टेलिकमको सुस्ततामा नियामकको प्रश्न, अघि बढेका प्रोजेक्टले गति नलिँदा आम्दानी घटेको तर्क

काठमाडौं । नेपाल टेलिकमको कार्य सुस्ततामा नियामक निकाय र तालुकदार निकायले प्रश्न उठाएका छन् । आइतबार नेपाल टेलिकमकाे १९औं वार्षिकोत्सव कार्यक्रममा आफ्ना धारणा राख्दै नियामक तथा तालुकदार निकायले टेलिकमको काममा सुस्सता आएको बताएका हुन् । कम्पनीको कारोबार र नाफाको आकारमा समस्या आउनुको कारण कम्पनीले आफूलाई सापेक्षिक रुपमा अगाडि बढाउन नसक्दा भएको तालुकदार निकाय र नियामक निकायका व्यक्तिहरुले धारणा राखेका छन् । नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रमकी प्रमुख अतिथि तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले दुर्गमका कार्यालयमा कर्मचारीको अभावमा टेलिकमले सेवा प्रभावकारी दिन नसकेको बताएकी थिइन् । ‘न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादन हासिल गरी ग्राहक सेवालाई गुणस्तरीय सस्तो र सर्वसुलभ बनाउँदै कर्मचारीको सेवासुविधालाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु दायित्व नेपाल टेलिकमसँग छ’, उनले भनिन् । यसका लागि उच्च व्यवस्थापनदेखि सबै तहका नेतृत्वले गर्नुपर्ने काम स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल टेलिकम कम्पनी लिमिटेडका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पछिल्लो समयमा बढेको प्रतिस्पर्धाका आधारमा काम गरेर टेलिकम अगाडि बढ्नसक्नुपर्ने धारणा राखे । टेलिकमले अगाडि बढाएका प्रोजेक्टहरुमा भएको ढिलाइको कारण नै पछिल्लो समयमा आम्दानी घटेको अर्यालको तर्क छ । त्यस्तै, नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नको लागि स्तरवृद्धि, फाइभजी परीक्षण र अप्टिकल फाइबर बिछ्याउने काम ढिला गरेको नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन् । खनालका अनुसार टेलिकमले प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरिरहेको छ । ‘२ वर्ष अगाडि नै प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम शुरु भएकोमा अहिलेसम्म पनि काम सम्पन्न भएको छैन, ढिलो भइरहेको छ, छिटो गर्न अनुरोध गर्छु’, अध्यक्ष खनालले भने । सबै जिल्लामा फाइबर नेटवर्क विस्तार गर्नुपर्ने काम बाँकी नै रहेको उनको भनाइ थियो । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले भने काठमाडौं रिङरोड भित्र नै टेलिकमको फोरजी सेवा प्रभावकारी नभएको बताएका छन् । ‘रिङरोड भित्रै सबै ठाउँमा यस सेवा उपलब्ध छ ?’, उनले पुनः प्रश्न गरे, ‘गुणस्तरीय सेवा दिन नसक्ने हो भने यही प्रयोग गर्नुपर्छ ?’ पछिल्लो समयमा पटक–पटक सेवा अवरुद्ध भएको विषयमा अध्यक्ष खनालले टेलिकमको ध्यानआकर्षण गराएका थिए । उनले ग्राहक बढीरहेको तर टेलिकमको आम्दानी घटीरहेको विषयमा खोजी हुनुपर्ने समेत धारणा राखे । टेलिकम १९ वर्ष अगाडि कम्पनीमा रुपान्तरण हुँदा ४ लाख २२ हजार ग्राहक संख्या थिए भने सिमित प्रकारका सेवा मात्रै उपलब्ध गराउने अवस्था रहेको थियो । अहिले टेलिकमले भ्वाईस सेवा देखि इन्टरनेट सेवा सम्म आधा दर्जन भन्दा धेरै सेवा २ करोड भन्दा धेरै नेपालीहरुसमक्ष पुर्याउने काम गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७५/०७६ मा ९ अर्ब ७५ करोड, ०७६/७७ मा ९ अर्ब ७४ करोड र ०७७/०७८ मा ७ अर्ब १२ करोड नाफा गरेको थियो । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा जसमा खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसमम्म अर्थात २१ अर्ब ८० करोड आम्दानी गरेको छ । कम्पनीको आम्दानी र नाफाको ५ वर्षको आंकडालाई हेर्दा पछिल्लो समयमा ग्राहक र क्षेत्र विस्तार भएपनि टेलिकमको आम्दानी तथा नाफा भने तुलनात्मक रुपमा बढ्न सकेको छैन् । टेलिकमले फाइभ सेवा सञ्चालनको लागि परीक्षणको कार्य अगाडि बढीरहेको बताएको छ । तर, नेपाल टेलिकमलाई निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउँदा समेत फाइभ परीक्षणमा ढिलाई भइरहेको प्राधिकरणका अध्यक्षले बताएका छन् । स्रोत साधनमा सम्पन्न भएर पनि टेलिकमले समय सापेक्ष विकास गर्न नसकेको र पछिल्लो समयमा आम्दानी घट्दै गइरहेकोमा सम्बद्ध सम्पूर्ण क्षेत्रका व्यक्तिहरुले चिन्ता प्रकट गरेका छन् । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले पूर्वाधारमा टेलिकम निकै धनी भएको तर आम्दानी भने कम भइरहेको भन्दै कटाक्ष व्यक्त गरेका थिए । ‘फाइभजी सेवा प्राविधिक रुपमा नै फरक आर्किटेक्चर सञ्चालन हुने भएकाले अहिले टेलिकमसँग भएका पूर्वाधार प्रयोगमा आउने नआउने, स्तरोन्नती गर्नुपर्ने वा नपर्ने र विस्थापन गर्नुपर्ने वा नपर्ने’ विषयमा विश्लेषण कार्य भइरहेको टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेलले उल्लेख गरेका छन् ।

