पञ्चकन्या ग्र्पद्धारा विरुवा गोडमेल, काँटछाँट, मलजल तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं, ५ साउन । पञ्चकन्या ग्रपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटी मण्डपको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरु गोडमेल, काँटछाँट, मलजल तथा सो स्थान वरपर सरसफाई गरेको छ । बढ्दो वातावरण विनाशलाई थोरै मात्रामा भएपनि कम गर्न घना क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणले थप सघाउ पुग्ने विश्वास पञ्चकन्या ग्रुपले लिएको छ । विगतमा ललितपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाको सहकार्यमा उक्त स्थानहरुमा विरुवा रोपी ग्रुपको तर्फबाट ट्र–गार्ड राखी संरक्षण तथा हेरचाह हुँदै आएको छ । उक्त कार्यक्रम मा ग्रुपका सबै तहका कर्मचारीहरु गरी ८० जनाको सहभागिता रहेको ग्रुपले जनाएको छ ।

नवविवाहित दम्पत्तीलाई स्वागत गर्न पोखरामा हनिमुन लेक बनाईदै

पोखरा, २७ साउन । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवद्र्धन गर्न लागिएको छ । दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ ।  लेखनाथ नगपालिकाको चौंथौ ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल रहेका छन् ।   यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमल लगायतका फूलका साथै नाभो, गुँद जस्ता वनस्पति पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएका कारण यसलाई ‘भर्जिन’ तालका रुपमा समेत लिने गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । तालको सौन्दर्य बचाइराख्न समिति एवम् स्थानीयवासी क्रियाशील रहेको बताउँदै उनी भन्छन्– “पोखराका अन्य ताल भन्दा यो सुरक्षित छ । वरिपरि वस्ती छैन । चारैतिर सामुदायिक वनबाट घेरिएका कारण पनि यो ताललाई ‘भर्जिन’ मानिएको हो ।”  तालमा पछिल्लो समयमा बढिरहेको पर्यटकको आकर्षणलाई लक्ष्य गरी वरिपरि पदमार्ग निर्माण गरिएको छ । दिपाङ ताल संरक्षण समितिको विशेष सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा २९ लाख रुपैयाँको लागतमा आव २०६६÷६७ मा बाँध निर्माण गरिएको थियो ।  पछिल्लो समयमा पर्यटन मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डले विनियोजन गरेको ३० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको र सोही बजेटबाट ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल निर्माण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए । “दृश्यावलोकनका लागि प्रमी प्रेमिकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई आकर्षण गर्ने ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने लक्ष्य राखेको छौं,” उनले भने – “यहाँ आउने पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थल जस्ता पूर्वाधारको निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।” ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान हुनुका साथै तालको अवलोकनमा आउने पर्यटक विशेष लाभान्वित हुने विश्वास लिइएको छ ।  साइकल कुदाउन मिल्ने गरी निर्माण गरिएको पदमार्गको दायाँबायाँ विभिन्न जातका एक हजार २०० विरुवा रोपिएका छन् भने समितिले नजिकैको सार्वजनिक जग्गामा वनभोज स्थल समेत बनाएको छ । पछिल्लो समयमा तालमा बढिरहेको जालो गम्भीर चुनौतीका रुपमा देखिएको भन्दै दिपाङ ताल संरक्षण समितिले राष्ट्रिय ताल संरक्षण विकास समिति र रामसारको सचिवालयमा त्यसलाई हटाउन र समग्र तालको सुन्दरतालाई कायम गर्न बजेट समेत माग गरेको छ । दिपाङ तालको वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे वन सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत रहेका छन् । वरिपरिका सामुदायिक वनका कारण पनि दिपाङ ताल संरक्षित रहेको स्थानीय समाजसेवी एवम् पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व सचिव गोमानाथ लामिछाने बताए । उनका अनुसार तालको अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा वनभोज स्थल निर्माण गरिएको छ ।  