ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने उनले बताए । स्थानीय सरकारका रूपमा स्थानीयको आन्तरिक आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धन गर्ने दायित्व नगरको भएकाले लगानीकर्तालाई प्रोत्साहन गरिएको मादेनले बताए । उनले ‘नो केबलकार’ समूहलाई सार्थक संवादमा आउन र जिल्लाको समृद्धिमा सहयोग पुर्याउन आग्रह गरे । उनले निर्माणमा अवरोध नगरी भावि सन्ततिका लागि सहमतिमा आउन नो केबलकार समूहलाई आग्रह गरे । पत्रकार सम्मेलनमा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बूले केबलकार निर्माणमा एकमत हुनु आवश्यक रहेको बताए । केबलकार निर्माण हुनुपर्छ भन्नेमा आफूहरूको मत रहेको भन्दै उनले विकास निर्माणमा अवरोध नगर्न ‘नो केबलकार’ समूहलाई आग्रह गरे । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष खड्गविक्रम सुवेदी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्कीलगायत वक्ताले विद्यमान समस्या र विवाद छलफल र वार्ताका माध्यमबाट समाधान गरेर विकास निर्माणमा एकताबद्ध हुनुपर्नेमा जोड दिए । फुङ्लिङ नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडाध्यक्ष मोहन न्यौपाने, टङ्क पालुङ्वा, दुर्गाप्रसाद पालुङ्वा, मदन गुरूङ, योगेन्द्रप्रसाद निरौला, लक्ष्मण गुरूङ, युवराज भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले सहमति र वार्तामार्फत केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । पाथीभरा क्षेत्रमा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विरोध हुँदै आएको छ । मुकुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समितिलगायत सङ्घसंस्थाले केबलकार निर्माणको विरोध गरिरहेका हुन् । यसअघि सरकारसँग भएका वार्ता, संवाद निष्कर्षविहीन भएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी निर्माणको वातावरण बनाउन र सार्थक वार्ता संवादमा आउन ‘नो केबलकार’ समूहलाई आग्रह गरेको हो । नगरपालिकाले विभिन्न पक्षसँग संवाद गरी सहमतिका आधारमा परियोजनालाई अघि बढाउने योजना रहेको जनाएको छ ।
धरहरा चढ्ने समय बढ्यो, तीन महिनामा डेढ करोड राजस्व संकलन
काठमाडौं । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत १ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताए । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक १ हजार २ सयको हाराहारीमा रहेको उनले जानकारी दिए । पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय रुपैयाँ र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क रहेको अर्यालले बताए । उनका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको निर्देशक अर्यालले उल्लेख गरे ।
बुद्ध र यती एयरको भ्यालेन्टाइन डे अफरः जोडी यात्रुलाई १ हजार ४ सय रुपैयाँसम्म छुट
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर, यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई १ हजार ४०० रुपैयाँसम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् । एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।