बुद्ध एयरको पाँग्रा जनकपुरमा जहाज काठमाडौंमा, कम्पनी भन्छ : खसेको थाहै भएन
काठमाडौं । बुद्ध एयरको जहाजको पाँग्रा खसेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । जनकपुरबाट काठमाडौं आएको जहाजको अगाडिको दुईमध्ये एउटा पाँग्रा खसेको विषय बाहिरिएपछि यसले सामाजिक सञ्जालमा बहस विषय बनेको छ । जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा उडानको क्रममा पाँग्रा खसेपनि चालक दलका सदस्यले भने कुनै जानकारी नै पाएनन् । तर, जहाज भने काठमाडौंमा सुरक्षितका साथ अवतरण भयो । जाहाज अवतरणपछि मात्रै चालक दलका सदस्यले पाँग्रा नभएको जानकारी पाए । त्यसपछि जनकपुर विमानस्थलमा खबर गर्दा धावनमार्गमै पाँग्रा भेटिएको हो । उक्त जहाजमा ६२ जना यात्रु सवार थिए । यस विषयमा बुध्द एयरका प्रवक्ता तथा सेल्स हेड रुपेश जोशीले उडानको क्रममा पाँग्रा खसेको चालक दलका सदस्यलाई जानकारी नै नहुने तर्क दिए । उनले दुई मध्ये एउटा मात्र पाँग्रा खस्दा अवतरणमा समस्या नभएको जानकारी दिए । ‘पाँग्रा निस्केको थाहै भएन, यस्तो हुनु हुँदैन, हामीले पाँग्रा पाइसकेका छौं, यसले अवतरणमा कुनै समस्या नभएपनि स–साना गलित हुनु राम्रो भने होइन,’ उनले भने । बुध्द एयर जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले अहिले यस विषयमा सूचना लिने काम भइरहेको जानकारी दिए । ‘पाँग्रा फुस्केको थाहा पायौं, सुरक्षित अवतरण पनि भइसकेको छ, यस विषयमा हामी थप अध्ययन गरिरहेका छौं, उनले भने । हवाइ उडानमा विभिन्न किसिमका स-साना समस्या बारम्बार दोहोरिने गरेका छन् । कहिले चरासँग ठोक्किने, कहिले चिप्लिेन त पाँग्रा नै खस्ने गरेका कमजोरीहर नेपाली हवाइ उडानमा हुने गरेका छन् ।
पर्यटनमन्त्री पाण्डेले पाए ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ प्रदान गरिएको छ । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा)ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम एन्ड एभिएसन समिट-२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको नेपाल पर्यटन बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । सन् १९९९ देखि आइटिबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्रीलाई प्रदान गर्ने गरिन्छ । नेपालका लागि ऐतिहासिक रूपमा महत्वपूर्ण मानिएको यो अवार्ड पाउनु नेपालमा पर्यटन प्रवर्द्धनका लागि अवलम्बन गरिएका नीति तथा योजनाहरूको अन्तरराष्ट्रिय मान्यता भएको बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूले प्रतिक्रिया दिएका बोडैले जनाएको छ । अवार्ड ग्रहण गरेपछि मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताए । उनले भने, ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्न पाउनु खुसीको कुरा हो । यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मेहनत गरिरहेका सम्पूर्ण सरोकार भएका निकायको सम्मान हो । नेपालको पर्यटन सधैँ नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा अघि बढ्दै आएको छ । यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा काम गर्न प्रेरित गरेको छ ।’ मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेको समेत बताए । उनले प्रविधिलाई समुदाय–सञ्चालित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु सरकारको लक्ष्य हुने उल्लेख गरे ।
सुर्खेत-जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने, माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडे
काठमाडौं । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी तीन विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । मन्त्रालयका शाखा अधिृकत प्रकाश पोखरेलका अनुसार विमानस्थल विस्तारका लागि अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता गरिदिन अनुरोधसहित प्रस्ताव गरिएको छ । तीनवटै विमानस्थल विस्तारका क्रममा आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएबमोजिम फागुन १५ गते बसेको मन्त्रिस्तरीय बैठकले स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको छ । सोहीअनुसार दाङ टरिगाउँ विमानस्थल जग्गा अधिग्रहणका लागि रु पाँच अर्ब लागत अनुमान गरिएकामा १ करोड रुपैयाँ विनियोजन र ९९ करोड रुपैयाँ स्रोत सुनिश्चितताको माग गरिएको छ । साथै सुर्खेत विमानस्थल जग्गा अधिग्रहणका लागि १० अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा १० करोड रुपैयाँ विनियोजन र ४ अर्ब ९० करोड रुपैयाँ स्रोत सुनिश्चितताका लागि माग गरिएको मन्त्रालयका शाखा अधिृकत पोखरेलले जानकारी दिए । उनका अनुसार जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा १० करोड रुपैयाँ रकम विनियोजन र ४० करोड रुपैयाँ स्रोत सुनिश्चितताका लागि माग गरिएको छ । विसं २०७५ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालन गर्ने महत्वाकाङ्क्षी योजना अगाडि सारिएको थियो । प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट आन्तरिक तथा अन्तरप्रदेश उडानका लागि हवाई सेवा सुरु गर्न ल्याइएको योजना अहिले अन्योय बनेको छ । शाहीका पालामा प्रदेश सरकारले सुर्खेतमा अन्तरराष्ट्रियस्तरको विमानस्थल र मुगुमा ‘हाई अल्टिच्युट’ विमानस्थल निर्माणको घोषणा गरेको थियो । चिनियाँ कम्पनी नर्थवेष्टले दुईवटै विमानस्थलको निःशुल्क विस्तृत सम्भाव्यता अध्ययन गरेर प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । अहिले सुर्खेत-काठमाडौं, काठमाडौं-सुर्खेत दैनिक चार वटा उडानमात्र हुने गरेका छन् । माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडेका छन् । विसं २०७७ मा हालको विमानस्थललाई विस्तार गरी १ हजार ५ सय मिटरको धावनमार्ग विस्तार गरी रात्रिकालीन उडान भर्ने उद्देश्यका साथ सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि बढाइएको थियो । तत्कालीन मुख्यमन्त्री शाहीको अध्यक्षतामा विसं २०७७ मङ्सिर अन्तिम साता बसेको बैठकले ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । सो विमानस्थल विस्तार र स्तरोन्नतिका लागि झण्डै रु दुई अर्ब बराबर खर्च लाग्ने भन्दै पहिलो चरणमा प्रदेश सरकारले ५० करोड रुपैयाँ र केन्द्र सरकारले ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । विस्तारका लागि सङ्घीय र प्रदेश सरकारबीच १५ असोज २०७७ सालमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विमानस्थल विस्तारको काम अघि नबढेपछि केन्द्र र प्रदेश सरकारले छुट्याएको १ अर्ब १ करोड रुपैयाँ फ्रिज भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा पनि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भए पनि काम हुन सकेन । विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिकाका-१०, ११, र १२ नं वडाका करिब ९२३ घरधुरी र विद्यालय पनि प्रभावित हुने भएपछि स्थानीयहरू सङ्घर्ष समिति गठन गरेर विरोधमा उत्रिएपछि काम रोकिएको थियो । सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा अधिग्रहणका लागि थप प्रक्रिया सुरु गरिएको जनाएको छ । जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाइ, २० मिटर चौडाइ छ । उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जिल्लास्थित उड्डयन कार्यालयलाई निर्देशन दिएको छ । उक्त बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण, अप्रोनदेखि जहाजसम्म जाने बाटोलगायत संरचना निर्माण हुनेछन् ।