माघ २४ गतेदेखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुँदै

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रदर्शनी अवलोकनका लागि रू एक सयको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवालोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् । महासचिव अधिकारीले मधेस प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत २ देखि ६ सम्म प्रदर्शनी गर्ने तयारी रहेको जानकारी दिए ।

अब ४५ दिनमा पृथ्वीबाट मंगल ग्रहमा पुग्न सकिने

एजेन्सी । संसारका धेरै देशहरूले दशकौंदेखि मंगल ग्रहमा मानिस पठाउने तयारी गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार पृथ्वीबाट मंगल ग्रहसम्मको यात्रा गर्न ७ महिना लाग्छ । अहिलेसम्म मंगल ग्रहमा गएका सबै रकेटहरूले लगभग उस्तै समय लिएका छन्। तर, अब नयाँ प्रविधिको सहयोगले यो यात्रा ४५ दिनमा नै गर्न सकिने भएको छ । यो नयाँ प्रविधिको नाम ‘न्यूक्लियर थर्मल एण्ड न्युक्लियर इलेक्ट्रिक प्रोपल्सन’ राखिएको छ । नासाले मानव मंगल मिशनको लागि यस्तो रकेट बनाउन लागेको हो, जसमा परमाणु ईन्धन प्रयोग हुनेछ। सो रकेट दुई प्रविधिको सहयोगमा बनाइनेछ । पहिलो, परमाणु थर्मल प्रोपल्सन, यसमा परमाणु रिएक्टर हुन्छ, जसले तरल हाइड्रोजन प्रोपेलेन्टलाई तताउँछ। विज्ञहरुका अनुसार यसो गर्दा प्लाज्मा बन्ने छ । यो प्लाज्मा रकेट नोजलबाट बाहिर निकालिनेछ, जसले रकेटलाई अगाडि बढ्नको लागि उच्च गति दिनेछ। सन् १९५५ मा अमेरिकी वायुसेना र आणविक ऊर्जा आयोगले यस्तो प्रणोदन प्रणाली निर्माण गर्ने प्रयास गरेको थियो । दोस्रो प्रविधिको नाम न्यूक्लियर इलेक्ट्रिक प्रोपल्सन हो। यसमा परमाणु रिएक्टरले आयन इन्जिनलाई बिजुली दिन्छ, जसले विद्युत चुम्बकीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्रले क्सीनन् जस्ता ग्यासहरूलाई गति दिन्छ, जसले रकेटलाई अगाडि बढाउने गति प्राप्त हुन्छ । सन् २००३ र २००५ मा पनि यो प्रणाली बनाउने प्रयास वैज्ञानिकहरुले गरेका थिए । नयाँ प्रविधिमार्फत वैज्ञानिकहरूले रकेटको कार्यसम्पादन झन्डै दोब्बर गर्न सक्नेछन् । रकेट बनाउने यो अवधारणा फ्लोरिडा विश्वविद्यालयका हाइपरसोनिक्स कार्यक्रम क्षेत्रका प्रमुख प्रोफेसर रायन गोसेले दिएका हुन्। यसको पहिलो चरणको विकासका लागि उनीसँगै थप १३ जनालाई अनुसन्धानमा समावेश गरिएको छ । आयोजनाका लागि १२.