१३ करोडमा ठेक्का लगाउँदै त्रिभुवन विमानस्थलको पार्किङ्ग, एउटै सवारीबाट ९ सय रुपैयाँसम्म शुल्क

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ्ग क्षेत्र झण्डै १३ करोड रुपैयाँ भाडामा ठेक्का दिइने भएको छ । सवारी पार्किङ्ग शुल्क असुल गर्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेशन एयरलाईन्स भवन अगाडी तथा आन्तरिक टर्मिनल भवन अगाडीको क्षेत्र भाडामा दिने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले तोकिएको ७७५५.४ वर्गमिटर क्षेत्रफल रहेको पाकिङ्ग क्षेत्रमा सवारी साधन विशान सेवा शुल्क उठाउन ठेक्कामा भाडामा दिन लागिएको जनाएको छ । कार्यालयका अनुसार सवारी साधन विसान शुल्क उठाउने सेवा सञ्चालनको ठेक्का अवधि ३ वर्षको हुनेछ । साथै, कार्यालयले ३ वर्षको लागि न्यूनतम १२ करोड ९८ लाख १६ हजार रुपैयाँमा सो क्षेत्र भाडामा ठेक्का लगाउने भएको हो । उक्त क्षेत्रमा पार्किङ्ग सेवा शुल्क उठाउन इच्छुक व्यक्ति तथा कम्पनीले चैत १९ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । साथै, बोलपत्र पेस गर्दा आफूले कबोल गरेको बहाल रकमको ५ प्रतिशत रकम कार्यालयको बैंक खातामा जम्मा गर्नुपर्नेछ । बोलपत्र फाराम खरिद शुल्क भने ११ हजार ३ सय रुपैयाँ तोकिएको छ । कार्यालयका अनुसार पार्किङ्ग क्षेत्र भाडामा लिइसकेपछि मोटरसाईकल, स्कुटर, रिक्साको प्रतिघण्टा ४० रुपैयाँ र प्रतिदिन २४० रुपैयाँ शुल्क उठाउनुपर्नेछ । यस्तै, कार, जिप, लिमोजिन, टेम्पोको प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, हल्का सवारी साधन मिनिबस, माइक्रोबसको प्रतिघण्टा १ सय रुपैयाँ तोकिएको छ भने प्रतिदिन ६ सय रुपैयाँ तोािकएको छ । बस ट्रक (गह्रौं सवारी साधन)को प्रतिघण्टा १५० रुपैयाँ र प्रतिदिन ९ सय रुपैयाँ पार्किङ्ग शुल्क असुल गर्न पाउनेछ । एम्बुलेन्स बाहक यात्रु, सववाहन जस्ता आपतकालीन उद्धारमा प्रयोगमा हुने सवारी साधनहरु डिप्लोमेटिक यूएन एजेन्सी र प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधनबाट शुल्क उठाउन पाईने छैन । नियमित रूपमा विसान गर्ने सवारी साधनको एकमुष्ठ मासिक दरले अग्रिम बुझाउनेलाई ३० दिनको लागि लाग्ने दस्तुरको दुई तिहाईले हुन आउने रकम मात्र लाग्ने छ ।

नेपाल-अमेरिका व्यापारिक सम्बन्ध सुदृढ बनाउँदै एमच्याम

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले अमेरिकासँग व्यापारिक सम्बन्ध सुदृढ बनाउनका लागि पहल गरेको छ । अमेरिका भ्रमणका क्रममा एमच्यामको प्रतिनिधिमण्डलले वासिङ्टन डिसीमा दुई मुलुकबीचको आर्थिक सहकार्यलाई अघि बढाउन महत्त्वपूर्ण छलफल गरेको हो । सो क्रममा नेपाली प्रतिनिधिमण्डलले अमेरिकी सरकारी निकाय, व्यवसायी र नीति निर्माण तहका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गरेको थियो । