एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेता पुरस्कृत

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारको भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई पुरस्कृत गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको एनसेलले जनाएको छ । सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ । प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए । एनसेलका अनुसार मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ । प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको एनसेलले बताएको छ । एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्राप्त गर्ने एनसेलको भनाइ छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विजेता सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्ने बताए । एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु आफूहरुको जिम्मेवारी भएको बताए । यस प्रतियोगितामा सहभागी हुन प्रतियोगीहरुले दीदीभाइहरूको हृदयस्पर्शी सम्बन्धलाई ३ देखी ५ मिनेटको चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनु पर्ने शर्त रहेको थियो । साथै ‘हामी तपाईंकै लागि’ विषयवस्तु वरिपरि कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भ्वाइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गनुपर्ने शर्तहरु थिए ।

एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत बनायो वित्तीय चेतनामूलक ५ भिडियो

काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु बनाएको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए । उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा-बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने बैंकको विश्वास छ । साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (फाइनान्सियल लिट्रेसी) कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

दाङको बङ्लाचुलीमा एफटिटीएच सेवा

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गरेका छन् । सो सेवा थालनी भएसँगै बङ्लाचुली क्षेत्रमा अब द्रूतगतिको ‘इन्टरनेट’ सेवा चल्नेछ । अप्टिकल फाइबरमा आधारित  सो सेवा मार्फत ल्याण्डलाइन टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने जनाइएको छ । कमिरेचौरमा पाँच सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) जडान गरी सेवा सुरु गरिएको हो । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका इन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बङ्गलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँमा यो सेवा उपलब्ध गराइने छ । टेलिकमले २५, ५०, १०० र १५० एमबिपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको उनले बताए । सो अवसरमा मन्त्री शर्माले आधुनिक टेलिकम सेवाको पहुँच सबै गाउँपालिकामा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले सञ्चारमन्त्री शर्माका पहलमा बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा सुरुभएसँगै  यस क्षेत्रका नागरिकलाई सञ्चार क्षेत्रमा सहज हुने विश्वास व्यक्त गरे । रासस