एनसेलको तीन दिने ह्याकाथनको पहिलो विजेताले पाए साढे एक लाख रुपैयाँ

काठमाडौं । एनसेल आजियाटासँगको प्रमुख सहकार्यमा शिक़्वल फाउन्डेसनले आयोजना गरेको तीन दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका छन् । यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समुहहरुको पिचिङ् पश्चात विजयी समुहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई एक लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्न सफल बनेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ । यसले महिला र नन-बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ ।’ अनुरुप शिक़्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो । गर्ल्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरुलाई एक साथ नविन सोलुसन्स्हरु विकासको लागि अवसर प्रदान गरेको थियो । माघ २७ देखि २९ सम्म आयोजना गरिएको यस ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सिपहरु प्रदान गरियो । पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमहरुले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडियाको पिचिङ गरेका थिए । यस ह्याकाथनमा सहभागी हुँदा सहभागीहरुले विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरुबाट प्रशिक्षण पाएका थिए । शिक़्वल फाउन्डेसनका सह-संस्थापकहरु आस्था शर्मा र मेलिशाा घिमिरेले सहभागी सबैलाई उनीहरुको उत्साह र कडा परिश्रमकोलागी कृतज्ञता व्यक्त गरे र आगामी ह्याकाथनको लागी तत्पर रहेको बताए । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन-बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नविन सोचलाई सोलुसन्समा परिवर्तन गर्न प्लेटर्फम प्रदान गरेको थियो । महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आबद्घता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्दछ र समस्त समाज र अर्थतन्त्रलाई फाइदा पुर्याउँछ ।

डिजिटल रेमिट्यान्स् प्रवर्द्धन गर्न युएई जाँदै अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेस समेत रहेकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स् युएई जाने भएकी छिन् । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत जिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा अभिनेत्री खड्का फेब्रुअरी १८ शनिबारका दिन युएई जान लागेकी हुन् । खड्का शनिवार १८ फेबु्रअरी अल खाइल मल शाखामा साँझ ५ बजेदेखि ६ः३० बजेसम्म, १९ फेबु्रअरी आईतबारका दिन सेन्ट्रल मल शाखामा दिउँसो २ बजे देखि ३ बजेसम्म रहनु हुनेछ । यस्तै खड्काले दुबईस्थित अल घुराइर मलमा १९ फेबु्रअरी कै दिन एक विशेष कार्यक्रममा समेत सहभागि हुने बताएकी छिन् । सो कार्यक्रममा उनले त्यहाँ सहभागि सवैसंग साँझ ४ बजेदेखि साँझ ७ बजेसम डिजिटल रेमिट्यान्सको बारेमा छलफल र नेपालीहरुसंग अन्तरक्रिया गर्नेछिन् । त्यसैगरी, २० फेबु्रअरी सोमबार आबुधावी स्थित हमदान शाखामा दिउँसो ४ बजे देखि ५ बजेसम्म रहने छिन् । अल अन्सारी एक्सचेन्ज संयुक्त अरब इमिरेट्स युएईको सवैभन्दा ठूलो रेमिट्यान्स् कारोबार गर्ने एक्सचेन्ज कम्पनी हो । अहिले इसेवा मनि ट्रान्सफरले “मेरो डिजिटल देश” योजना सञ्चालन गरिरहेको छ । ‘मेरो डिजिटल देश’ योजनाले विश्वभरबाट नेपालमा बैंक खाता वा वालेट मार्फत रेमिट्यान्स भित्र्याउन विभिन्न कार्यक्रम गर्नुका साथै यो अभियानमा सहभागीहरुलाई विभिन्न उपहार समेत दिइरहेको छ । ‘मेरो डिजिटल देश’ योजना अन्तर्गत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउने एक जनालाई काठमाडौंमा घर समेत दिने योजना इेसेवा मनि ट्रान्सफरले अघि सारेको छ । अभिनेत्री खड्काले यो योजना अन्तर्गत विदेशमा श्रम गरेर देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहनु भएका नेपालीहरु भेट्न आफू निकै उत्साहित रहेका बताएकी छिन् । उनले युएईमा आफुले सकेसम्म धेरै नेपालीसंग भेट्ने आकांक्षा रहेको बताएकी छिन् । साथै, उनले पुर्वनिर्धारित कार्यक्रम स्थलमा समेत सहभागी हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेकी छिन् ।

