भीपीएनको प्रयोगले खाताबाट पैसा चोरी हुने जोखिम, गोपनीयता भंग हुन सक्ने

काठमाडौं । सरकारले वैद्यानिक रुपमा भिडियो प्लेटफर्म टिकटक बन्द गरेपछि त्यसलाई प्रयोग गर्ने विषयमा केही मानिसहरूले विकल्प खोजिरहेका छन् । केही व्यक्तिहरूले भचुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर पनि प्रतिबन्धित वेबसाइट र एप्लिकेसनहरु चलाउन सकिने मत व्यक्त गरिरहेका छन् । साथै केही व्यक्तिहरूले भिपिएनको प्रयोग गरेर टिकटक चलाइ रहेका पनि छन् । तर, भिपिएनको प्रयोग गरेर मोबाइल चलाउँदा मोबाइलमा रहेका सम्पूर्ण तथ्यांकहरू चोरी हुने र भिपिएन प्रयोगकर्ताहरुलाई जोखिम हुनसक्ने देखिएको छ । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबीचको सञ्जाल स्थापित गर्ने प्रविधि हो । भिपिएनले धेरै साइटहरुलाई जोड्ने, तेस्रो पक्षलाई पनि इन्टरनेटमा पहुँच दिने, अव्यवस्थित डिभाइसहरुलाई सपोर्ट गर्ने र आइओटी डिभाइस जोड्न सहयोग पुर्याउने काम गर्छ । जसले गर्दा भिपिएनको प्रयोग प्रयोगकर्ताको लागि असुरक्षित हुन पुग्छ । यही वर्षमा २३८ जना आइटी व्यवसायी, साइबर सेक्युरिटी एक्सपर्ट र प्रयोगकर्ताहरूमा गरिएको सर्वेक्षणले भीपीएनले साइबर क्षेत्रमा सुरक्षा चुनौती दिएको प्रतिवेदन बाहिरिएको छ । सन् २०२३ को भिपिएन जोखिम प्रतिवेदनले भिपिएन असुरक्षित रहेको औंल्याएको छ । सर्वेक्षणमा ८८ प्रतिशत संस्थाहरुले भीपीएनले न्यून देखि उच्च स्तरको सुरक्षा जोखिमको वातावरण निम्त्याउन सक्ने जनाएका छन्। त्यस्तै, सर्वेक्षणमा सहभागी ४५ प्रतिशतले पछिल्लो १२ महिनामा भिपिएनको जोखिमको कारण भाइरस आक्रमण भएको बताए । भिपिएनमा भएको जोखिमका कारण हुने गरेको साइबर आक्रमणलाई रोक्न तत्काल यसको संरचनालाई नै सम्बोधन गर्नुपर्ने रिपोर्टले औंल्याएको छ । सर्वेक्षणमा सहभागी ८४ प्रतिशत प्रयोगकर्ताले भिपिएनले मोबाइलका आधारभूत एप्लिकेसनमा पहुँच राख्न सक्ने बताएका छन् । पछिल्लो वर्षमा दुई संस्थाले भिपिएनबाट सम्बन्धित भएर गरिएको प्रत्यक्ष साइबर हमलाको सामना गरेका थिए । भीपीएनमा तेस्रो पार्टीले उपलब्ध गराउने सेवामार्फत् उनीहरुले प्रयोगकर्ताको उपकरणमा राख्ने पहुँचमा गम्भीर सुरक्षा चुनौती रहेको भीपीएन जोखिम प्रतिवेदन २०२३ ले औंल्याएको छ । त्यस्तै, काठमाडौं, कमलपोखरी स्थित सञ्चालनमा रहेको आइआइएमएस कलेजका साइबर सेक्युरिटी मोड्युलेटर अपूर्व नेपालले पनि आम मानिसहरूले भिपिएन प्रयोग गरेर मोबाइल सञ्चालन गर्ने विषय निकै जोखिमपूर्ण हुने बताएका छन् । उनले भिपिएन प्रयोग गर्दा व्यक्तिका सम्पूर्ण क्रियाकलाप र तथ्यांकहरु भिपिएन सेवा उपलब्ध गराउने कम्पनीको मातहतमा जाने बताएका छन् । ‘भीपीएन प्रयोग गर्नु भनेको एक हिसाबले सो कम्पनीको अधिनमा बस्नु हो’, उनले भने, ‘भिपिएनले प्रयोगकर्ताहरुको हरेक क्रियाकलापलाई अध्ययन गर्न सक्छ ।’ मोड्युलेटर नेपालले भिपिएनले प्रयोगकर्ताहरुको लगइन, पासवर्ड लगायतका नितान्त व्यक्तिगत र गोप्य तथा तथ्यांकहरु समेत लिन सक्ने बताएका छन् । उनका अनुसार भीपीएन मोबाइलमा इन्स्टल गर्दा त्यसले अन्य एप्लिकेशनलाई पनि आफ्नो निगरानीमा राख्छ । त्यसमा भएको तथ्यांकलाई उसले सजिलै प्राप्त गर्न सक्ने जोखिम भएको उनको भनाइ छ । प्रयोगकर्ताले मोबाइलमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पनि प्रयोग गरिरहेका हुन्छन् । त्यसलाई पनि भीपीएनले सहजै आफ्नो निगरानी गर्न सक्छ । त्यसैले पनि प्रयोगकर्ताको मोबाइलमा भएको बैंक खातालाई भीपीएनले सजिलै आफ्नो निगरानीमा राख्ने सक्ने अनुमान आईटी विशेषज्ञहरूले गरेका छन् ।  

