चेम्बर अध्यक्ष र साउदी राजदूतबीच द्विपक्षीय व्यापार तथा लगानीबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । चेम्बर सचिवालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायत विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि महत्वपूर्ण आर्थिक साझेदार रहेको उल्लेख गर्दै वैदेशिक रोजगारी, रेमिट्यान्स र लगानीका दृष्टिले यसको भूमिका महत्वपूर्ण रहेको बताए । उनका अनुसार हाल नेपाल–साउदी द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको छ, जसमा करिब ९ मिलियन डलर आयात र १ मिलियन डलर निर्यात रहेको छ । उनले श्रम सहकार्यसँगै व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे । अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडीबुटी तथा सूचना प्रविधि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै साउदी लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरे । उनले खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै साउदी अरेबियाले हजारौं नेपालीलाई रोजगारी उपलब्ध गराएको बताए । साथै, साउदी अरेबियाको ‘भिजन २०३०’ अन्तर्गत सञ्चालनमा रहेका नियोम, द रेड सी तथा क्युदिया जस्ता मेगा परियोजनामा नेपाली जनशक्ति र व्यवसायीले योगदान दिन सक्ने सम्भावना रहेको उनले बताए । राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानीका लागि थप खुला हुँदै गएको उल्लेख गर्दै आगामी सन् २०३४ को फिफा विश्वकप र एक्स्पो २०३० जस्ता कार्यक्रमले लगानीका नयाँ अवसर सिर्जना गर्ने बताए । छलफलका क्रममा पश्चिम एसियाको वर्तमान अवस्थाबारे पनि विचार आदानप्रदान भएको थियो । त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण सकारात्मक बन्दै गएको बताए । नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता श्रम सहकार्यबाट सुरु भएको सम्बन्ध व्यापार, पर्यटन, पूर्वाधार र लगानीसम्म विस्तार भएको छ ।

९७ लाख ५८ हजार ठगीको अभियोगमा ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो ।   अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख रुपैयाँ, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट १९ लाख रुपैयाँ, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट १० लाख रुपैयाँ, कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट १० लाख रुपैयाँ र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख रुपैयाँ ठगेका थिए ।      

गणतन्त्र दिवसमा टेलिकमको अफर, सस्तो डाटासहित दुई प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ‘गणतन्त्र दिवस अफर २०८३’ अन्तर्गत दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराएको जनाएको छ । टेलिकमका अनुसार ‘अनलिमिटेड लाइट’ प्याकेजमा ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ । तोकिएको डाटा सकिएपछि पनि बाँकी अवधिभर कम गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै ‘अनलिमिटेड प्रो’ प्याकेजमा ६९९ रुपैयाँमा दैनिक १० जीबी डाटा पाइनेछ । यसमा पनि तोकिएको सीमा सकिएपछि कम गतिमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजको अवधि ३० दिन रहनेछ । ग्राहकहरूले जेठ १४ देखि १६ गतेसम्म उक्त अफरअन्तर्गतका प्याकेज खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार पोस्टपेड प्रयोगकर्ताको हकमा प्याकेज शुल्क मासिक बिलमै समावेश हुनेछ । साथै, ग्राहकहरूले मोबाइलबाट *1415*11# डायल गरी वा नेपाल टेलिकम एपमार्फत पनि सेवा लिन सक्नेछन् ।