नेपाल युरोपेली सङ्घको सुरक्षा सूचीबाट छिट्टै हट्ने, हवाई सुरक्षा दरमा वृद्धि

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू)को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन् । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औँ वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उनले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने र योसँगै नेपाल इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गरे । प्राधिकरण विभाजनसम्बन्धी विधेयक हालै सङ्घीय संसदमा पेस भएको छ । यसलाई संसद्को दुवै सदनले छलफल गरेर पारित गर्नुपर्ने हुन्छ । ‘नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउने हो,’ सचिव सिंहले भने, ‘उक्त विधेयक अहिले संसद्मा दर्ता भएको छ । यसमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।’ युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको छ । सन् २०१३ बाटै अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो । नेपालले पछिल्लोपटक हवाई सुरक्षा दरमा वृद्धि गरेकाले इयूको कालोसूचीबाट हट्ने सरोकारवालाको विश्वास छ । सचिव सिंहले मुलुकको आर्थिक विकासका लागि दिगो पर्यटन विकास अपरिहार्य भएको उल्लेख गरे । ‘मुलुकको दिगो विकास र रोजगारी सिर्जनाका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका छ, जबसम्म पर्यटनको दिगो विकास हुँदैन तबसम्म मुलुक समृद्ध बन्न सक्दैन,’ उनले भने, ‘नीतिगत उल्झन र संरचनागत कमजोरीका कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन भने सकेको छैन ।’ सचिव सिंहले ६० वर्षको इतिहास बोकेको नाट्टाले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय रुपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। त्यसअवसरमा पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालको पर्यटन विकासका लागि नेपालको हवाई क्षेत्र इयूको सुरक्षा सूचीबाट हट्नुको विकल्प नरहेको बताए । उनले भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गरेर हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन जरुरी भएको उल्लेख गरे । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधार जरुरी भएको खाँचो औँल्याए । नाट्टाका पूर्वकार्यकारी प्रमुख डा हरि शर्मा, नाट्टाका पूर्वअध्यक्ष परिषद्का संयोजक भोलाविक्रम थापालगायतले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिए । नाट्टा विसं २०२२ फागुन २७ गते स्थापना भएको हो । नेपालको पर्यटन प्रवर्द्धन, विकास र नीति निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । नाट्टामा हाल मुलुकभर एक हजार एक सयभन्दा बढी टूर तथा ट्राभल व्यवसायी कम्पनी आबद्ध छन् । नाट्टाले नेपालमा पर्यटन व्यवसायलाई संस्थागत गर्दै अन्तरराष्ट्रियस्तरमा नेपाली पर्यटनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्य गर्दै आएको जनाएको छ । समयानुकूल नीति निर्माण, पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम, विभिन्न अन्तरराष्ट्रिय मेलामा सहभागिता जनाउँदै सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय र सहकार्य गर्दै आएको संस्थाले जनाएको छ ।

सुर्खेतमा तारा एयरको उडान बन्द, हिमाली जिल्लामा जान नेपालगञ्जको भर  

काँक्रेविहार । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए । यसैबीच, निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेत–काठमाडौं परीक्षण उडान सम्पन्न गरेको छ । शनिबार धनगढीमा पनि परीक्षण उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ । यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार परीक्षण उडान एयरलाइन्सका प्रशिक्षक पाइलटद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले गरेका हुन् । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक, कर्मचारीलगायत प्रतिनिधिको उपस्थिति थियो । सुर्खेत र धनगढी विमानस्थललाई आगामी दिनमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताए । परीक्षण उडानको प्रतिवेदनका आधारमा नियमित उडान भर्ने तयारी गरिने उनले उल्लेख गरे । यात्रुको मागलाई मध्यनजर गरी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिइएको यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले जानकारी दिए । उनले यसबाट नियमित उडानसँगै एयरलाइन्सप्रति यात्रुको विश्वास बढ्ने धारणा राखे । यही फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्री एयरलाइन्सले उडान भर्दै आएकामा अब यति थपिएपछि टिकट सस्तो हुने अपेक्षा लिइएको छ । कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर   सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् । रासस