५ हजार डलर उपलब्ध गराइएको छ । यो अवधारणा कार्यान्वयनमा आएपछि मानिसलाई मंगल ग्रहमा जान निकै सजिलो हुनेछ । अहिले प्रयोग भइरहेको प्रविधिमा अन्तरिक्षयानलाई पृथ्वीबाट मंगल ग्रहमा जान ७ देखि ९ महिना लाग्छ । यदि हामीले यही गतिमा मंगल ग्रहमा मानिस पठाउने हो भने हरेक २६ महिनामा एउटा उडान मंगल ग्रहमा पुग्ने विज्ञहरूको अनुमान छ। साथै, मिसन ३ वर्षसम्म मात्र चल्न सक्नेछ । तर, नयाँ प्रविधिबाट मंगल ग्रह जाने बाटो भने सहज हुनेछ । पृथ्वीबाट मंगल ग्रहको यात्रा मात्र ६।५ हप्ताको हुनेछ, जसले मिसनको लागत घटाउने र समय बढाउनेछ । अन्तरिक्षको सूक्ष्म गुरुत्वाकर्षणमा मानिसहरूलाई स्वास्थ्य समस्याहरू पनि कम हुने छन्। नासाको यो रकेट कहिले तयार हुन्छ भन्ने बारे कुनै जानकारी भने छैन ।

साथीहरू मिलेर बनेको एफवान सफ्ट, फिनटेकमा उत्कृष्ट

काठमाडौं । तपाईं आफ्नो साथी, सहकर्मी वा घरपरिवारलाई पैसा पठाउन आग्रह गर्दै हुनुहुन्छ भने, कसरी पठाउनु भन्नुहुन्छ ? इसेवा, फोनपे वा मोबाइल बैंकिङ ? हो, अधिकांशले लिने नाम यिनै हुन् । व्यावसायिक जगत् वा युवा पुस्ता माझ डिजिटल कारोबारको लागि इसेवा, फोनपे सर्वाधिक प्रयोग हुने डिजिटल एप्लिकेशन हुन् । इसेवा नेपालमा सर्वाधिक डाउनलोड भएको एपमध्ये एक हो । अहिलेसम्म ७० लाख मानिसले इसेवा एप डाउनलोड गरेको कम्पनीले जनाएको छ । मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने इसेवा अहिले अधिकांशको दैनिकी बनेको छ । घरमै बसेर जोकोहीलाई पनि पैसा पठाउन, घरभित्रै बसेर किनमेल गर्न र घरमै बसेर अनेकौं बिल भुक्तानी गर्न सक्ने सुविधा इसेवाले प्रदान गरिरहेको छ । कसैलाई पैसा पठाउन वा पाउन मान्छेलाई भेट्नै पर्दैन । इसेवाबाट सहजै सकिन्छ । इसेवा, फोनपे लगायत अन्य केही डिजिटल प्लेटफर्महरुको मदर कम्पनी भने एफवान सफ्ट हो । जुन कम्पनीको स्थापना गरेका हुन् विश्वास ढकालले । संस्थापनादेखि नै ढकाललाई साथ दिने अन्य तीन जना संस्थापक सेयरधनी हुन्, सुवास शर्मा, अस्गर अली र सुवास सापकोटा । सुवास सापकोटा चार्टर्ड एकाउन्टेन्ट हुने भने अन्य तीनै जना इञ्जिनियर हुन् । सन् २००४ सालमा स्थापना भएको यो कम्पनीले १८ वर्षको अवधिमा प्रविधिमा धेरै ठूलो फड्को मारेको छ । नेपाललाई प्रविधि सिकाएको छ । ‘हामी कलेजमै हुँदा कम्पनीको स्थापना भएको हो, त्यतिबेला विश्वास ढकालले एक्लै कम्पनी दर्ता गरे, एक आपसमा चिनजानले हामी चारै जना कम्पनीमा जोडियौं, पछि विस्तारै काम गर्न थाल्यौं, बजारले चिन्न थाल्यो, अहिले सबैले प्रविधिको क्षेत्रमा एउटा अग्रणी कम्पनीका रुपमा लिँदा खुसी लाग्छ,’ कम्पनीका सञ्चालक तथा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा भन्छन् । एफवान सफ्ट ठूलो महत्वकांक्षा लिएर सुरु भएको कम्पनी होइन । विस्तारै सम्भावनाहरु देखिँदै