थाइल्याण्डमा पदक जित्ने कराँते खेलाडीलाई एक्सपर्टद्वारा नगदसहित सम्मान 

काठमाडौँ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले थाइल्याण्डमा हालै सम्पन्न नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनशिपका पदक बिजेता खेलाडीलाई आइतबार काठमाण्डौमा नगद पुरस्कारसहित सम्मान गरेको छ । महाराजगञ्जस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित कार्यक्रममा सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्न सफल सबिना श्रेष्ठ, रजत पदक विजेता सोमी राई तथा कास्य पदक विजेताहरू राजकुमार रसाईली र अनिश लामिछानेलाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता श्रेष्ठलाई नगद ७ हजार रूपैयाँ, रजत पदक विजेता राईलाई ५ हजार रूपैयाँ तथा काश्य पदक विजेता रसाईली र लामिछानेलाई जनही ४ हजार रूपैयाँ, प्रमाणपत्र तथा अन्य उपहार प्रदान गरिएको हो । सो अवसरमा खेलाडीका प्रशिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, काठमाण्डौ महानगरपालिका ३ का वडाअध्यक्ष दीपक केसी, टोखा नगरपालिका ७ का वडाअध्यक्ष नरोत्तम राना, एक्सपर्ट फाउन्डेशनका अध्यक्ष देवीप्रसाद लम्साल लगायतको उपस्थिति थियो । कार्यक्रमलाई सम्वोधन गर्दै टोखा नगरपालिकाका प्रमुख अधिकारीले एक्सपर्टले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राष्ट्रका लागि पदक जित्ने खेलाडीलाई सम्मान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे । त्यसैगरी कामपा ३ का वडाध्यक्ष केसीले एक्सपर्टले नेपाली खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हौसला बढाउन गर्दै आएको कार्य निजी क्षेत्रसहित सबैका लागि अनुकरणीय रहेको उल्लेख गर्दै एक्सपर्टलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा एक्सपर्ट फाउन्डेशनका अध्यक्ष लम्सालले फाउण्डेशनले देशभर सामाजिक क्षेत्रमा गरेको कार्यको संक्षिप्त विवरण प्रस्तुत गरे । एक्सपर्ट महाराजगञ्जका निर्देशक जयराम अर्यालले पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्न पाउँदा आफूहरूलाई गर्व लागेको उल्लेख गरे । उनले पछिल्लो ५ वर्षयता क्रिकेट, फुटबल कराँतेसहित अन्य खेलकुद र खेलाडीहरूको क्षमता विकासमा एक्सपर्टले उदार मनले सहयोग गरिरहेको भन्दै आगामी दिनमा त्यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा सम्मानित खेलाडीहरूले राज्यका निकायले खासै चासो नदिएपनि एक्सपर्टले गरेको सम्मानबाट आफूहरु अत्यन्त खुशी भएको र हौसला मिलेको उल्लेख गरे ।

अवैध रूपमा उत्पादित एक्काइस सय लिटर घरेलु मदिरा नष्ट

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित कुवा चोक क्षेत्रमा अवैध रूपमा उत्पादन गरिएको करिब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आकस्मिक रूपमा छापा मारेर उत्पादन भइरहेको क्षेत्रबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो । प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले मदिरा उत्पादन भइरहेको क्षेत्रमा गएर अवैध घरेलु मदिरा र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको भाँडाकुडा र ड्रमसहित नियन्त्रणमा लिई स्थानीय वुद्धिजीवी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । रासस

डाँफे टोल विकासलाई मुक्तिनाथद्वारा डस्टबीन हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखालाई डस्टबीन हस्तान्तरण गरेको छ । टोखा-६, डाँफे बजार वरिपरिको सरसफाईमा ध्यान दिँदै बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लि. टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।