काठमाडौं । रवि लामिछानेले पार्टीभित्र ‘म’ केन्द्रित सोच त्यागेर ‘हामी’को भावनामा रुपान्तरण हुनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले रास्वपाको पहिलो महाधिवेशन प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेको उल्लेख गर्दै हाल जिल्ला अधिवेशन जारी रहेको जानकारी दिएका छन् । अधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने उनले बताएका छन् ।
लामिछानेले पार्टीको हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्नु रास्वपाको मूल संस्कार भएको बताए । यस्ता लोकतान्त्रिक अभ्यासले पार्टीलाई थप परिपक्व बनाउने उनको भनाइ छ ।
उनले पार्टीभित्र पद र अवसरका लागि ‘योगदानको हिसाब–किताब’ खोज्ने तथा पुरानो सोच र प्रवृत्ति दोहोर्याउने अभ्यासप्रति असन्तुष्टि जनाएका छन् । यस्ता प्रवृत्तिले पार्टी जीवनमा नकारात्मक असर पार्ने भन्दै समयमै सच्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
त्यस्तै, नेतृत्वमा पुग्न भविष्यका संसदीय अवसरलाई आधार बनाएर मरिहत्ते गर्ने प्रवृत्तिलाई पनि उनले औंल्याएका छन् । यस्तो प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ ।
लामिछानेले पार्टीको वर्तमान अवस्थासम्म आइपुग्नुमा मतदाताको विवेक र पार्टी सदस्यहरूको समर्पण मुख्य कारण भएको उल्लेख गर्दै अब रास्वपालाई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्तिमा रुपान्तरण गर्ने लक्ष्य लिनुपर्ने बताएका छन् ।
संगठन विस्तारसँगै संकीर्ण सोच त्याग्दै पार्टीलाई थप समावेशी र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सबैलाई धैर्य, त्याग र समर्पणका साथ अघि बढ्न आह्वान गरेका छन् ।
अन्त्यमा उनले रास्वपाको पहिलो महाधिवेशन प्रक्रिया सभ्य, भव्य र सन्देशमूलक रूपमा सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।