तराईसँग जोडियो ढोरपाटन, भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने

काठमाडौं । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ । एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन् । सडकले प्रकृति र ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सामान्य भए पनि सहज भएको छ । कच्ची सडकका कारण बागलुङको दोस्रो ठूलो व्यापारीक केन्द्र बुर्तिबाङ बजारदेखि करिब दुई घण्टामा उपत्यका पुग्न सकिन्छ । राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी-ढोरपाटन’ सडकले ढोरपाटन उपत्यका जोडिएको छ । रूपन्देहीको सालझण्डीदेखि ढोरपाटन जोडिएपछि अब विकट क्षेत्रमा समृद्धि आउने आश पलाएको छ । विसं २०६७ सालदेखि सुरू भएको सडक आयोजनाले ढोरपाटन उपत्यका जोडिएको हो । सडक आयोजनाको काम सुस्त गतिमा भए पनि ढोरपाटन तराईसँग सिधा जोडिएको छ । पहाडको एक कुनामा रहेको ढोरपाटन तराईसँग जोडिनु सिङ्गो बागलुङवासीका लागि ठूलो अवसर पनि हो । रूपन्देहीको सालझण्डीदेखि सुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई छिचोल्दै ढोरपाटन जोडेको छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर लामो रहेको यस सडक बागलुङमा मात्रै ६१ किलोमिटर पर्छ । बागलुङको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडेको यस सडकले भारतीय पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । तराई र पहाडलाई जोडेको सालझण्डी-ढोरपाटन सडकले दुवै क्षेत्रमा उत्पादन हुने वस्तु बजारीकरण गर्न टेवा मिल्ने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए । ढोरपाटनमा बर्सेनि करोडौँको आलु र स्याउ उत्पादन हुने तर सडकको अवस्था खराब हुँदा बजार पुर्‍याउन समस्या भएको उनको भनाइ छ । निर्माण कम्पनीले सडक स्तरोन्नति नगर्दा यहाँ हजारौँ नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको भन्दै यसतर्फ माथिल्लो सरकारको ध्यान जान जरूरी रहेको उपाध्यक्ष कायत बताउँछन् । उनले भने, ‘ढोरपाटन सिधा तराईसँग जोडिएको छ, यो हाम्रो लागि गौरवको विषय हो, यो सडक कालोपत्र भयो भने यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने छ, यसै पनि ढोरपाटन चर्चित छ, भविष्यमा पर्यटनमार्फत नै यस क्षेत्रका नागरिकको जीवनस्तर उकासिन्छ भन्ने विश्वास छ, तराईसँग सिधै ढोरपाटन जोडिने हुँद बसाइँसराइ पनि रोकिने छ ।’ ढोरपाटन नगरपालिका-९ का खिमबहादुर पुन मगरले पहिले आफूहरू पैदल हिँडेर ११ दिनमा बुटवल पुगेर नुन, चमल र लत्ता कपडा ल्याउने गरेको स्मरण गर्दै अहिले सडक आएपछि गाउँभरि पसल खुलेको बताए । पछिल्लो २ दशकमा ठूलो परिवर्तन आएको भन्दै कच्ची सडकका कारण ढुवानी र यात्रा गर्न असहज भएको उनको भनाइ छ । आफूहरूले यसरी विकास होला भन्ने कल्पना नगरेको पुन मगर बताउँछन् । ‘बटौली पुगेर नुन बोकेको अस्ति भर्खरजस्तो लाग्छ, अहिले उ बेलाको जस्तो नुन चामल ल्याउन बटौली जानुपर्दैन, अचेल त घरै अगाडि गाडी गुड्छन्, चाहिने सामान सबै यही ल्याउँछन्,’ उनले भने, ‘पहिले आलु, स्याउ र सिमी बिक्री हुँदैनथ्यो, अहिले गाडीमा हालेर बजार पठायो भने पैसा आउँछ, यो सडक (सालझण्डी-ढोरपाटन) पिच भयो भने सिधै तराईमा पठाउन सकिने छ, तराईको उत्पादन पनि ढोरपाटनमा सहजै आउने छ ।’ सालझण्डी-ढोरपाटन सडकले प्रसिद्ध धार्मिकस्थल लुम्बिनी र ढोरपाटन जोडेको हुँदा अब पर्यटक आगामनमा वृद्धि आउने होटल व्यवसासी गङ्गाबहादुर भण्डारीले बताए । तराई र पहाड ओहोरदोहोर गर्न यो सडक निकै छोटो हुने हुँदा व्यापारिक तथा अन्य गतिविधि बढ्ने उनको भनाइ छ । अहिले ढोरपाटन उपत्यकादेखि बुकी पाटन जाने पर्यटक कम भएको भन्दै सडकको विस्तारपछि धेरै पुग्ने भण्डारी बताउँछन् । ‘ढोरपाटन नेपालमा मात्र नभएर विश्वमै परिचित छ, वन्यजन्तुको सिकार खेल्न अहिले धेरै जसो विदेशी पर्यटक आउँछन्, सडकको सहजता बढ्दै गयो भने नेपाल भरबाट सिकारीहरू यहाँ आउने छ, पर्यटकीय हिसाबले ठूलो सम्भावन बोकेको हुँदा केही वर्षपछि ढोरपाटनमा पर्यटकले गुल्जार भन्ने छ, लुम्बिनी, ढोर बराह दर्शन गरेर उत्तरगङ्गामा स्नान गर्ने बढ्ने छ,’ उनले भने । सालझण्डी–ढोरपाटन सडक आयोजानको काम कछुवा गतिमा हुँदा पर्यटक र स्थानीयले हैरानी खेप्नुपरेको छ । आयोजना सुरू भएको १४ वर्षमा ३० प्रतिशत मात्रै सकिएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरू भएको आयोजनालाई द्रुत गतिमा अगाडि बढ्न जरूरी छ । सिकार आरक्ष जोड्ने मुख्य मात्रका रूपमा रहेको यस सडक ट्रयाक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन । यस सडक हालसम्म १८ किलोमिटर मात्रै कालोपत्र भएको छ । त्यसमध्ये रूपन्देहीमा साढे ४ किलोमिटर र अर्घाखाँचीमा साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए । अहिले पाँच वटै जिल्लाको विभिन्न खण्डमा ग्राभेलिङसहितको काम भइरहेको उनको भनाइ छ । बागलुङको बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रूपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलादेखि खुर्सानेसम्म साढे १३ किलोमिटर कालोपत्र भइरहेको थापाले बताए । पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पतौटसम्मको २२ किलोमिटर, अर्घाखाँचीको माटेदेखि भण्डारासम्म सात किलोमिटर र गुल्मीको पुर्कोटदहदेखि सिर्सेनीसम्मको १९ किलोमिटर कालोपत्र भइरहेको उनको भनाइ छ । सिर्सेनीदेखि गुल्मीको अर्खबाङसम्मको ८.२ किलोमिटर सडकसमेत कालोपत्र भइरहेको उनले बताए । अब अर्घाखाँची खण्डमा १८ किलोमिटर, गल्मी र बागलुङखण्डमा सातरसात गरी ३२ किलोमिटर सडक स्तरोन्नतिको काम अझै सुरू नभएको उनको भनाइ छ ।

शितलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडानमा समस्या

काठमाडौं । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ ।  एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो ।अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरु बताउँछन् । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या छ । अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु/कुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन । स्थानियहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ ।

विपत र व्यापारिक चार्टरमा सेनाका हेलिकोप्टर : ८ लाख बढी भाडा, ४७ वर्ष अघिदेखिको बक्यौता बाँकी

काठमाडौं । कुनै पनि आपतविपद् पर्दा होस् या रमाइलोको लागि घुम्न जानका लागि नै किन नहोस् प्रायः प्रयोग हुने भनेको हेलिकोप्टर हो । अझ बढी विपदमा प्रयोग हुने भनेको नेपाली सेनाको हेलिकोप्टर हो । नेपाली सेनासँग अहिले ८ वटा हेलिकोप्टर छन् । जसको भाडादर प्रतिघण्टाको फरकफरक छ । जसमा सबैभन्दा बढी भाडा एम.आई.१७ हेलिकोप्टरको पर्छ । यो हेलिकोप्टरको प्रतिघण्टा शुल्क ८ लाख ५७ हजार २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ । ‘एम.आइ.१७’ बलियो, भरपर्दो तथा बहुउद्देश्यीय हेलिकोप्टर हो । यो हेलिकोप्टर नेपाल, भारत, चीन, अमेरिका, अफ्रिका लगायतका देशमा प्रयोग बढी हुन्छ । यो हेलिकप्टरको मर्मत सम्भारका लागि सेनाले प्रतिघण्टा २ लाख ५९ हजार ९ सय २४ छुट्याउने गरेको छ भने प्रतिघण्टा उडानका लागि ९ हजार ४५ सय रुपैयाँको हवाई इन्धन लाग्ने गर्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो ए.एल.एच. । पहाडी भेगमा उद्धार तथा सैनिक आपूर्तिका लागि यो हेलिकोप्टरको प्रयोग गरिन्छ । योे हेलिकोप्टरको प्रतिघण्टा भाडादर ३ लाख ७० हजार २ सय ९२ रुपैयाँ निर्धारण गरिएको छ । जसको प्रतिघण्टाको मर्मतसम्भार खर्चमा १ लाख ४१ हजार ६६ रुपैयाँ खर्च छुट्याइन्छ भने प्रतिउडान ५० हजार ४ सय रुपैयाँ इन्धन खर्च लाग्छ । यस्तै, अगष्टा हेलिकोप्टरको प्रतिघण्टा ४ लाख ३८ हजार ४ सय ५४ रुपैयाँ भाडा लाग्छ । यो हेलिकोप्टरको मर्मत सम्भारमा १ लाख ५१ हजार ४७ रुपैयाँ खर्च लाग्छ भने इन्धनमा प्रतिघण्टा ६३ हजार खर्च हुन्छ । नागरिक उड्यन प्राधिकरणलाई हेलिकोप्टरले प्रति उडान १ हजार १ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था । यी सबै खर्च काट्दा यो हेलिकोप्टरको पनि ४ लाख ३८ हजार बढी भाडा पर्न जान्छ । ईक्युरेलको प्रतिघण्टा उडान भाडा २ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ निर्धारण गरिएको छ । यो हेलिकोप्टरको प्रतिडान मर्मत सम्भार गर्न ७४ हजार ८ सय ७० खर्च लाग्छ भने प्रति उडानमा २० हजार ७ सय ९० हवाइ इन्धन लाग्ने गर्छ । बेल हेलिकोप्टरको प्रतिघण्टा उडान शुल्क २ लाख २९ हजार ५ सय २७ निर्धारण गरिएको छ । जसको प्रतिउडान मर्मत सम्भारका लागि ७० हजार ९ सय ५० रुपैयाँ लाग्छ भने प्रतिघण्टाको उडानमा २१ हजार ५ सय ४६ इन्धन खर्च लाग्छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- स्काईट्रक जसको प्रतिघण्टा शुल्क ३ लाख ४६ हजार ५ सय १ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । प्रतिघण्टा उडान गरेबापत् यस हेलिकोप्टरको मर्मत सम्भारका लागि ६० हजार ४ सय ७५ रुपैयाँ लाग्छ भने प्रतिघण्टा उडानमा ६० हजार ४ सय ८० बराबरको इन्धन खर्च लाग्छ । यस्तै, ट्रेनर जहाजको प्रतिघण्टा ९८ हजार ६ सय १८ रुपैयाँ भाडा लाग्छ । जसको प्रतिउडान मर्मतका लागि २ हजार ३ सय २३ रुपैयाँ खर्च लाग्छ भने १० हजार ७ सय १० रुपैयाँको इन्धन लाग्ने गरेको छ । नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- कासा २३५ । जसको प्रतिघण्टा उडान शुल्क ७ लाख ३४ हजार ४३ निर्धारण गरिएको छ । यो हेलिकोप्टरका लागि प्रतिघण्टा उडान गरेपछि मर्मतमा ९४ हजार ९ सय २३ रुपैयाँ लाग्छ भने ७५ हजार ६ सय रुपैयाँको इन्धन लाग्छ । नेपाली सेनाका हवाइ सेवा प्रमुख आशिष नरसिंह राणाका अनुसार देशमा कुनै प्राकृतिक विपत् तथा कुनै समस्या तथा मनोरञ्जनका लागि पनि मानिसले सेनाको हेलिकोप्टर चार्टर गर्दै आएका छन् नेपाली सैनिक विमान चार्टर विकास समितिले चार्टर गरेबापतकाे आयव्ययको हिसाब राख्दै आएको छ । समितिको गत आवको मौज्दातसमेत यो वर्ष ६७ करोड १९ लाख ३१ हजार आम्दानी रहेकोमा २९ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भई ३८ करोड १५ लाख ८५ हजार रुपैयाँ मौज्दात रहेको बताइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ७ व्यक्ति, संस्था एवम् निकायबाट चार्टर भाडा ४९ लाख ६१ हजार रुपैयाँ र २०३४/३५ देखि २०७८/७९ सम्मको बक्यौता ७ करोड १७ लाख ३ हजार समेत गरी ७ करोड ६६ लाख ६४ हजार असुल हुन बाँकी रहेको देखिन्छ । बक्यौता रकम जरिवाना समेत गरी असुल गर्न महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।