बौद्धमा वृद्धमाथि कैंची प्रहार गर्ने ‘टाइसन लामा’ पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा एक वृद्धमाथि कैंची प्रहार गरी गम्भीर घाइते बनाउने युवालाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उक्त घटनाका आरोपी ३४ वर्षीय ‘टाइसन लामा’ भनिने टाइजन याजकीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केही दिनअघि काठमाडौं महानगरपालिका वडा नम्बर ६, बौद्ध सानो टुसाल बस्ने ७९ वर्षीय वृद्धमाथि लामाले कैंची प्रहार गरेका थिए । बौद्धस्थित फुलबारी हिमालयन जाभा कफी शपको पछाडिको सडकखण्डमा उनले वृद्धलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि घटना बाहिर आएको थियो ।

कैंची प्रहारबाट घाइते भएका वृद्धलाई तत्काल उद्धार गरी चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पुर्याइएको थियो । त्यहाँ सामान्य उपचार गरिए पनि चोटको गम्भीरतालाई हेर्दै थप उपचारका लागि उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो ।

पक्राउ परेका लामा विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइसकिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार आरोपीमाथि ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ ।

आरोपीलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत सोधपुछ गरिरहेको जनाएको छ ।

Share News