विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडी नेयमार, हप्ताको आम्दानी दश लाख डलर
काठमाडौं । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्। नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, “म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु।“ चुनौतीका लागि तयार उनले भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु।“ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो। हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए। तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ। बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो। सहकार्य नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जे्न्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ। बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, “यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।“ त्यसको जवाफमा नेयमारले लेखे “धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु।“ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ। स्रोतः बीबीसी
राज्यलाई वार्षिक ७ करोडको व्ययभार थपेर पूर्वपदाधिकारीलाई सुविधा
काठमाडौं । पूर्वपदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयक पारित भएपछि राज्यकोषलाई वार्षिक करिब ७ करोड रुपैयाँ थप ब्याभार पर्ने भएको छ । संसदबाट छलफलका लागि राज्य ब्यवस्था समितिमा पठाईएको पूर्वपदाधिकारलाई सुविधा प्रदान गर्ने सम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्न दबाब बढेपछि सरकारले फास्ट ट्रयाकबाट पारित गर्न लागेको हो । पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपति, पूर्वसांसदहरुबाट छिटो गर्न दबाब आएपछि सरकार फास्ट ट्रयाकबाट विधेयक पारित गर्ने गृहकार्यमा जुटेको छ। संसदले समितिमा पठाएको चार महिनासम्म छलफल नभए पनि लअहिले दबाब बढेकाले समितिले छिट्टै टुंग्याउन लागेको हो। यी विधेयक पारित भएमा पूर्वपदाधिकारीलाई दिने सवारीसाधन र सुरक्षाकर्मीका लागि राज्यकोषबाट ठूलो रकम खर्च हुनेछ। यस्ते अन्य सुविधा उपलब्ध गराउँदा वार्षिक ६ करोड ८७ लाख ६५ हजार २ सय ९२ रूपैयाँ व्ययभार थपिनेछ। नागरिक दैनिकबाट ।
प्रहरीकै मिलेमतोमा सुन तस्करी, सशस्त्रसँग तस्करको साँठगाँठ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ। प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो। विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ। मानन्धर विमानस्थलमै कार्यरत थिए। मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए। उनीसँगै आएका कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छिन्। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए। सुन तस्करी हुने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनैजना विमानस्थलको अराइभलस्थित शौचालयबाट पक्राउ परेका हुन्। शौचालयबाट सुन पास गराउन खोज्दा फन्दामा प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए। उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किए। पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। रजाली र सई मानन्धरबीच पटक पटक फोनमा कुरा भएको थियो। सशस्त्रका सईले धेरै पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन्। रजाली पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए। सुन तस्करीकै लागि उनी पटक पटक विदेश जाने गरेको प्रहरीको आशंका छ। उनले सो सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बताएका थिए। विमानस्थलमा कार्यरत प्रहरीलाई चेकिङ नहुने भएकाले शौचालयबाट सामान बाहिरसम्म पास गरिँदै आएको थियो। नेपाल प्रहरीपछि सशस्त्र प्रहरीसँग तस्करको साँठगाँठ विमानस्थलबाट प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा पटक पटक सुन तस्करी हुँदै आएको बाहिर आइसकेको छ। गत २१ पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले साढे ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी र भन्सारका कर्मचारीकै मिलेमतोमा दुई वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको थियो। सिआईबीले एसएसपी श्याम खत्री तथा भन्सारका कर्मचारीलाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो। यसपटक भने सशस्त्र प्रहरीको मिलमतोमा सुन तस्करी हुँदै आएको खुलेको छ। नयाँ पत्रिका दैनिकबाट ।