प्रतिकिलोमिटर २७ रुपैयाँ भाडादर लागू गर्न राइडरहरूको माग

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका राइड शेयरिङ कम्पनीहरूले मनोमानी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै ‘प्रो राइडर समूह’ले चरणवद्ध आन्दोलन शुरु गरेको छ । समूहले आइतबार सरकारको कमजोर नियमनका कारण राइडरहरू मर्कामा परेको भन्दै विरोध प्रदर्शन गरेको हो ।  विगत लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीहरूसँग संवादको प्रयास गर्दा पनि समस्याहरूलाई बेवास्ता गरिएको भन्दै समूहले आक्रोश व्यक्त गरेको छ । उनीहरुले आइतबार काठमाडौंको बल्खुमा कालो पट्टी बाँधेर देशव्यापी प्रतीकात्मक विरोध जनाएका छन् । त्यस्तै सामूहिक धर्ना तथा सडकमा उपस्थिति प्रदर्शन, जनसमर्थन जुटाउन व्यापक हस्ताक्षर अभियान, ठूला स्तरको र्याली, जुलुस तथा नारा प्रदर्शन, रिले आन्दोलनमार्फत निरन्तर दबाब सिर्जना, अन्तिम विकल्पका रूपमा राइड शेयरिङ सेवा पूर्ण बन्द गर्ने उनीहरुको चेतावनी छ ।  राइडरहरूको धैर्यलाई कमजोरी ठानिएको भन्दै उनीहरूले ५ बुँदे माग अघि सारेका छन् । नेपालभर सञ्चालनमा रहेका सबै राइड शेयरिङ्ग एपहरूले प्रतिकिलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागू गर्नुपर्ने उनीहरुको माग छ ।  विभिन्न योजना, बोनस वा ‘गोल ट्रिप’का नाममा राइडरहरूको भाडादर घटाउने वा बढाउने कार्य तुरुन्त बन्द गरिनुपर्ने, नेपालमा आधिकारिक रूपमा दर्ता नभएका राइड शेयरिङ्ग कम्पनीहरूलाई तत्काल नियमनको दायरामा ल्याई सञ्चालनमा रोक लगाउनुपर्ने, विदेशी राइड शेयरिङ्ग एपहरूलाई स्पष्ट नियम कानूनभित्र ल्याइनुपर्ने र पालना नगरेमा नेपाल सरकारको मातहतमा नेपाली एप सञ्चालन गरिनुपर्ने, विदेशी एपहरूमार्फत दैनिक रूपमा ठूलो मात्रामा रकम बाहिरिने अवस्थालाई रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरुको माग छ । समूहले नेपाली एपहरूलाई प्रोत्साहन गर्न र सरकारद्वारा आवश्यक सेवा सुविधा उपलब्ध गराई सहज रूपमा सञ्चालन गर्न पहल गर्नुपर्नेमा समेत जोड दिएको छ ।    

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं । इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त भएकोमा  हार्दिक बधाई ज्ञापन गरेका छन् ।  मन्त्री खनाललाई आइतबार एक सन्देश पठाउँदै उनले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उनीसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।  यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।   

आईएमई इलेक्ट्रिकले पायो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर अवार्ड

काठमाडौं । मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई इलेक्ट्रिकले दक्षिण एसियाबाट ‘आउटस्ट्यान्डिङ बिजनेस पार्टनर’ अवार्ड प्राप्त गरेको छ । भारतको कोचीमा सम्पन्न मोटुल इन्डिया एनुअल कन्फ्रेन्समा आईएमई इलेक्ट्रिकले सो अवार्ड पाएको हो ।  मोटुल इन्डिया एन्ड साउथ एसियाका सीईओ नागेन्द्र पाई, मोटुल एसिया प्यासिफिकका सीईओ लियोनेल डान्टियाक र मोटुल इन्डियाका चेयरम्यान खेतान ब्यासले आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाललाई सो अवार्ड हस्तान्तरण गरे ।  आईएमई इलेक्ट्रिकले गरिरहेको द्रुत विकास र यसले नेपालमा लुब्रिकेन्ट बजारमा पारेको   प्रभावलाई  सो मान्यताले पुष्टि गरेको छ ।  मोटुल कमर्सियल भेइकल, कार, मोटरसाइकल, थ्री ह्विलर, ट्रयाक्टर र इन्डस्ट्रियल सेक्टरका लागि हाइपर्फमेन्स लुब्रिकेन्ट उपलब्ध गराउने कार्यमा विशेषज्ञ मानिन्छ ।