नेपालमा पहिलोपटक हुन लागेकाे एसियन प्रिमियर लिग सुरु नहुँदै विवादमा
काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एसियन प्रिमियर लिग (एपिएल) टी–२० क्रिकेट प्रतियोगिता सुरु नहुँदै विवादमा तानिएको छ। भारतको चण्डीगढस्थित अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पारदर्शितामा क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता नभई कुनै पनि क्रिकेट लिग नहुने बताउँदै सिप्यानले एपिएलको नियतमै शंका गरेको छ। सिप्यानका महासचिव तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सोमबार विज्ञप्तिमार्फत एपिएलको पारदर्शितामा प्रश्न उठाएका छन्। प्रतियोगिताबाट नेपाली खेलाडीलाई कुनै फाइदा नहुने उनको दाबी छ। ‘आयोजक, टोलीका मालिक तथा आर्थिक कुराको पूर्ण जानकारी नभएकाले प्रतियोगिता पारदर्शी तबरले हुन लागेको छैन, पारदर्शी बनाउन सम्बन्धित पक्षसँग माग गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ। एपिएल नेपालमा आयोजना हुनु राम्रो भए पनि नेपाली खेलाडी तथा अफिसियलको कुनै संलग्नता नहुनु निराशाजनक भएको विज्ञप्तिमा उल्लेख छ। आइसिसीको अनुमति लिनुपर्दैनः परिषद् राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिता क्लबस्तरीय भएकाले आइसिसीको अनुमति लिन नपर्ने बताए। ‘उनीहरूले प्रतियोगिताका नाममा क्लबस्तरीय राख्न छुटाएका छन्। मैले क्लब राख्न भनिसकेको छु,’ विष्टले भने, ‘क्लब नराखे खेल सञ्चालन गर्न नदिने चेतावनी आयोजकलाई दिएको छु।’ प्रतियोगिताबाट नेपाललाई फाइदा हुने दाबी पनि विष्टको छ। ‘हामी खेल पर्यटनबाट फाइदा लिने कुरा गर्छौ,’ उनले भने, ‘एपिएलमा आउने खेलाडी, प्रशिक्षक तथा आयोजकको खर्चबाट देशलाई फाइदा पुग्छ।’ विष्टका अनुसार आयोजकले त्रिभुवन विश्वविद्यालयको मैदान प्रयोग गरेबापत हरेक दिनको २५ हजार रुपैयाँ दिने, ग्राउन्ड स्टाफलाई भत्ता दिने तथा प्रयोग भएका क्रिकेट सामम्री नेपालमै छाड्ने छन्। नेपालको तयारीमा असर एपिएलका कारण नेपाली यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षण प्रभावित हुने भएको छ। यू–१९ विश्वकप छनोटका लागि नेपालले सोमबारबाट त्रिवि मैदानमा बन्द प्रशिक्षण थालेको थियो। एपिएल पनि त्रिवि मैदानमै हुने भएकाले नेपाली टोलीको तयारी १५ दिन प्रभावित हुनेछ। राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एपिएलका कारण यू–१९ टोलीको तयारीमा असर गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। चार खेलाडी बिके ४–२० असारसम्म हुने तय भएको एपिएलमा ६ टोलीबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलसानसहित चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले भाग लिँदै छन्। नेपाल स्ट्रोम, इन्डियन स्टार्स, बंगलादेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंका लायन्स र दुबई वारियर्सले प्रतिस्पर्धा गर्नेछन्। सोमबार भएको अक्सनमार्फत नेपाल स्ट्रोममा चार नेपाली खेलाडी आबद्ध भएका छन्। युएइका स्वप्निल पटेल कप्तान रहेको नेपाल स्ट्रोममा भूपेन्द्र थापा १ लाख, सिद्धान्तराज शाही ७० हजार तथा अमरसिंह रटेउला र राजवीर सिंह समान ६० हजारमा नेपाल स्ट्रोममा बिक्री भएका छन्। परेश लोहनी आइकोनिक खेलाडीका रूपमा नेपाल स्ट्रोममा आबद्ध भएका छन्। आइसिसीको छैन मान्यता एपिएलका अध्यक्ष आरएस डन्डिवालले एपिएललाई आइसिसीको मान्यता नभएको स्वीकार गरेका छन्। ‘आइसिसीको मान्यता लिन हामीले प्रयास गरेका थियौँ, तर लामो प्रक्रिया लाग्ने भएकाले आइसिसीको मान्यताविना एपिएल हुन लागेको छ,’ डन्डिवालले भने, ‘तर, राष्ट्रिय खेलकुद परिषद्बाट भने आयोजना गर्न अनुमित लिएका छौँ।’ कप्तान पारसले भने आइसिसीले मान्यता नदिएका कारण प्रतियोगितामा क्रिकेट नियमको पालनामा हुनेमा शंका व्यक्त गरेका छन्। ‘एपिएल आयोजना गर्न आइसिसी तथा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले अनुमति दिएका छैनन्,’ पारसले भनेका छन्, ‘संसारको जुनसुकै स्थानमा आयोजना हुने सबै व्यावसायिक लिगले आइसिसीको एन्टिकरप्सन कानुनको पालना गर्नुपर्छ।’
अख्तियारले भन्याे काठमाडाैका कर्मचारी सबैभन्दा घुस्याहा, दाेस्राेमा बाँकेका