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, मोघा इनर्जीका सिइओ सम्राथ मोघा र एमच्याम नेपालका महाप्रबन्धक अमिरराज थापाको टोलीले अमेरिकी विदेश मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, अमेरिकी व्यापार तथा विकास संस्था, अमेरिकी चेम्बर अफ कमर्स र विश्व बैङ्कका उच्च अधिकारीहरूसँग दुई पक्षीय आर्थिक सम्बन्धबारे छलफल गरेको थियो । एमच्यामको प्रतिनिधिमण्डललाई स्वागत गर्दै अमेरिकी विदेश मन्त्रालयका एक्टिङ डेपुटी असिस्टेन्ट सेक्रेटरी अला कमिन्सले नेपाल अमेरिकाबीच आर्थिक गतिशीलता र आपसी समृद्धिमा जोड दिएका थिए । उक्त कार्यक्रममा अमेरिकी वाणिज्य विभागको अन्तर्राष्ट्रिय व्यापार प्रशासनका कार्यवाहक निर्देशक क्रिस एशले नेपाल अमेरिकाबीचको व्यापार अवरोध हटाउने एवं व्यापारिक अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाए । एशले भने, ‘नयाँ प्रशासनले व्यापारमा अवरोध हटाउने र नेपाल–अमेरिकाबीचको व्यापारिक अवसरलाई वृद्धि गर्ने प्रतिबद्ध छ ।’ निर्देशक एशले एमच्याम नेपाललाई व्यापारिक सम्बन्ध विस्तारमा नेतृत्वदायी भूमिका खेल्न प्रोत्साहित समेत गरेका छन् । अमेरिकी वाणिज्य विभागका कार्यवाहक निर्देशक नाओमी विग्लरले एमच्याम नेपाललाई सम्भावित व्यापार साझेदारसँग जोड्ने, लगानी अवसरको प्रवर्द्धन गर्ने र नेपालमा अमेरिकी व्यवसायहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सो भेटमा आर्थिक सल्लाहकार सारा एन्डरसन र विदेश मन्त्रालयका नेपाल डेस्क अफिसर सिन कोम्बर पनि सहभागी थिए । नेपाली दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले अमेरिकी सरकारलाई दूतावासको तर्फबाट धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको लामो समयदेखिको कूटनीतिक साझेदारीको प्रशंसा गरे । उनले आइटी क्षेत्र विशेष गरी एआई प्रवर्द्धनमा सीप अभिवृद्धि र प्रमाणीकरणका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले अमेरिकी सरकारलाई यस क्षेत्रमा गरेको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनको साझेदारीका लागि तत्पर रहेको बताएका थिए । एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । नेपालमा रहेको अमेरिकी दूतावासमार्फत आर्थिक र सामाजिक क्षेत्रमा भएको सहयोगको सराहना गर्दै शाहले उद्योग–केन्द्रित व्यापार विकासमा थप सहयोगका लागि आग्रह गरेका थिए । अमेरिकी जलविद्युत् विकासकर्ता सम्राथ मोघाले नेपालमा अमेरिकी लगानी आकर्षित गर्न कर सुधारको आवश्यकतामा जोड दिए । उनले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) लाई सहज बनाउन र अमेरिकी व्यवसायहरूको प्रतिफल सुनिश्चितताका लागि नीतिगत पहल गर्न आग्रह गरे । एमच्याम नेपालका महाप्रबन्धक अमिरराज थापाले नेपालमा अमेरिकी व्यवसाय, रोजगारी सिर्जना, र प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्न एमच्याम नेपालले सञ्चालन गरेका प्रयासहरूबारे जानकारी गराएका थिए । उनले अमेरिकी चेम्बर अफ कमर्सको छत्रछायामा द्विपक्षीय व्यापारिक साझेदारीलाई सुदृढ बनाउन एमच्यामको प्रतिबद्धता दोहोर्याएका थिए । एमच्यामको प्रतिनिधिमण्डलले राष्ट्रिय सुरक्षा परिषद्का ग्रेग डी। पाइप र राजन नाथानिएलसँगको भेटमा व्यापार सहजीकरण र नीतिगत स्थिरताका लागि प्रतिबद्धता जनाएका छन् । यस्तै प्रतिनिधिमण्डलले युएसटीडिएका निर्देशक भेरिन्डा फाइक र प्रबन्धक अन्ना पिट्जरसँगको छलफलमा नेपाल र अमेरिकी व्यवसायहरूबीच आर्थिक सहकार्य गर्नुपर्ने बताएका थिए । अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग एमच्याम नेपालले आइसिटी, ऊर्जा, पर्यटन, आतिथ्य, निर्माण, फिनटेक, कृषि व्यवसाय, र सेवा क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गरेको छ । अमेरिका नेपालका लागि चौथो ठूलो व्यापार साझेदार राष्ट्र समेत हो । अमेरिकासँग गत वर्ष २०२३(२४ मा नेपालले ४१४५ मिलियनको आयात र ४१२८ मिलियनको निर्यात गरेको थियो । दुई मुलुकबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउँदा व्यापार वृद्धिसँगै नेपाललाई विकासशील राष्ट्रको दिशामा अघि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । एमच्यामको प्रतिनिधिमण्डलले विश्व बैङ्क समूह, अमेरिकी कोष विभाग र अन्तर्राष्ट्रिय वित्त निगमका प्रतिनिधिहरूसँग पनि नेपालको आर्थिक सम्भावनाहरूबारे छलफल गरेको थियो । साथै, अमेरिकी चेम्बर अफ कमर्समा एमच्याम नेपालले दुवै राष्ट्रबीचको व्यापारिक सम्बन्धलाई गतिशील बनाउन गरिएका प्रयासहरूको अद्यावधिक जानकारी दिइएको थियो । नेपाली प्रतिनिधिमण्डलले एमसिसी कम्प्याक्ट व्यापार वृद्धि र नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनका लागि एक महत्त्वपूर्ण पहल भएको उल्लेख गरेको छ । एमसिसी परियोजनामा अमेरिकाबाट ५० अर्ब र नेपालबाट १३ अर्ब रुपैयाँको लगानीमा बन्ने एमसिसी परियोजना सफल हुने विश्वास गरिएको छ । व्यापारिक कूटनीतिका एक प्रवर्तकको रूपमा एमच्याम नेपालले यसलाई सफलतापूर्वक कार्यान्वयन गर्नु भविष्यको आर्थिक प्रगतिको मुख्य आधारका रूपमा हेरिने दुवै देशका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अमेरिकी आर्थिक सहयोगले अवसरहरू विस्तार गर्ने, जनताको विश्वास निर्माण गर्ने र द्विपक्षीय साझेदारीलाई सुदृढ पार्ने र नेपालको दीर्घकालीन समृद्धिलाई प्रवर्धन गर्ने एमच्यामद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । व्यापारिक कूटनीतिमा सक्रिय भूमिका खेल्दै एमच्याम नेपालले आर्थिक गतिशीलता, नवप्रवर्तन, र दिगो व्यापारिक वृद्धिका लागि आधारशिला तयार गर्दै नेपाल र अमेरिकाबिचको पुरानो मित्रतालाई अझ बलियो बनाउँदै जाने एमच्यामले उल्लेख गरेको छ ।

हिमाल खुलेसँगै अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने, ‘शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रन्छन् ।’ अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् । अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए । गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तरर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए । अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए । उक्त सङ्ख्या हालसम्मकै बढी रहेको आयोजना प्रमुख डा. रविन कडरियाले बताउनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्षअर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा कडरियाले बताए । उनका अनुसार ‘एक्याप’ ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द लिन पर्यटक पदयात्रामा जाने गरेका छन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण क्षेत्र पदयात्राका लागि उत्कृष्ट मानिन्छ ।