सरकारले भीपीएन पनि बन्द गर्ने, समितिले अध्ययन गर्दै
काठमाडौं । सरकारको निर्णयमा टिकटक सेवा बन्द गराएको नेपाल दूरसञ्चार प्राधिकरणले भीपीएन समेत बन्द गर्ने तयारी गरेको छ । सरकारको निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गराउनको लागि प्राधिकरणले भीपीएन सेवा समेत बन्द तयारी गरेको हाे । सरकारको निर्णय कार्यान्वयन भए/नभएको विषयमा अध्ययन गर्नको लागि प्राधिकरणले शुक्रबार निर्देशक बिजयकुमार रायको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । निर्देशक रायकाअनुसार सो समितिले अहिले टिकटक पूर्ण रुपमा प्रतिबन्ध भए/नभएको अवस्थालाई अध्ययन गरिरहेको छ । सो समितिले आगामी बिहीबारसम्म अनुसन्धानको काम गरेर प्राधिकरणलाई प्रतिवेदन बुझाउने उनले बताएका छन् । समितिले टिकटक पूर्ण रुपमा बन्द भएन/भएको र बन्द गर्नका लागि आवश्यक चाल्न सकिने कदमका बारेमा प्रतिवेदनमा सुझाव उल्लेख गर्ने निर्देशक रायले बताए । ‘भीपीएन सामान्यतया प्रयोग गर्न नहुने एप हो, त्यसले पनि जोखिम निम्त्याउँछ’, उनले भने, ‘भिपिएन प्रयोगको कोणबाट पनि हामीले हेरिरहेका छौं, टीकटक कुनै पनि एपबाट चल्नु भएन भन्ने हो ।’ प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले भीपीएन पनि बन्द गर्न सकिने बताए । उनले नेपालमा कुन-कुन भीपीएन बढी प्रयोग भइरहेको छ भन्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए । ‘भीपीएन धेरै चलेका छन्, नेपालमा कुन-कुन भीपीएन धेरै चलेका छन्, सो विषयमा अध्ययन गर्नकै लागि यो प्राविधिक टोली गठन भएको हो, त्यसको प्रतिवेदनका आधारमा काम गर्ने हो’, उनले भने । उनले बढी चलेका भीपीएनहरूलाई आधार बनाएर प्राधिकरणले बन्द गर्न सक्ने बताएका छन् ।
भारत छाडेर एप्पलको लगानी भियतनाममा
एजेन्सी । आईफोन निर्माता एप्पलले पछिल्ला केही दिनदेखि चीनप्रति निराशा बढाएको छ । एप्पलका धेरै चिनियाँ विक्रेताहरू अब विश्वका अन्य देशमा कामकाज गर्ने योजनामा छन् । हालै एप्पलको चिनियाँ विक्रेता लक्स सेयरले आफ्नो योजनामा आश्चर्यजनक परिवर्तन गर्दै भियतनाममा ३३ करोड अमेरिकी डलर लगानी गरेको छ । एप्पलका लागि कम्पोनेन्ट बनाउने यो कम्पनीले यसअघि भारतमा लगानी गर्ने निर्णय गरेको थियो । तर, अचानक योजना परिवर्तन गर्दै भियतनाममा ३३ करोड डलर लगानी गरेको हो । लक्स सेयर नामको यो चिनियाँ कम्पनी एप्पलका लागि चीनको सबैभन्दा ठूलो कम्पोनेन्ट र फिनिश्ड प्रोडक्ट उत्पादन गर्ने इकाई हो । कम्पनीले अहिले आफ्नो लगानी भियतनाममा सारेको छ । कम्पनीले भारत र चीनबीचको राजनीतिक तनावका कारण भारतमा लगानी बढाउन नचाहेको जनाएको छ । कम्पनीले पछिल्लो तीन वर्षमा भारतमा आफ्नो कारोबार विस्तार गर्न धेरै प्रयास गरेको छ । लक्स सेयर इयरपड सप्लाई गर्ने एप्पलको मुख्य कम्पनी हो । आगामी दिनमा कम्पनीले आईफोन पनि बनाउने भएको छ । कम्पनीले उत्तरी भियतनामको बाक जियाङ नामक राज्यमा ३३ करोड डलर लगानी गर्ने घोषणा गरेको छ । लक्स सेयरको यो लगानीलाई गत साता भियतनाम सरकारले ग्रीन सिग्नल दिएको थियो । यससँगै लक्स सेयरले हालसम्म भियतनाममा ५० करोड ४० लाख डलर लगानी गरिसकेको छ । एप्पलले आफ्नो आपूर्ति श्रृंखला विविधीकरण योजनाअन्तर्गत चीनमा कार्यरत कम्पनीहरूलाई बाहिर सार्ने योजना बनाएको थियो । त्यसपछि लक्स सेयरले भारतमा मात्र स्मार्ट उपकरण, सञ्चार उपकरण, टच पेन र स्मार्ट घडी, पोजिसनिङ ट्याग र स्मार्ट घडी आदि उत्पादन गर्ने योजनामा काम गरिरहेको थियो । अब कम्पनीले यो योजना भियतनाममा सारेको छ । भियतनाममा लक्स सेयरको यो नयाँ सुविधा ७० एकड क्षेत्रफलमा फैलिने छ र आगामी १२ देखि २४ महिनामा सम्पन्न हुनेछ । लक्स सेयरले सन् २०१९ देखि भियतनाममा लगानी गर्दै आएको र यसै वर्ष अगस्टमा प्लान्ट स्थापना गर्न स्वीकृति पाएको थियो । यसअघि एप्पलको आइफोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले पनि भियतनाममा दुई नयाँ परियोजनामा २५ करोड डलर लगानी गरेको थियो । कम्पनीले विद्युतीय सवारीसाधन, दूरसञ्चार र अन्य विद्युतीय सामग्री उत्पादन बढाउने योजना बनाएको छ ।
भूकम्प प्रभावित जिल्लामा टेलिकमको नमुना सेवा
जाजरकोट । नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला कायम गर्ने घोषणा गरेसँगै टेलिकमको उच्च नेतृत्व आज जाजरकोट पुगेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको नेतृत्वमा आएको टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटवार्ता गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमुना जिल्ला कार्यक्रम तय गरेको थियो । टेलिकमले नमुना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको छोटो समयमै निर्देशक पहाडी जाजरकोट पुगेकी हुन् । सूचीमा भूकम्प प्रभावित जाजरकोट र रुकुम–पश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका निर्देशक पहाडीले जानकारी दिइन् । अत्याधुनिक प्रविधिको प्रयोगसँगै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नमुना जिल्ला कायम गर्न थालिएको उनको भनाइ थियो । जिल्लाका सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने पहाडीले बताइन् । नमुना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने उनले बताइन् । जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानव बस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने उनको भनाइ थियो । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवा उपलब्ध गराउने गरी अतिरिक्त योजना बनाएर आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरिने निर्देशक पहाडीले जानकारी दिइन् । भूकम्पबाट धेरै क्षति भएको जाजरकोटबाट नमुना सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाइ छ । आज भेरी, नलगाड र आठबीसकोट नगरपालिकाका साथै बारेकोट गाउँपालिकामा रहेका टावरको अवलोकनका गर्नुका साथै साथै पालिका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको पहाडीले जानकारी दिइन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी भएका थिए ।