काठमाडौंको बबरमहल र सुन्धारामा फाइभजी परीक्षण गर्दै एनटीसी

काठमाडौं । आजदेखि नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण सुरु गरेको छ । टेलिकमले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको हो । आजदेखि आन्तरिक परीक्षण सुरु भएतापनि ग्राहकले त्यसको उपयोग गर्न पाउने छैनन् । फाइभजी नेटवर्कको आन्तरिक परीक्षण कम्पनीले आफ्नो बबरमहल र सुन्धारा स्थित कार्यालयबाट गर्दैछ । साथै केही समयपछी पोखरामा पनि परीक्षण थालिने कम्पनीले जनाएको छ । टेलिकमले भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा यो सेवाको परीक्षण हुने जनाएको छ । यसअघि नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको भएपनि बजारमा डिभाइस कम हुँदा परीक्षण स्थगित गरेको थियो । फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको त्यस बेला जानकारी दिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीका लागि २६०० फ्रिक्वेन्सीको अनुमति दिएको छ ।

नेपाल टेलिकम २० औं वर्षमा प्रवेश : साढे ८ अर्ब नाफा, २ करोड इन्टरनेट डाटा ग्राहक

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) १९ औं बर्ष पुरा गरी २० औं बर्षमा प्रवेश गरेको छ । दूरसञ्चार क्षेत्रलाई प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक सेवा उपलब्ध गराईरहेको कम्पनी आजदेखि २० औं वर्षमा प्रवेश गरेको हो । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमले वि.सं. १९७३ मा ओपन वायर म्यग्नेटो सिस्टम प्रयोग गरेर दूरसञ्चार सेवा सुरु गरेको थियो । वि.सं.१९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं.१९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं.१९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा उपलब्ध हुन थालेको थियो । वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई आकाशवाणी हेड अफिस’को नामबाट चिनिन्थ्यो । वि.सं.२०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो । यस विभागलाई वि.सं.२०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत गरिएको थियो । यसअघि नेपाल दूरसञ्चार संस्थान रहेको थियो । पछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएपछि आफ्ना व्यावसायिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भएको हो । सरकारको पूर्ण स्वामित्व रहेको संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो । देशको सहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले सन् १९१६ मा पहिलोपटक काठमाडौंमा टेलिफोन लाइनको स्थापना गरेको थियो भने सन् १९१७ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म ओपनवायर ट्रंक लाइन स्थापना गरेको थियो । कम्पनीले सन् १९५५ मा मात्रै सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा उपलब्ध गराएको थियो । सन् १९८३ मा आएर कम्पनीले पहिलो पटक डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना गरेको थियो । झण्र्ड २० वर्ष अर्थात् सन् १९९९ मा जीएसएम मोबाइल सेवा र सन् २००० मा इन्टरनेट सेवा शुरुवात गरेको हो । कम्पनीले मंसिर मसान्तसम्म २ करोड १३ लाख २५ हजारभन्दा बढीग्राहकलाई भ्वाइस सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १ लाख ६ हजार, सीडीएमए सेवाका ४ लाख ३७ हजार र पीएसटीएन सेवाका ग्राहक ४ लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार ११४ रहेका छन् भने एफटीटीएच डाटाका ग्राहक २ लाख ११ हजार ५७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार छन् । गत असोजसम्म दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । कम्पनीले मंसिर मसान्तसम्म कुल २ करोड ६ लाख १८ हजार ६ सयभन्दा बढी ग्राहकलाई इन्टरनेट डाटा सेवा प्रदान गरिरहेको छ । जसमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १ लाख ८६ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता ७ हजार र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ११ हजाररहेका छन् । यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता १५ हजार ४५७ छन् । गत आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको ४४ अर्ब ३७ अर्ब रुपैयाँ कूल राजश्व रहेको छ । जसमा ८ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ । देशका सबै स्थानमा दूरसञ्चार सेवाको पहुँच पुर्याउन र डिजिटल डिभाइड न्यूनीकरण गर्न दूरसञ्चार पूर्वाधारहरु निर्माण कार्यलाई तीव्रता दिएको छ । समिक्षा अवधिमा ७७ वटै जिल्लाका ७३९ स्थानीय तहहरुमा फोरजी एलटीई सेवाको पहुँच स्थापित गरिसकेको छ । हाल थ्रीजी सेवा उपलब्ध भइरहेका १४ वटा स्थानीय तहहरुमा पनि फोरजी सेवा पुर्याउन अध्ययन भइरहेको कम्पनीले बताएको छ । फोरजी विस्तार कार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ । कम्पनीका अनुसार फाइबर नेट ६८ जिल्लामा पुगेको छ । कम्पनीले मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १ मा कुल ५५ किमी र सुदूरपश्चिम प्रदेशमा कुल २०१  किमी अप्टिकल फाइबर नेटवर्क सञ्चालनमा ल्याएको छ । हालसम्म १ हजार १४४ किमी फाइबर नेट विस्तार कार्य सम्पन्न भइसकेको कम्पनीले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसा १० जीबीपीएस ब्याकबोन नेटवर्कलाई पूर्ण रुपमा विस्थापित गरी १०० जीबीपीएस ब्याकमोन नेटवर्क सञ्चालन गरिएको छ ।