दुबै हात नभएकी पाइलट जेसिकालाई स्वागत
काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् । उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए । नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए । ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो । तर, नाटले यो सुविधा दिएको छ ।’, उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चहान्छु ।’
नाडाको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल डिलर्स एशोसिएशनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नाडाको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रममा अटो ब्यबशायी लगायत सर्वसाधारण सहभागी भएका थिए । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो सो को अबसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रम आउने बर्षहरुमा पनि राख्ने रक्तदान कार्यक्रमका संयोजक तथा नाडा सदस्य प्रकाश कपुरीले जानकारी दिए । नाडाका महासचिब कृष्णप्रसाद दुलालले उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीमा भइरहेको रगत अभाबलाई ध्यान दिदै ब्लड डोनेशन कार्यक्रमको आयोजना गरिएको बताए । १३९ पटक रगत दान गरेर सबै भन्दा धेरै पटक ब्लड डोनेट गर्ने महिलाको किर्तीमान कायम गर्ने नीता घिरैयाले पनि रगत दान गरेकी थिइन ।
बाढीपीडितलाई गाँसबाँसकै समस्या, अझैपनि रातभर जाग्राम बस्न बाध्य
मोरङ । मोरङका बाढीपीडितले भोकभोकै पालमुनि जाग्राम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक ७० रुपैयाँ प्रदान गरेको छ । तर विराटनगर–७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् । सामान्य त्रिपालको भरमा बसेका र वर्षात् भएको रात बिताउन जाग्राम नै बस्नुपर्ने बाध्यता छ । बाढीपीडित विराटनगर–७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । उनीहरुले दिएको एउटा त्रिपालले श्रीमती र चार छोरालाई यही त्रिपालमुनि दैनिकी बिताउनु परेको उनी सुनाउँछन् । उनले भने, “रातमा वर्षात् भएको अवस्थामा त त्रिपाल ओडेर रातभर जाग्राम बस्छौँ ।” बाढीका कारण विस्थापित भएकालाई फेरि पटकपटक पर्ने पानीले अझ त्रसित बनाउँछ । यसरी समस्यामा रहेकामा दिनेश मात्र छैनन्, उषा सहनी र रिङकुदेवी राय पनि यस्तै समस्यामा रहेको बताउँछन् । तीनसय बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उनीहरुको बिहान खाए साँझ के खाने समस्या छ । भएभरको सबै बाढीले बगाएपछि बिहान बेलुका के खाने भन्ने समस्यामा छन् । विराटनगर– ७ कै उषा सहनी भन्छन् “खाद्यान्नको अभावमा पानी पिएर रात कटाएका छौँ । सरकारले बाढीबाट विस्थापित भएका परिवारलाई दिने भनेर उपलब्ध गराउने रु ७० का बारेमा उनीहरुलाई केही थाहा छैन । पाएका पनि छैनन् अनि सोधीखोजीका लागि कोही पुगेको छैन । उनीहरु रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो भन्छन् । बाढीपीडित रिकु राय भन्छन्, “रु ७० भन्दा पनि सरकारले गतिलो त्रिपाल दिए हुन्थ्यो, राति राम्रोसँग सुत्न पाउँथ्यौ कि ?” बाढी प्रभावितलाई राज्यले दिने तत्कालीन राहत पुगेपनि बाढीपछिको अवस्थाको बारेमा खासै ध्यान गएको देखिँदैन । विराटनगर महानगरपालिका भन्छ, हामीले राहत बाँडेका छौँ । तर कहाँ गयो त त्यतिका राहत, तैँ चुप मैचुपको अवस्थामा छन् राहत वितरण गर्ने । यसको सोधीखोजी अहिलेको आवश्यकताको विषय बनिनुपर्ने बाढीपीडितको भनाइ छ । कोही राहतको पर्खाइमा हुने कोही लिएर गएको राहतको सही विवरण नदिने प्रवृत्ति ठीक नभएको बाढीपीडितको भनाइ छ । बाढी प्रभावित विगत साउन २७ गतेदेखि घरवारविहीन छन् । घर भएकाहरु घरमा फर्किए पनि घर बाढीले बगाएकाहरु कसरी घर फर्किने अनि कहाँ जाने ? भन्ने अन्यौलमा देखिन्छन् । तर विराटनगर महानगरपालिकाले भने पुनःस्थापनाको काम थालेको बताएको छ । महानगरका प्रमुख भीम पराजुलीका अनुसार एकपल्ट सबैलाई राहत प्रदान गरिएको छ । घरबारविहीनको पुनःस्थापना गर्ने काम सुचारु भएको छ । उनले भने, “पुनःस्थापनाको काम चाँडै गर्छौं ।” एक करोड रुपैयाँ भन्दा बढीको राहत वितरण यसैबीच, सांसद एवं एमाले मोरङका सचिव ऋषिकेष पोखरेलले मोरङ क्षेत्र नं १ का बाढीपीडितलाई एक करोड रुपैयाँभन्दा बढीको राहत सामग्री वितरण गरेका छन् । गत साउन २७ र २८ गते आएको अविरल वर्षापछि आएको बाढीले विस्थापित तथा प्रभावितलाई सांसद पोखरेलले साउन ३० गते यता रु एक करोड बढीको राहत सामग्री वितरण गरेका हुन् । बाढीले जिल्लाका विभिन्न क्षेत्र डुबानमा थिए । तीमध्ये विभिन्न खोला छेउमा बसोबास गर्दैआएका सर्वसाधारण विस्थापित भएका थिए । सो क्रमसँगै मोरङको रतुवामाई नगरपालिका, आँपगाछी, डाइनिया, उर्लाबारी, राजघाटलगायतका स्थानमा सो रकम बराबरको चामल, चिउरा, दाल, नुन, तेल, त्रिपाल, झुललगायतका राहतका सामग्री उनले वितरण गरेका हुन । उनले विस्थापित भएकाका लागि आवास निर्माणको समेत योजना बनाएको बताए । बाढीपीडितलाई खाद्यान्नको अभाव भइरहेका बेला राहत पाएपछि सो क्षेत्रका बाढीपीडित निक्कै खुशी भएका स्थानीयवासीले बताएका छन् । रासस