसाला स्वास्थ्यका लागि सकारात्मक परिणाम दिने भएकाले यसको महत्त्व बढी रहेको यादव बताउँछन्। नेपालमा मात्रै नभएर विदेशमा समेत नेपाली खानाको माग उच्च रहेको छ । होटल हिमालयका फुड एण्ड बेभरेज म्यानेजर यादवका अनुसार विदेशमा नेपाली खानलाई भगवानलाई पुजेसरह मान्यता दिन्छन् । खाडी तथा युरोपियन देशमा छरिएर रहेका नेपालीहरू नेपाली रेष्टुरेन्टमा जान्छन्, यसले नेपाली खाना मात्रै नभएर देशप्रतिको माया पनि विदेशमा उच्च रहेको यादवले बताए । थप प्रवर्द्धनको आवश्यकता विगतको तुलनामा नेपालमा नेपाली खानाको बारेमा प्रचारप्रसार र प्रवर्द्धन बढ्दै गएको छ । तर यो पर्याप्त भने होइन । नेपाली खानालाई नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पु‍र्‍याउन सबै क्षेत्रबाट उत्तिकै सहयोगको आवश्यकता जरुरी रहेको औल्याउँछन् लामो समय सेफको रूपमा देश तथा विदेशका विभिन्न होटलहरूमा काम गरिसकेका भान्से लक्ष्मण । उनी पछिल्लो समय नेपाली खाना प्रवर्द्धनमा जुटेका छन् । सन् २०१८ मा ग्लोबल नेपाली सेफ संस्था स्थापना गर्नेदखि विभिन्न देशमा च्याप्टरको शुभारम्भ गर्दै उनी अहिले रैथाने नेपाली खानाको खोज, विकास र प्रवर्द्धनमा सक्रिय छन् । भान्से लक्ष्मण नेपालका कैयौं खानाका परिकारहरू प्रवर्द्धनकाे पर्खाइमा रहेको बताउँछन् । उनका अनुसार हाल थकाली खानामात्रै विश्वस्तरमा पुग्न सकेको छ । त्यसबाहेकका कैयौं रैथाने खानालाई हामीले चिन्न र प्रचारप्रसार गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘नेवार, थारु, नेवारी, तामाङ, राईलगायतका जातजाति रैथाने खाना निकै राम्रा छन्, त्यसलाई थप विकास गरी हामीले विश्वस्तरमा यसको प्रवर्द्धन गर्न सक्छौं, फूड टुरिजममार्फत पर्यटकीय गतिविधि पनि बढाउन सक्छौं ।’ नेपाली खानाको विकास र प्रवर्द्धन जति हुनुपर्ने हो, त्यसमा ध्यान दिन नसकेको उनको तर्क छ । उनका अनुसार मिथिला थालीलाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि गर्ने योजना बनाइएको छ । जसका लागि मिथिला थालीको ‘न्युट्रिसन भ्यालु’ समेत निकालेर प्रचारप्रचार गर्ने सोच रहेको उनले बताए । ‘मिथिला थालीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनका लागि यसमा कति पौष्टिक तत्त्व छ भन्ने पनि ग्राहकले थाहा पाउनुपर्छ, यो अभ्यास पनि हो । त्यसैले आगामी दिनमा यसको इतिहास, महत्त्व र आवश्यकता बुझाउने गरी प्रचारप्रसारको योजना बनाएका छौं,’ उनले भने ।