हिमालयन बैंकद्धारा मैतीदेवी मन्दिर परिसरमा ८ थान सिसिटीभी क्यामेरा जडान
काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको छ । बैंकले विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सिसिटीभी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण बिहीबार एक समारोहकाबीच हस्तान्तरण गरेको छ । उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्दछ । बैंकले ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले यस कार्य गरेको हो । यस अवसरमा बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सिसिटीभी सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरे । साथै, श्रेष्ठले सिसिटीभी जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरका छन् । यसैगरि पुरातत्व विभागका महा निर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए ।
स्वीकृती नलिएका अवैध खानी प्रहरी सेटिङमा, स्थानीयको गुनासो सुन्ने कोही भएन
ललितपुर । लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु चापागाउँ प्रहरी वृत्त अगाडि नै भएर निर्वाध चलछन् । तर प्रहरीले तिनलाई देख्दैनन् । अवैध खानी र क्रसर उद्योगहरु टीका भैरव प्रहरी चौकीबाट ५ सय मिटरको दुरीमा छन् । बुरुन्चुली क्षेत्रमा सञ्चालित क्रसरहरुको आवाज चौकीमा पनि सुनिन्छ । विना स्वीकृति चलिरहेका यी उद्योगहरु रोक्न न चापागाँउ प्रहरीले प्रयास गरेको छ । न त टीकाभैरव प्रहरीले नै । यी दुई बृत्त र चौकीमात्रै होइन, महानगरिय प्रहरी परिसर जावलाखेल, जिल्ला खानी अनुगमन समिति पनि उस्तै मौन छन् । सेटिङमा खानी तथा क्रसर सञ्चालन भइरहेकोले सबै चुप लागेको नल्लु क्षेत्रका स्थानीयको आरोप छ । कान्तिपुर दैनिकबाट ।
हातले बम समातेर फाल्ने ‘हवल्दार एकाएक हिरो’, गृहमन्त्रीले गरे पुरस्कार दिने घोषणा
काठमाडौं । हिजो निर्वाचनको सुरक्षा व्यवस्था गर्ने क्रममा दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले दाङमा साहसी काम गर्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री शर्मा र प्रहरीका उच्च अधिकारीले हवल्दार रानालाई टेलिफोन गरेर साहसिक काम गरेकोमा स्याबासी दिएका थिए । गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् । दाङको तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । तर, नेपाल प्रहरीका साहसी हवल्दार रानाले त्यो बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए । आफ्नो ज्यानको पर्वाह नगरी बम टिपेर फाल्ने साहस देखाएकोमा उनको वाहवाही भएको छ । सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा गरेका थिए ।