नक्कली कागजात पेस गरेर भुक्तानी सेवा प्रदायक संस्थाबाट रकमान्तर

काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्था खल्ती डिजिटल वालेटमा एक अजित थारू नामका व्यक्तिको खाता भेटियो । त्यो खाता खोल्दा जुन नम्बर प्रयोग गरिएको थियो त्यही नम्बर प्रयोग गरेर सुनिताकुमारी शाहका नाममा इसेवामा पनि खाता खुलेको भेटियो । खल्ती डिजिटल वालेटमा सनम श्रेष्ठका नाममा पेस भएको नागरिकता, त्यहाँ प्रयोग भएको फोटो र वास्तविक सनम श्रेष्ठ फरकफरक पाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । यो त प्रतिनिधि घटना भयो । कागजात एउटाको, फोटो अर्काको र नम्बर झन् अर्कैको प्रयोग गरेर डिजिटल भुक्तानी हुने क्रम बढिरहेकाले वास्तविक व्यक्तिमा रकम नगई अन्यत्रै रकमान्तर हुने क्रम बढिरहेको भन्दै प्रहरीले यसतर्फ सचेत हुन नागरिक तथा भुक्तानी प्रदायक संस्थाहरुलाई अनुरोध गरेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै त्यसले विकृति पनि भित्र्याइरहेको यो दरिलो दृष्टान्त हो । प्रविधिको सही सदुपयोगले ठूलाठूला समस्या तथा कामहरु घरमै बसेर समाधान भएका कैयौँ उदाहरणहरु छन्, तर प्रविधिको दुरुपयोग हुँदा मानिसहरुको जीवन नै बर्बाद पनि बनाइरहेको छ । अझै प्रविधिकै उच्चतम उपयोग गर्दै भुक्तानी सेवा प्रदायक संस्थाहरुको विकासले धेरै सहज पारिदिएको पनि छ । छिनका छिन विदेशमा कमाएर पठाएको पैसा आफ्नो परिवारको हातमा आउने अवस्था बनेको छ । यसरी प्राप्त भएको सुविधालाई दुरुपयोग गरेर रकम ठग्ने गिरोह सक्रिय रहेकाले मानिहरु ठूलो धनराशि ठगिन विवश छन् भने गिरोहको लोभमा फसेर सयौँ मानिसहरु पीडित बनिरहेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले डिडिटल अपराध बढ्दो रहेकाले यसको रोकथाममा ठूलो चुनौती खडा भएको बताए । उनले भुक्तानी सेवा प्रदायक संस्थामा नक्कली कागजात पेस गरेर र अरूकै नाम, नम्बरसमेत प्रयोग गरी खाता खोलेर रकमान्तर गर्ने बढ्दो क्रममा रहेको बताए । प्रहरी उपरीक्षक कार्कीले यसलाई रोक्न केही दिनअघि राष्ट्र बैंकका प्रतिनिधिहरुको रोहवरमा भुक्तानी सेवाप्रदायक संस्थासँग छलफलसमेत चलाएको जानकारी दिए । छलफलमा यस्ता समस्याहरु रोकथामका लागि सरकारकै पहल जरुरी रहेको ती संस्थाका प्रतिनिधिहरुले बताएका थिए । काठमाडौं प्रहरीको अभिलेखमा यो आर्थिक वर्षको पुससम्ममा यसरी नक्कली कागजातहरु पेस गरी झन्डै एक करोड २२ लाख रुपैयाँ रकमान्तर भई मानिस ठगिएका पाइएको छ । प्रहरीमा यसरी आफू ठगीमा परेको भन्दै एक सय १२ जनाले एक सय ३४ जनाविरुद्ध उजुरी दिएका थिए । यसअघि आव २०७८/७९ मा तीन सय ३८ जनाले एक सय ९७ जनाविरुद्ध रु चार करोड ४८ लाख ठगीमा परेको भनी उजुरी दिएका थिए । बैंकमार्फत ५९ जनाले रु ६५ लाख ४२ हजार रकमान्तर गरी ५६ जनाको रकम लगेको भनी उजुरी परेको थियो । अन्य डिजिटल वालेटहरु ई-सेवा खल्ती, आइएमई मनी ट्रान्सफर, क्यास-पे वालेट, जिएमई रेमिट, सिटी एक्सप्रेस प्रालिलगायत मार्फत यसरी रकमान्तर भएको थियो । आइएमई मनी ट्रान्सफरबाट मात्रै ३२ लाख ४१ हजार रकमान्तर भएको थियो । त्यसमा १२ जनाको पैसा १६ जनाले लगेका भनी उजुरी परेको थियो । उण्डाइस जना पीडितले इसेवाबाट १३ लाख रुपैयाँ रकमान्तर भएको भनी उजुरी दिएका थिए भने खल्तीबाट २० जनाले रु सात लाख ७७ हजार रकमान्तर गरेको भनी उजुरी परेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यसरी रकमान्तर भएका सबैले अर्कैको नामका नागरिकता वा राहदानीमा नक्कली फोटो टाँस्ने, नम्बरहरु पनि कम्प्युटरबाट इडिट गरेर टाँस्ने र खाता खोली रकमान्तर गर्ने गरेको पाइएको पनि उनले बताए । ‘खोज्दै जाँदा जुन नम्बर प्रयोग गरेर पैसा रकमान्तर भएको छ, त्यो नम्बरको मान्छेले उक्त डिजिटल वालेटमा खाता नै नखोलेको पाएको छ, कतिपय घटनामा जसको नाम र नम्बर प्रयोग गरेर रकम भुक्तानी गरिएको छ, त्यो नामको मान्छेले उक्त नम्बर प्रयोग नै नगरेको भेटिएको छ,’ प्रहरी उपरीक्षक रिजालले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरुमा यसरी नक्कली आइडी खोलेर रकम भुक्तानी हुने क्रम बढेकाले अपराध अनुसन्धान र कारबाहीमा समेत असर परिरहेको छ तर पनि पहिचान गरेर वास्तविक पीडकलाई कारबाही पनि भइरहेको छ ।’ प्रहरीका अनुसार सुरुमा जो पीडित भनेर देखिएका छन् उही पीडक बनेर निस्किएका घटना पनि रहेको पाइएको छ । यसरी फरक फरक नागरिकतामा फरक फरक व्यक्तिका फोटा र नम्बरहरु प्रयोग गरेर पैसा भुक्तानी गर्दा नागरिक ठगिने क्रम बढिरहेकाले सचेत हुन डिजिटल भुक्तानी सेवा प्रदायक संस्थासँग प्रहरीले अनुरोध गरेको छ । केवाइसी फारम भर्दा होस् या भुक्तानी दिँदा वास्तविक नाम र मान्छे हो होइन भनेर यकिन गरेपछि मात्रै भुक्तानी गर्नसमेत प्रहरीले ती संस्थाहरुसँग अनुरोध गरेको छ । रासस