नेपालबाट करोडौं डलर तस्करी

काठमाडौं । घटना-१ : सोमबार रसुवाबाट ४३ हजार डलरसहित धादिङका ३७ वर्षीय सुशील गुरुङ पक्राउ परे । प्रहरीका अनुसार उनको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएपछि प्रहरीले राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाएको थियो । घटना-२ः  गत चैत ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली नागरिक पक्राउ परे । काठमाडौं नागार्जुन–१ की अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी–६ की संगीता लामा र लिशंखुपाखर–७ का विनोद लामा पक्राउ परेकी हुन् । प्रहरीले विमानस्थलबाट ह्यान्ड ब्यागेज चेकिङका क्रममा उनीहरू विदेशी मुद्रा बाहिर लैजान खोज्दै गर्दा पक्राउ परेका थिए । उनीहरूको साथबाट क्रमशः १० हजार, १० हजार र ८ हजार ९०० अमेरिकी डलर बरामद गरिएको थियो ।  घटना-३ः २०८० माघ २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परे । अवैध रुपमा लुकाएर लान लागेको अवस्थामा २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विन क्यानलाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरीका अनुसार मुलुकका विभिन्न स्थानबाट सात वर्षमा विदेशी मुद्रासहित नेपाली र विदेशी नागरिकसहित १ हजार ३० जना पक्राउ परेका छन् । विभिन्न मुलुकका नागरिक तथा नेपालीसहित विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ हजार ३० जना पक्राउ परेका हुन् । राजस्व अनुसन्धान विभागले सात वर्षमा विदेशी मुद्रा विनिमय अपचलनमा ६ सय ३ मुद्दा दर्ता गराएको छ । विभिन्न मुलुकका नागरिक तथ नेपालीसहित लाई विदेशी मुद्रा अपचलनमा ६ सय बढी मुद्दा चलाएको हो ।  राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ सय ८२ जना पक्राउ परेका थिए । सोही वर्ष विदेशी अपचलनको ९१ वटा मुद्दा चलाइएको थियो । ४ अर्ब ६१ करोड ५५ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा २ सय २६ जना पक्राउ परेका थिए । विभागले १ सय ४७ मुद्दा दर्ता गराएको थियो । १ अर्ब २२ करोड ९७ लाख बिगो रकमसहित मुद्दा दर्ता गराएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ मा १ सय १४ जना पक्राउ परेका थिए । जिल्ला अदालतमा १४ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा ९१ जना पक्राउ परेका थिए । सोही वर्ष ६० मुद्दा दर्ता भएका थिए र ३ अर्ब २४ करोड ६४ लाख बिगोसहितको मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा ६९ जना पक्राउ परेका थिए भने त्यसमध्ये ४३ वटा मुद्दा दर्ता हुँदा ६ करोड ४ लाख १२ हजार बिगोसहितको मुद्दा दर्ता भएको थियो । विभागको वार्षिक प्रतिवेदन अनुसार २०८०/०८१ मा १ सय ६४ जना पक्राउ परेका थिए । ८८ मुद्दा दर्ता भएका थिए । उनीहरूमाथि ४९ करोड ५७ लाख ७७ हजार बिगोसहितको मुद्दा दायर गरिएको थियो ।  आर्थिक वर्ष २०८१/०८२ मा १ सय ८४ जना पक्राउ परेका थिए । १ सय २० वटा मुद्दा दर्ता भएका थिए भने १ अर्ब २७ करोड ९९ लाख बिगोसहित मुद्दा दर्ता भएको थियो । मुलुकका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेर बुझाएपछि अनुसन्धान गरिने विभागका सूचना अधिकारी आशिष अर्यालले बताए । आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्लाको जिल्ला अदालतमा पेश गरिने उनले बताए ।  ‘बरामद भएका विदेशी मुद्रा तुरुन्तै राष्ट्र बैंकमा पठाइने गरिएको छ,’ उनले विकासन्युजसँग भने, ‘अदालतबाट मुद्दाको फैसला नहुँदै राष्ट्र बैंकमा आवश्यक कारबाहीका लागि पठाइन्छ ।’ विदेशी मुद्राको कारोबारमा विदेशी नागरिक र नेपाली दुवै पक्राउ पर्ने उनले जानकारी दिए । पक्राउ गरिएका सबैलाई मुद्दा चलाइने उनको भनाइ छ । एक जना नेपाली नागरिकले साथमा ३ हजार अमेरिकन डलर राखेर यात्रा गर्न पाउने र विदेशी नागरिकले ५ हजार डलर राखेर यात्रा गर्न पाउने व्यवस्था रहेको छ ।  भन्सारमा घोषणा गरेको प्रमाणित गरेर तोकेको भन्दा बढी डलर बोक्न पाइने अर्यालले उल्लेख गरे ।  त्यसैगरी, राष्ट्र बैंकले  नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार सम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँसम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म भन्सार घोषणा बिना नेपालमा भित्र्याउन सक्ने व्यवस्था गरेको छ । 