काठमाडौं । सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ। त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ। नापी र मालपोत कार्यालय भ्रष्टाचारको अखडाका रूपमा पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। आयोगले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीमध्ये नापी कार्यालयका नायब सुब्बा रहेका छन्। रंगेहात पक्राउ पर्नेमा नापी कार्यालयका कर्मचारी बढी रहेको आयोगले जनाएको छ। चालू आर्थिक वर्षको जेठ २८ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेका छन्। नापी कार्यालयमा जग्गा नापजाँच तथा बाटो मिलाउने भन्दै अमिनहरूले बढी नै घुस खाने गरेको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी घुसबापतको रकम कारोबार हुने गरेको छ। त्यसैगरी बाँके जिल्ला दोस्रो नम्बरमा परेको छ। सबैभन्दा धेरै कर्मचारी काठमाडौं उपत्यकाबाट घुससहित रंगेहात पक्राउ परेका छन्। काठमाडौंबाट १९, ललितपुरबाट तीन र भक्तपुरबाट दुई गरी उपत्यकाबाट २४ जनालाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ। बाँकेबाट पाँच कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्। सेवाग्राहीबाट घुस लेनदेनको गर्ने काम भने देशभरि नै रहेको अख्तियारले जनाएको छ। ‘धेरैजसो घुस लिने काम नापी तथा मालपोत विभागमा हुने गरेको पाइएको छ। त्यहाँ विभिन्न बहानामा घुस लिइन्छ ढिलासुस्ती गरिन्छ र सेवाग्राहीलाई दुःख दिने गरेको पाइयो,’ आयोगका प्रवक्ता जीवराज कोइरालाले भने। अख्तियारले नापी कार्यालयमा सबैभन्दा धेरै १४ कर्मचारीलाई रंगेहात कारबाही गरेको छ। दोस्रोमा मालपोत कार्यालय छ, जहाँबाट सात जना कारबाहीमा परेका छन्।यसैगरी स्थानीय तह र यातायात कार्यालयमा समान पाँच/पाँच जना कारबाहीमा परेको अख्तियारले जनाएको छ। आयोगका अनुसार एक वर्षभित्रमा नायब सुब्बा २५ र उपसचिव पाँच जना पक्राउ परेका छन्। अख्तियारले चालू आर्थिक वर्षको २८ जेठभित्र ७६ जनालाई घुससहित रंगेहात पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको छ। घुस दिने र लिने दुवै दोषी हुने भए पनि घुस दिने व्यक्तिहरू पक्राउ परेका छैनन्। कतिपय सन्दर्भमा आयोगकै सेटिङका कर्मचारीहरू पक्राउ पर्ने भएकाले घुस दिने व्यक्तिहरू पक्राउ नपरेका हुन्। आयोगले दिएको विवरणअनुसार शाखा अधिकृत १५ जना, ओभरसियर र अमिन नौ, लेखापढी व्यवसायी सात, कार्यालय सहयोगी दुई र कुल्ली एक जना पक्राउ परेका छन्। पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने बेला घुसको लेनदेन बढी हुने गरेको आयोगले जनाएको छ। जेठमा १० जना, चैतमा नौ र वैशाखमा पाँच जनालाई पक्राउ गरेको हो। यसैगरी साउनमा सात जना भदौ र पुसमा तीन÷तीन जनालाई पक्राउ गरेको छ। यसैगरी असोज र फागुनमा चार÷चार जना तथा मंसिर र माघमा ६/६ जना पक्राउ परेको अख्तियारको तथ्यांकमा उल्लेख छ। राजधानी दैनिकबाट ।
ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न, बिजेतालाई निशुल्क छात्रवृती तथा प्रमाण पत्र
काठमाडौं । तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ । जस अन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जस अनुसार गायन तर्फ संजिव श्रेष्ठ प्रथम , सरोज तामाङ्ग दृतिय र अर्मन चौधरी तृतिय भएका छन् । हाजिरजवाफ तर्फ रोशन बिष्ट प्रथम, राजबाबु चौधरी दृतिय, र शिशिर दाहाल तृतिय भएका छन् । त्यसै गरी डान्स बिद्या तर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का दृतिय र सुनिल सिंह तृतीय भएका छन् । बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले एक समारोहकाबिच सम्मान गरेका थिए । त्यसरी नै ट्रिटन ट्यालेन्ट हन्ट २०७४ को दोस्रो संकायका बिजेताले कलेजमा निशुल्क छात्रवृती पुरस्कार तथा प्रमाण पत्र पाएका छन् । स्मरण रहोस ट्रिटन कलेजले गतबर्ष देखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राचार्य प्रा. डा. बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथ प्रसाद शाह, सह प्राचार्य श्रीकृष्ण बिष्ट लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।