गए । सुरुमा कम्पनीले बैङ्कको एसएमएस बैंकिङ्गको उत्पादन सुरु ग¥यो र बैङ्कहरुलाई बेच्यो । अधिकांश बैङ्कले त्यो प्रडक्ट प्रयोग गरे । त्यसपछि इसेवा सार्वजनिक भयो । सन् २००९ मा सार्वजनिक भएको इसेवाले अहिले डिजिटल कारोबारको बजार तताइरहेको छ । इसेवाले मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने सुविधा ल्यायो । विस्तारै टेलिकम कम्पनी, सिनेमा हल, एयरलाइन्स, स्कुल/कलेज, बिजुली तथा पानीको बिल, यातायात कम्पनीलगायतले अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था भयो । ‘इसेवाबाट भुक्तानी गर्न सकिने धेरै सेवा भइसकेका छन्, यी विभिन्न सेवा हामीले सुरुवात गरेपछि अन्य कम्पनीहरु पनि आइरहेका छन्, हाम्रै कारणले यो क्षेत्र एउटा उद्योगका रुपमा स्थापित हुँदा खुसी लाग्छ,’ सीईओ शर्मा भन्छन् । अहिले एफवान सफ्टकै वार्षिक आम्दानी करिब ५५ करोड रुपैयाँ हुन्छ । इसेवा, फोनपे लगायत अन्य कम्पनीको कारोबार आ-आफ्नै छ । अहिले एफवान सफ्टका प्रडक्टहरु सबैको घर-घरमा पुगेका छन् । बिजुलीको बिल तिर्ने ६० प्रतिशतले इसेवाबाट भुक्तानी गर्छन् । एफवान सफ्टले बैङ्कहरुलाई चाहिने सफ्टवेयर बनाउँछ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इसेवा मनी ट्रान्सफर पनि यसकै प्रडक्ट हो । विदेशी कम्पनीसँगको प्रतिस्पर्धा प्रविधिको दायरा असीमित छ । तर, मान्छेहरूले यसको दायरा सीमित बनाइदिएका छन् । भनिन्छ नि, ‘प्रविधिले विश्वलाई एउटा एउटा गाउँ बनाएको छ ।’ तर, विडम्बना, स्रोत साधन र नीतिगत व्यवस्थाकै कारण सीमित घेराभित्र रहेर व्यवसाय गर्नु पर्ने बाध्यता नेपालमा छ । अहिले नेपाली कम्पनीहरूलाई विदेशमा लगानी गर्न सक्ने नीतिगत व्यवस्था छैन । तर, विदेशी कम्पनीहरू भने नेपालमा आएर सजिलै व्यवसाय गर्न पाउँछन् । ‘विदेशी इन्टरनेट कम्पनीहरु पनि नेपालमा आउन सक्छन्, हामीले उनीहरुसँग प्रतिस्पर्धा गर्न सक्नु पर्छ, उनीहरुभन्दा सस्तो, भरपर्दो र राम्रै सेवा दिन सक्नु पर्छ, त्यसका लागि हामी तयार भएर बस्नु पर्छ,’ शर्मा भन्छन्, ‘तर, नीतिगत रुपमा नेपालमा प्रतिस्पर्धा गर्ने वातावरण नै छैन ।’ हुन त नेपाली कम्पनीलाई विदेशमा गएर प्रडक्ट बेच्न चुनौती नै छ । ‘सुरुमा त नेपाल भन्ने ब्राण्ड नै राम्रो छैन, नेपाल सफ्टवेयर बेच्ने देश हो र ? भनेर सोध्छन् । किन्नै परेपछि नेपालको सफ्टवेयर किन किन्ने भन्ने प्रश्न गर्छन्, नेपालको सफ्टवेयर किन्ने बनाउन हामीले सस्तोमा बेच्न सक्नुपर्छ, धेरै विषयहरु कन्ट्री इमेजले पनि फरक पार्छ, हामीलाई अहिले नेपालमै बिक्री गर्न चुनौती छ, विदेशमा त झन् कति–कति,’ शर्माले भने । १८ वर्षअघि स्थापना भएको एफवान सफ्ट नेपालको पहिलो फिनटेक कम्पनीमात्र होइन, सबैभन्दा बढी प्रयोगकर्ता भएको र सबैभन्दा ठूलो कारोबार गर्ने कम्पनी हो, जहाँ ३०० इन्जिनियर्ससहित १००० भन्दा बढीले रोजगारी पाएका छन् । क्षमताका हिसाबले एफवान सफ्टमा धेरै अनुभवी र क्षमता भएका व्यक्तिहरु छन् । एफवान सफ्ट समूहका अध्यक्ष ढकाल रेस्ट अफ व¥ल्डले सार्वजनिक गर्ने विश्वका १०० शीर्ष टेक चेन्जमेकर्सहरुको सूचीमा पनि परेका छन् । रेस्ट अफ व¥ल्डले ढकाल नेतृत्वको कम्पनीले निर्माण गरेका १२ वटा सोलुसनमध्ये ९० प्रतिशत बैङ्कहरुले कुनै न कुनै एउटा प्रयोग गर्ने उल्लेख गरेको छ । दक्ष जनशक्तिको अभाव शर्मा पछिल्लो समय नेपाली युवाहरुको विदेश पलायनको ट्रेण्ड देखेर चिन्तित बनेका छन् । स्वदेशमा राम्रो जागिर र त्यसको पनि स्थीरता नदेखेर विदेशिने युवाहरुको ट्रेण्ड देखेर उनी नेपालको भविश्य के होला ? भन्ने विषयमा प्रश्न गर्छन् । ‘नेपालमा बस्न चाहने धेरै कम छन्, राम्रो जागिर र करियर राम्रो बनाउनका लागि विदेशिने क्रम बढ्दो छ, हाम्रोमा पनि दुई/तीन वर्ष काम गरेर विदेश जान्छौं भन्छन्, हामी केही स्थीरताको वातावरण सिर्जना गरिरहेका छौं, नेपालमा कसैलाई बस्ने रहर नै छैन, यो एकदमै ठूलो समस्या हो, हामी गर्न नसक्नेको देश बन्दैछौं, उनी भन्छन्, ‘नेपालमा कम्पनी चलाउने जो कोहीलाई पनि सम्मान गर्नुपर्छ ।’ एफवान सफ्टले ल्याएका सेवाहरु सबै नेपालीले प्रयोग गर्दछन् कुनै न कुनै रुपमा । फोन, पानी, बिजुलीको पैसा तिर्न, रकम ट्रान्सफर गर्न, किनमेलपछि डिजिटल भुक्तानी गर्न वा मोवाइल तथा इन्टरनेट बैकिङ्ग सुविधा लिन । नेपालमा बिजनेस गर्नेहरु माफिया नै हुन् भन्ने भ्रम राजनीति र बुझाइमा छ । जुन गलत छ । ‘राम्रो काम गरिरहेको मान्छे नेपाल छोडेर विदेश जान्छु करिअर बनाउँछु भन्दा नजा भन्न सकिँदैन, उसले गएर स्थीर अर्थतन्त्रमा यहाँको भन्दा राम्रो काम गर्न सक्छ भने नजा कसरी भन्ने ? कि उनीहरुलाई विदेशको सुविधा यतै दिन्छु भन्न सक्नु प¥यो, तर, सकिँदैन’ उनले थपे, ‘यहाँको वातावरणले दिँदैन, हामी निकै कमजोर छौं ।’ हाल एफवान सफ्ट समूहमा १ हजार बढीले रोजगारी पाएको उनी बताउँछन् । त्यसमा करिब ३ सय इञ्जिनियर छन् । ईसेवा भारतको पेटिएमभन्दा दुई वर्ष अगाडि आएपनि भारतमा पेटिएमले जसरी ठूलो बजार लिन नसकेको उनी बताउँछन् । नेपालमा जति नै राम्रो प्रडक्ट बनाए पनि ठूलो मार्केट लिने सम्भावना न्यून रहेको उनी बताउँछन् । इसेवामा ७० लाख ग्राहक आवद्ध रहेको बताउँदै उनी अब नेपालमा बजार विस्तार गर्न समस्या भइरहेको