आज नेपालमा हुन्थे भने शिवजीलाई लाग्थे यी ६ मुद्धा
काठमाडौं । यतिबेला पशुपति सहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागिरहेको छ । हिन्दु धर्मावलम्बीहरुका लागि शिव रात्री पर्वको बिशेष महत्व छ । भगवान शिवको आराधना गर्दै आज शिवको प्रसादका रुपमा गाँजा, भाङ, धतुरो सेवन गर्ने चलन छ । पशुपति क्षेत्रमा यी वस्तुहरुको सेवनलाई प्रतिबन्ध लगाईएको छ । तर भक्तजनहरुले सेवन गर्न भने छाडेका छैनन् । गाँजा सेवनलाई कानुनले प्रतिबन्ध लगाएको छ । यदि आजका दिनमा भगवन शिव नेपालमा हुन्थे भने उनलाई गाँजा सेवन गरे वापत मुद्धा लाग्ने थियो । भगवान शिवलाई नेपालमा लागु पदार्थ सेवन तथा ओसारपसार मद्धासहित अन्य ५ वटा कसुरमा मुद्धा लाग्ने देखिन्छ । यी हुन भगवान शिवलाई नेपालमा लाग्न सक्ने आधा दर्जन मुद्धा १) गाँजा सेवन गरेकोमा लागूपदार्थ सेवन तथा ओसारपसार मुद्दा । २) बाघको छाला ओढी हिडेकाले वन्यजन्तु चोरीशिकार मुद्दा । ३) दक्ष प्रजापति र आफ्नै छोरो गणेशको टाउको छिनालेकोमा कर्तव्य ज्यान मुद्दा । ४) विष्णुलाई जग्य(विवाह मण्डपमा) राखी सिन्दुर हाल्नेबेलामा झुक्याएर सतिदेवीलाई फसाएकोमा जालसाजी मुद्दा । ५) ७ वर्षे गोमा ब्राह्णिणीलाई विहे गर्न बाध्य पारेकोमा बालविवाह मुद्दा । ६) यी सब गर्न ब्रह्मा र बिष्णुको मद्दत लिने हुनाले संगठित अपराधको मुद्दा
उपभोक्ता समिति मार्फत रानीपोखरीको पुनर्निर्माण शुरु, ४० जना कालिगढ काममा खटिए
काठमाडौँ । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए । उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरे । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए । रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन् । समितिका अध्यक्ष स्थापितले आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउने बताए । काठमाडौं महानगरपाललिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले रानीपोखरीको पुनर्निर्माणका लागि वडाले आवश्यक सबै सहयोग गर्ने बताए । पुनर्निर्माण प्राधिकरणले रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन गरेको छ । रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत गर्ने प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।
उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा तीनवटै सुरक्षा निकाय, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, मुक्तिनाथ विकास बैंकलगायत दुई दर्जन संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । नदी किनारको ललितपुरतिरको भागमा म्याद सकिएका औषधि ल्याएर गाडी फोहर बनाउँदै आएको इञ्जेक्सन नेपाललाई महानगरपालिकाले २० हजार जरिवाना गराएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २६५ हप्तामा महाशिवरात्रिको तयारीस्वरुप गौरीघाटबाट गुह्येश्वरी मन्दिर अघिको नदी किनारसम्म सफाइ गरियो । यसैगरी वाग्मती सफाइ अभियानका अभियानकर्मीले दुई वर्षपछि मकर मेला लाग्ने पनौतीको त्रिवेणीधाममा सफाइ गरेका छन् । पुण्यवती, लीलावती र रुद्रवती गरी तीन नदीको सङ्गमस्थलमा सफाइ गरिएको छ । सफाइमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानकर्मीलगायत स्थानीयवासीको सक्रिय सहभागिता थियो । दुवै सफाइ अभियानबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । रुद्रमती सफाइ अभियानको २५८ हप्तामा रातोपुल–सेतोपुल–मैतीदेवी क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा काठमाडौँ महानगरपालिका–३० सहितका २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइको २३० औँ हप्तामा तारकेश्वर नगरपालिका–१० क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो । सफाइमा वडाध्यक्ष अमृत थापा, स्थानीय महिला समूह, तीनवटै सुरक्षा निकाय, तारकेश्वर र विनायक सफाइ कम्पनी प्रालिको पनि सक्रियता थियो । तिलगङ्गा क्षेत्रको वाग्मती सफाइको २०४ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहलगायत संस्थाको सक्रियतामा सफाइ अभियान भइरहेको छ । चक्रपथ सफाइको ९९ औँ हप्तामा नारायणगोपाल चोकबाट ग्रीनसिटी अस्पतालसम्म सफाइ गरियो । २८० अभियानकर्मीको सक्रियतामा भएको सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । विसं २०७३ वैशाख २ गतेदेखि शुरु भएको सफाइ अभियान यही फागुन २५ गते शनिबार १०० हप्ता पूरा गर्दैछ । १०० हप्ता पूरा गरेको अवसरमा अर्को शनिबार विशेष कार्यक्रमको तयारी गरिएको चक्रपथ सफाइ अभियानकर्मी तिलक बस्नेतले बताए । आलोकनगर सफाइको ९९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक प्रमिला पौडेलले बताइन् । सडक एवम् नदी किनारमा रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने सम्बन्धमा टोलवासीबीच छलफल पनि भएको उनले बताए । चक्रपथ बाफल खण्ड सफाइको ८१ औँ हप्तामा कलङ्कीचोकबाट स्युचाटार पुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए । आइतबारदेखि वीरगञ्जमा शुरु हुने नेपालकै पहिलो अश्वमेध महायज्ञको पूर्वसन्ध्यामा आज त्यहाँ पनि वाग्मती सफाइ महाअभियानका अभियानकर्मीले सफाइ गरेको गोविन्द काफ्लेले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानका प्रभावले हालसम्म देशका १०३ स्थानमा साप्ताहिक रुपमा सफाइ जागरण भइरहेको छ । रासस