नेपाल टेलिकमले बोनस सेयर नदिने, साधारण सभा पुसभित्रै गर्ने तयारी

काठमाडौं । पुँजी बजारका लागि यो सिजन लाभांशको हो । पुँजी बजारमा सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गरिरहेका छन् । विभिन्न कम्पनीहरूले लाभांश घोषणा गरिरहँदा दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा रहेको कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले कहिले लाभांश घोषणा गर्ला भनेर चासोको रुपमा हेरिएको छ । विगतका वर्षहरूमा समेत उच्च लाभांश वितरण गर्दै आएकाले सेयरधनीहरूको रोजाईको नेपाल टेलिकम पर्ने गरेको छ । त्यसैले गत वर्षको नाफाबाट धमाधम लाभांश घोषणा गरिरहँदा नेपाल टेलिकमले कति लाभांश देला भनेर लगानीकर्ताले चासोको रुपमा हेरिरहेका हुन् । कम्पनीको लाभांश इतिहास हेर्ने हो भने विगतका वर्षहरूमा ४० प्रतिशतभन्दा बढी प्रतिफल बाँडेर सेयरधनीहरूलाई मख्ख बनाएको छ । त्यसैले नेपाल टेलिकमले यस वर्ष पनि उच्च लाभांश वितरण गर्ने अपेक्षा सेयरधनीहरूले गरिरहेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०मा ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो । गत असारसम्मको तथ्याङ्क हेर्ने हो भने कम्पनीको प्रतिसेयर आम्दानी ४३.३६ रुपैयाँ रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको लेखापरीक्षको समूह यतिबेला कम्पनीको वित्तीय विवरण फरफराक गर्नमा जुटेको छ । कम्पनी स्रोतका अनुसार गत वर्षको वित्तीय विवरणको हिसाव किताब मिलानको काम भइरहेको छ । अडिटरले पनि ब्यालेन्ससिट मिलाउने काम गरिरहेकाले पुसभित्रै वार्षिक साधारणसभा गर्ने तयारी रहेको स्रोतको भनाइ छ । ‘अडिटरले ब्यालेन्ससिट मिलाउने काम र अध्ययन भइरहेको छ, कम्पनीले विगतमा ४० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको थियो, यस वर्ष पनि करिव ४० प्रतिशत नै लाभांश बाँड्ने कम्पनीको तयारी छ,’ उनले भने, ‘कम्पनीको लाभांश सदावहार नै हो, बोनस सेयर वितरण गर्दैन, जति प्रतिशत आउँछ, सबै नगद दिन्छौं ।’ नेपाल टेलिकमले विगतमा कम्तिमा ४० प्रतिशत र बढीमा ५५ प्रतिशत लाभांश दिदै आएको छ । गत वर्ष टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष भने बोनस सेयर नदिने भएको छ भने करिव ४० प्रतिशत नगद लाभांश दिने सम्भावना रहेको स्रोतले बतायो ।

एप्पलले भारतमा हरेक वर्ष ५ करोड आइफोन बनाउने

काठमाडौं । एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले गत महिना भारतमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । एप्पलका आपूर्तिकर्ता कम्पनीहरूले भारतमा उत्पादन–लिंक इन्सेन्टिभ योजनाअन्तर्गत प्राप्त अनुदानमा उत्पादन क्षमता बढाउँदैछन् । वाल स्ट्रीट जर्नलका अनुसार कर्नाटकमा फक्सकनको कारखानाले अप्रिलमा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ । वार्षिक २ करोड मोबाइल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमा प्रायजसो आइफोनहरू उत्पादन हुनेछन् । कम्पनीले दोस्रो कारखाना पनि स्थापना गर्ने तयारी गरिरहेको छ । एप्पलले गत आर्थिक वर्षमा भारतमा ५ खर्ब ८० अर्ब रपैयाँभन्दा बढी मूल्यका आइफोनहरू एसेम्बल गरेको थियो । तमिलनाडुमा पनि आईफोन बनाउने टाटाको योजना टाटा समूहले तमिलनाडुमा पनि आइफोन निर्माण गर्ने योजना बनाएको छ । दुई वर्षमा २० वटा एसेम्बली लाइन र ५० हजार कर्मचारी हुनेछन् । उक्त समूहले आइफोन बनाउन कर्नाटकमा विस्ट्रोनको कारखाना खरिद गरिसकेको छ । टाटाले देशको सबैभन्दा ठूलो आइफोन एसेम्बली प्लान्ट निर्माण गर्न एप्पलको महत्वाकांक्षालाई ट्याप गर्ने योजना बनाएको छ ।

नेपाल सरकारलाई सामाजिक सञ्जाल प्लाटफर्मको प्रतिनिधि संस्था एआईसीले पठायो पत्र

काठमाडौं । सामाजिक सञ्जाल नियमनका लागि सरकारले अघिल्लो महिना जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रतिबन्धप्रति सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले चासो व्यक्त्त गर्दै नेपाल सरकारलाई पत्र पठाएको छ । गुगल, एप्पल, मेटा, अमेजन, याहु, लिंक्डइन, राकुटेन, स्पटिफाइजस्ता सूचना प्रविधि कम्पनी सदस्य रहेको एआइसीले नेपाल सरकारलाई पत्र पठाएको हो । सरकारले सम्बन्धित उद्योग र नागरिक समाजसँग छलफल नगरी र तयारीका लागि समय नै नदिई अपरझट ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ लागू गरेकोमा मुख्य चासो रहेको पत्रमा उल्लेख छ ।