सप्तरीको शम्भुनाथमा एकमहिने मेला सुरु
राजविराज, २ वैशाख । सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकामा रहेका शम्भुनाथ मन्दिरमा बुधबारबाट एकमहिने मेला सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै यो मन्दिरमा प्रत्येक बर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको स्थानीयवासी श्रवण चौधरीले बताए । उनका अनुसार यहाँ एक महिनासम्म ठूलो मेला लाग्ने गरेको र यस मेलामा सप्तरीसहित सुनसरी, मोरङ र सिरहाबाट पूजापाठ तथा मेला भर्नका लागि आउने गरेको बताइएको छ । एक महिनासम्म लाग्ने मेलामा पूजाआजा गर्नाले वर्षभरि सुख, शान्ति र घरपरिवारमा अमनचयन प्राप्ति हुने जनविश्वास रहिआएको छ । यहाँको मेलामा एक महिनासम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै नाचगान, रम्लिला लगायतका कार्यक्रम हुने गरेको छ । यस्तै सप्तरीको हनुमाननगर योगनी माई नगरपालिका–२ सकरदहीमा दुईदिने मेला सुरु भएको छ । रासस
पोखरामा चैत २८ गतेदेखि ५ दिने फेवा महोत्सव, हेर्न जाने पर्यटकलाई आवसमा बीस प्रतिशत छुट
काठमाडौं, २२ चैत । पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइनेछ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो । “आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,” पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने । नेपालमा मुख्य शहरहरुमा अग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् । भूकम्प र नाकावन्दीले असर गरेको पर्यटनलाई उकास्न महोत्सवबाट सहयोग पुग्ने महोत्सवका संयोजक विकल तुलाचन बताउछन् । रासस