लेखनाथ नगरपालिका कार्यालयको सिफारिसमा भवन तथा सहरी विकास कार्यालयबाट करिब नौ लाख रुपैयाँ र उपभोक्ता समितिको करिब एक लाख रुपैयाँ गरी लगभग १० लाख रुपैयाँको लागतमा दुई वटा ट्रस, खानेपानी, शौचालय लगायतका वनभोजस्थलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लामिछानेले जानकारी दिए । लगभग ४०० जना क्षमताको वनभोजस्थलमा रमाउँदै ताल र वरपरको दृश्यावलोकन गर्न पाउनु यहाँको विशिष्टता भएको उनको भनाइ छ । दिपाङसहित लेखनाथका सातवटै तालको संरक्षण र विकासलाई लेखनाथ नगरपालिकाको कार्यालयले आफ्नो प्राथमिकतामा राखेको छ । दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने स्थानीयवासी तथा संरक्षण समितिको सोचलाई मूर्तरुप दिन नगरपालिका कार्यालयबाट निरन्तर सहयोग गर्ने वचनबद्धता लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले प्रकट गरे । दिपाङ सहितका पोखराका नौ वटा ताल रामसार सूचीमा सूचीकृत भएसँगै यिनको संरक्षणको विषयले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासो पाउन थालेको छ ।  हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनलाई रामसारमा सूचीकृत पोखराका तालहरूको व्यवस्थापन गर्ने योजना तयार पार्ने जिम्मा दिइएकामा फाउन्डेसन सरोकारवालाबीच छलफल गराउँदै उक्त कार्यलाई निष्कर्षमा पु¥याउन क्रियाशील बनेको अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए । उहाँका अनुसार सरोकारवालासँगको छलफलपछि त्यहाँको आवश्यकता समेतलाई दृष्टिगत गरी व्यवस्थापन योजना तयार पारिने छ । आगामी सेप्टेम्बरभित्रमा योजनाको प्रारम्भिक मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ भने त्यस अघि विभिन्न विज्ञसहितको सहभागितामा तालसँग सम्बन्धित व्यक्ति र समुदायबीच अन्तरक्रिया गरिने भएको छ । कार्यक्रम अनुरुप आगामी सेप्टेम्बर १३ मा रुपा र बेगनास ताल, सेप्टेम्बर १४ मा खास्टे, न्युरेनी, गुँदे, मैदी र दिपाङ तालका साथै १५ र १६ मा फेवातालका सरोकारवालाबीच छलफल राखिने पोखरेलले बताइ । प्राकृतिक सुन्दरता बोकेका लेखनाथका दिपाङ सहितका तालको व्यवस्थापन योजना तयार भएसँगै यिनीहरुको दीर्घकालीन संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

पिछडिएका समुदायलाई अधिकार उपलब्ध गराउन माग

काठमाडौं, २५ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले संविधान संशोधनबाट आदिवासी, जनजाति तथा पिछडिएका वर्गका समुदायलाई अधिकार उपलब्ध गराउन माग गरेको छ । महासङ्घले २२औँ विश्व आदिवासी दिवसका अवसरमा आज आयोजना गरेको पदयात्राको शुभारम्भ गर्दै महासङ्घका अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिसँग विगतमा सरकारसँग भएका सहमति संविधानमा समावेश नभएकाले संविधान संशोधन गरी अधिकारको प्रत्याभूत गर्नुपर्नेमा जोड दिए । सांसद कुमालले मातृ भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने माग पनि गरे । सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठले मुलुकको सुरक्षा तथा विशिष्ट संस्कृतिलाई संरक्षण गरेर बसेका आदिवासीलाई पहिचान सहितको अधिकार दिनुपर्नेमा जोड दिए । संयुक्त राष्ट्र सङ्घले विश्वका आदिवासीको संस्कृति संरक्षण गर्ने उद्देश्यले २२ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय रुपमा नै दिवस मनाउन लागेको हो । रासस