बताउँछन् । एफवान सफ्टले केही नयाँ प्रडक्टहरु ल्याउने तयारी गरिरहेको छ । कम्पनी अझै डिजिटल फाइनान्सियलसँग सम्बन्धित केही सर्भिसहरु ल्याउने योजनामा छ । स्रोत साधनको सीमितताको बाबजुत पनि काम भइरहेको उनी बताउँछन् । ‘हुन त गर्न मिल्ने ठाउँ धेरै छ, हामीले जुन फिल्डमा काम गर्ने सोच बनायौं, त्यो क्षेत्रलाई भाइब्रेन्ट बनायौं, अहिले यो क्षेत्र एक उद्योगकै रुपमा चिनिन थालेको छ, कुल ३७ वटा कम्पनी थपिए । अर्बौं लगानी भएको छ, हजारौंले रोजगारी पाएका छन्, हामीले गर्न सकिन्छ भन्ने बाटो देखायो, यसको विस्तार हुन आवश्यक छ,’ उनले भने । ५ लाख लगानीबाट सुरु भएको एफवान सफ्टले गरेको कामप्रति सञ्चालकहरु सन्तुष्ट छन् । कम्पनी अहिले ५० करोडको हाराहारीमा पुगेको छ । कम्पनीले गर्नुपर्ने धेरै विषय बाँकी रहेको उनको भनाइ छ । इसेवा र फोनपेले पब्लिकमा जाने तयारी पनि गरेका छन् । कोभिड–१९ ले गर्दा केही ढिलाई भए पनि अबको एक वर्षभित्र पब्लिकमा जाने उनले बताए । ‘नेपालमा प्रविधिमा भविश्य छ, जागिरभन्दा पनि सकेसम्म उद्यमी बन्न सक्नुपर्छ, चुनौती मोल्न र दुःख गर्न तयार भयो भने नेपालमा पनि अवसरहरु छन्, नेपालमै समस्या समाधान गर्छु भन्यो भने पनि सम्भावना छन्,’ उनले भने । अहिले एफवान सफ्ट विज्ञ तथा अनुभवीहरुलाई कम्पनीहरुमा भित्र्याएर एग्रेसिभ बिजनेसभन्दा पनि यसको स्थिरतामा ध्यान दिइरहेको उनले बताए । युवाहरुले सुरु गरेर बजारको लिडिङ पोजिसनमा स्थापित यस कम्पनीमा शशिन जोशी, परशुराम कुँवर क्षेत्री जस्ता भेट्रान पूर्व बैङ्कर्सलाई सञ्चालकको भूमिका दिइएको छ । यसको उद्देश्य कम्पनीलाई अझ विश्वासिलो र दीगो बनाउनु रहेको उनी बताउँछन् । (देशविकास पत्रिकाको वर्षअङ्कबाट) सम्बन्धित सामग्री : बुबाको जग गोल्डस्टारलाई ‘विश्व ब्राण्ड’ बनाउन तम्सिएको जोडी विजय राजभण्डारी अर्थात् निर्माण क्षेत्रका पायोनियर म अघिअघि पैसा पछिपछि, ‘दुई वर्षभित्रै उत्कृष्ट करदाता बन्छु’ मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति ‘सक्रिय व्यवसायिक जीवनबाट विश्राम लिन्छु, वास्तविक किसान बनेर देशलाई आत्मनिर्भर बनाउँछु’ नवीन शर्मा: १२ हजार ऋणबाट नेम इन्स्टिच्युट सुरु, एमबिबिएसको टपरदेखि ट्याक्सी चालकसम्म जसले नेपालमा केबलकार क्रान्ति ल्याए गाडी र जग्गा बेचेर बैंक किनेँ, नेपालीले पनि बैंक चलाउन सक्छन् भन्ने स्थापित गरेँ सेयरबाट उद्यमी, ‘१० वर्षपछि अर्कै हुन्छ अम्बिका’ अर्बपति सन्यासी, पोल्ट्रीका फादर चम्किँदै चन्द्र, चौतर्फी प्रशंसा हजारबाट सुरु भएको अल्फाबिटा अर्बको पुग्यो, कन्सल्टेन्सीमा यसरी बन्यो सफल