नेपाल क्लियरिङ्ग हाउसको ३० प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो साधारणसभा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको २८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.५० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १७ गते होटल र्याडिसन काठमाडौंमा दिउँसो साढे १२ बजे १२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । साथै, कम्पनीको चुक्ता पुँजी २ अर्ब पुर्याउने प्रस्ताव गरेको छ । यस्तै, कुनै कम्पनी गाभ्ने वा मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

एनसेलद्वारा कर्णाली प्रदेश सरकारलाई ५० लाखको चेक हस्तान्तरण

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न गरेको प्रतिबद्धता बमोजिम कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकहरुलाई ४० लाख ब्यालेन्स बराबरको सेवाहरु निःशुल्क उपलब्ध गराएको जनाएको छ । एनसेलले बिहीबार आफ्नो प्रतिबद्धता अनुरुप कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेत पुगेर   ५० लाखको चेक हस्तान्तरण गरेको हो । चेक एनसेलका तर्फबाट एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री कृष्ण बहादुर बिसीलाई हस्तान्तरण गरेका थिए । ‘विपद्को यस घडीमा कर्णालीलाई सम्झिनु भएकोमा धन्यवाद । यस किसिमको संकटका बेलामा एनसेलले सरकारलाई विगतमा पनि सहयोग गदै आएको कुरा हामीलाई अवगत छ र उद्धार, राहत, पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठुलो अर्थ राख्दछ’  मन्त्री बिसीले भने । कर्णाली प्रदेशमा विपद् प्रतिकार्यहरुमा आफ्नो तर्फबाट एनसेलले कसरी सहयोग पुर्याउन सक्छ भन्नेबारेमा सम्बन्धित अधिकारीहरूसँग छलफल जारी राखेको जनाइएको छ । ‘यस प्रकारको कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी कामगर्दा स्थानीय समुदायमा पुग्न र उनीहरूलाई छिट्टै सहयोग प्रदान गर्न मद्दत पुग्ने कुरामा हामी विश्वास राख्दछौं,’ एनसेलका चिफ रेगुलेटरी एण्ड लिगल अफिसर विशाल उपाध्यायले भने । यस सहयोगसँगै भुकम्पपीडितको सहयोगमा एनसेलको सहयोग भन्डै १ करोड पुगेको छ । विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति एनसेल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस दुखद् घडीमा एनसेल भूकम्प प्रभावित जिल्लाका जनताहरुको साथ रहेको कम्पनीले जनाएको छ ।