प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरी, छुट्टै धार्मिक महत्व

काठमाडौं । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । तीमध्ये एउटा अनुपम सौन्दर्य बोकेको पोखरी हो सिदिङवा गाउँपालिकाको कालिखोलामा अवस्थित तिम्बुङ पोखरी । सदरमुकाम फुङ्लिङबाट करिब ७ घण्टा गाडी यात्रा र एक दिनको पैदल यात्रापछि पुग्न सकिने यो पोखरी हाल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पोखरीलाई लिम्बू समुदायले ‘तिम्मक वरक’ भन्ने गर्थे । लिम्बू भाषामा‘तिम्मक’को अर्थ बन्दुक र ‘वरक’ को अर्थ पोखरी हो । किम्बदन्तीअनुसार परापूर्वकालमा यहाँबाट बन्दुक पड्किएको जस्तै आवाज आउने भएकाले यसलाई तिम्मक वरक भनिन्थ्यो, जुन अहिले ‘तिम्बुङ पोखरी’ का बारेमा जानकार इन्द्रप्रसाद बेघाको भनाइ छ । तिम्बुङ पोखरी प्राकृतिक रूपमा अनुपम त छँदैछ, धार्मिक हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ । जनविश्वासअनुसार यहाँ वरदान मागेमा पूरा हुन्छ । पौराणिक कथाअनुसार देवीदेवताहरू घना बस्तीका कारण स्वच्छ वातावरण खोज्दै हिँड्दा यो स्थानमा बसोबास गर्न पुगेका थिए । त्यसैले पनि यो ठाउँ आध्यात्मिक रूपमा पवित्र मानिन्छ । हिमाली क्षेत्रकै सुन्दर पोखरीमध्ये एक मानिने तिम्बुङ पोखरी ४ हजार ३५० मिटर उचाइमा अवस्थित छ । पोखरीको पानी स्वच्छ, नीलो र मनमोहक देखिन्छ, जसले आगन्तुकलाई लोभ्याउने गर्छ । हिमाली हावापानी, अग्ला पहाड, शीतल बतास र सुगन्धित जडीबुटीको सुगन्धले यहाँको वातावरणलाई स्वर्गीय बनाएको छ । सरकारले २०७५ सालमा नेपालका १ सय नयाँ पर्यटन गन्तव्य पहिचान गर्दा तिम्बुङ पोखरीलाई पनि समावेश गरेको थियो । त्यसयता यहाँ आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि अझै पनि पर्याप्त लगानी र प्रचारप्रसारको अभाव देखिन्छ । हालसम्म आउने पर्यटकको अनुभव भने रोमाञ्चक छ । ‘यस्तो सुन्दर पोखरी देख्न पाइने कल्पना पनि गरेको थिइन, कठिन यात्रा भए पनि यहाँ आएपछि प्रकृतिको काखमै हराएको अनुभूति हुने गरेको छ,’ तिम्बुङ पोखरी पुगेकी पवित्रा साउदेनले भनिन् । पर्याप्त पूर्वाधार नहुँदा धेरै सम्भावना भएको यो ठाउँ अझै ओझेलमा परेको उनी बताउँछिन् । उचित प्रवद्र्धन भएमा पर्यटनको मुख्य केन्द्र बन्नसक्ने झापाबाट तिम्बुङ पोखरी घुम्न आएका आन्तरिक पार्यटक माङ्गा उराउ बताउँछन् । स्थानीय पालिकाले आफ्नै स्रोतबाट यो क्षेत्रमा केही लगानी गर्नसकेमा पर्यटनबाट आन्तरिक आम्दानीको राम्रो स्रोत बन्नसक्ने सुनसरीबाट घुम्न आउनुभएका पर्यटक घनश्याम साहको भनाइ छ । तिम्बुङ पोखरीको संरक्षण र प्रवद्र्धनका लागि एक संरक्षण समिति गठन गरिएको छ । समितिले तीनै तहका सरकारसँग समन्वय गरेर विकासका केही काम अघि बढाइसकेको छ । पाँचथर र ताप्लेजुङ दुवै जिल्लाबाट पोखरी पुग्न पैदलमार्ग निर्माण गरिएको छ । पोखरीबाट ढुङ्गाको सोलिङ र सिँढी निर्माण गरिएको छ । थप पूर्वाधार विकासका लागि आवश्यक समन्वय भइरहेको संरक्षण समितिका सल्लाहकार कैलाश राई बताउँछन् ।