कन्सुलर विभागले ल्यायो 'मोफा मित्र एप'

काठमाडौं । विदेशमा रहेका नेपालीहरूका लागि कन्सुलर विभागले 'मोफा मित्र एप' ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप संचालनमा ल्याएको हो ।  मंगलबार परराष्ट्र मन्त्री शिशिर खनालले एक कार्यक्रमकाबीच उक्त एपको उद्घाटन गरेका छन् ।  आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड  गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले गुनासो तथा समस्या राख्ने सक्नेछन् । विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीहरूका उजुरी, गुनासा, उद्दार लगायतका कार्य उक्त एप मार्फत सहजै गर्न सक्ने बताइन् ।  हाल संचालनमा रहेको अनलाइन प्रणालीमा उजुरी तथा समस्या राख्न सक्छन् । तर, उक्त अनलाइनमा भने विभागमा उजुरी आईसकेपछि विभागले सम्बन्धित नियोगमा पठाउने गरेको छ। तर उक्त एप मार्फत सिधै नियोगमा उजुरी गर्ने उनको भनाइ छ।  उद्घाटनमा मन्त्री खनालले सहज पहुँच सुनिश्चित गर्नका लागि उक्त एप सञ्चालनमा ल्याइएको  बताए ।  विदेशमा रहेका नेपालीहरू समस्यामा परेको खण्डमा वा उद्दार गर्नुपर्ने अवस्था आएको खण्डमा एप मार्फत नै सहज हुने बताए ।   'एउटा एपले यहाहरूको गुनासो सम्बोधन हुन्छ भन्ने हाम्रो अपेक्षा छ । प्रविधिको अत्यधिक प्रयोग गरेर समस्यामा परेका नेपालीका समस्या समाधान गर्न हामी प्रतिवद्द छौँ,' मन्त्री खनालले भने ।  प्रविधिमार्फत हरेक नेपालीको हातहातमा पुर्याउने उदेश्यसहित एप सञ्चालनमा ल्याइएको  विभागले जनाएको छ ।  

मानसरोवर जाँदै गरेका मगर १४ हजार ५ सय डलरसहित पक्राउ

काठमाडौं । रसुवामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सोमबार साँझ रसुवा उत्तरगया गाउँपालिका ५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा ३९ वर्षीय मिनबहादुर मगर पक्राउ परेका हुन्। काठमाण्डौंबाट टिमुरेतर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख ७६०७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा ओखलढुङ्गा ठुलाछाप गाउँपालिकाका मगरलाई पक्राउ गरिएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए । मानसरोवर जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग ८ जना मलेसियन पर्यटक रहेको प्रवक्ता शाहले जानकारी दिए । शाहले मगरलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको जानकारी दिए ।  केही दिनअघि रसुवाबाटै ४३ हजार अमेरिकन डलरसहित सुशील गुरुङ पक्राउ परेका थिए ।