फोरजी सेवा गुणस्तरीय बनाएपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त : मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभजी लागू गर्न उपयुक्त हुने बताएकी छन् । बिहीबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘फाइभजी को चुनौती र आगामी बाटो’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले मुलुकमा फाइभजी सेवा परीक्षण गर्दै गर्दा देशका धेरै स्थानमा समान्य सूचनाको पहुँचसमेत पुग्न नसकेको अवस्था रहेको बताइन्। फोर जी सेवा बिस्तार भएको लामो समयसम्म काठमाडौं उपत्यकामासमेत प्रभावकारी हुन नसकेको भन्दै फोर जी सेवालाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । मन्त्री शर्माले फोर जी सेवा लागू गर्दा लागेको लागतअनुसार प्रतिफल भए/नभएको विषयमा अध्ययन गर्नुपर्ने बताइन् । उनले विश्वमा आउने नयाँ प्रविधिमा अगाडि बढ्दै जाने र त्यसबाट हुने फाइदाको समीक्षा गर्न नसक्दा लाभभन्दा नोक्शानी बढ्नसक्नेतर्फ सचेत हुन आवश्यक रहेको बताइन् । मन्त्री शर्माले नेपाल भौगोलिक रुपमा कठिन अवस्थामा रहेको भन्दै उच्च हिमाली जिल्लामा समान्य सूचनाको पहुँच नै नपुगेको स्वीकार गरिन्। उनले देशका धेरै भू–भागहरू इन्टरनेटको न्यूनतम सेवासमेत नपुगेको बताइन् ।

अमेरिकन कम्पनी सेक्युरिटी पालकाे नेपालमा पनि सेवा सुरु

काठमाडाैं । नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको छ। कम्पनीको अत्याधुनिक सुविधा सहितको सेक्युरिटी अपरेशन कमाण्ड सेन्टर मंगलबारदेखि औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा ल्याइएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले रिवन काटेर केन्द्रको उद्घाटन गरेका छन् । अमेरिका स्थित सिलिकन भ्यालीमा केन्द्रीय कार्यालय रहेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको हो । कम्पनीका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुकार चन्द्र हमालले सिलिकन भ्यालीमा स्थापना गरेको करिब २ वर्षपछि नेपालमा पनि यसको शुरूवात गरेका हुन् । कम्पनीको उद्घाटन गर्दै राजदूत थम्पसनले सेक्युरिटी पालजस्ता कम्पनीले नेपालका निकै नै गतिशील उद्यमी तथा कम्पनीहरूलाई लाभ हुने बताए । उनले विश्वमा यस कम्पनीको उपस्थिति निकै आवश्यक रहेको भन्दै आफूले कम्पनीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरे । कम्पनीले गत वर्ष क्राफ्ट भेन्चर्सको नेतृत्वमा २१ मिलियन डलरको सिरिज ए को लगानी घोषणा गरेको थियो । सोही अन्तर्गत कमाण्ड सेन्टरको निर्माण भएको हो । सेक्युरिटी पालले एप्टियो इंक, हाईहेल्लो इंक र मटेरियल सेक्युरिटी इंक पनि आफ्नो ग्राहक पोर्टफोलिओमा थपिएको जानकारी सहित बजारमा आएको छ । नेपाली बजारमा समेत सेवा शुरू गर्न पाउँदा खुशी लागेको कम्पनीले जनाएको छ । कम्पनीले उद्यमीका लागि अग्रणी संस्था बन्ने लक्ष्यसहित बजारमा आएको जनाएको छ । सुरक्षा समीक्षा कार्यका कारण आम्दानी र सुरक्षामा कहिल्यै कमी हुन नदिने सुनिश्चितता आफूले दिन चाएको कम्पनीले जनाएको छ । अनुभवी सुरक्षा विश्लेषकहरू आवद्ध यस कम्पनीले जापानी, जर्मन, स्पेनिस, पोर्चुगिज्, फ्रान्सेली लगायतका भाषामा समेत सेवा प्रवाह गर्ने छ । सेक्युरिटी पालले स्केलिङ कम्पनी र उद्यमहरूलाई सुरक्षा समीक्षा र प्रश्नावलीहरूको जटिल एवम् विकसित प्रकृतिको सामना गर्न मद्दत गर्छ । कमाण्ड सेन्टरले ग्राहक कम्पनीका सुरक्षा कर्मचारीहरूलाई सहयोग गर्ने कम्पनीको भनाइ छ । ‘सेक्युरिटी पालको अपरेशन कमाण्ड सेन्टरले डेटा सुरक्षाका लागि एप्टिओको प्रतिवद्धतालाई बलियो बनाउँछ,’ एप्टिओ इंकका एण्डी हचिसनले बताए । सेक्युरिटी पालका सीईओ हमालले सेक्युरिटी पाल सातै दिन, २४ सै घण्टा सञ्चालनमा रहने बताएका छन् । नेपाली बजारमा आफ्नो कम्पनीले विश्वसनीय सेवा दिनेमा ढुक्क रहेको समेत उनको भनाइ छ ।

अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको उपाधि वर्ल्डलिंकलाई, पायो १ लाख नगद पुरस्कार

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको रजतजयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वर्ल्डलिंक कम्युनिकेसनले जितेको छ । गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चलित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्ड लिंक कम्युनिकेसनले एनसेलको टिमलाई ३–२ को गोलअन्तरले हराउँदै विजयी भएको हो । विजेता टिम वर्ल्डलिंकले एक लाख राशीको पुरस्कार जितेको छ । उपविजेता एनसेनले ६० हजार रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगिताको तेस्रो उपाधीको लागि भएको खेलमा भने डिस मिडियाले मर्कन्टाइल कम्युनिकेसनलाई २३–४ गोलअन्तरले पराजित गरेको छ । तेस्रो हुने डिस मिडिया नेटवर्कले ४० हजार नगद पुरस्कार पाएको छ । सो अन्तर सेवाप्रदायक फुटसल प्रतियोगितामा १० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा वर्ल्डलिंक कम्युनिकेशन प्राली, नेपाल टेलिकम, डिस मिडिया नेटवर्क, स्मार्ट टेलिकम, सुबिसु केबलनेट लिमिटेड, सिजी कम्युनिकेशन लिमिटेड,मर्कन्टाइल कम्युनिकेसन प्राली,एनसेल आजिटा लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन सहभागिता जनाएका थिए ।