चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो

काठमाडौं । बिहीबार चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैँ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, र गुह्येश्वरी मन्दिरहरूमा पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको छ ।  चैते दशैँका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । उपत्यका बाहिरका गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका र ताप्लेजुङको पाथीभरा लगायतका प्रसिद्ध मन्दिरहरूमा पनि दर्शनार्थीको विशेष उपस्थिति रहेको छ । वर्षमा दुई पटक मनाइने दशैँमध्ये चैत्रमा मनाइने यो दशैँलाई ‘सानो दशैँ’ का रूपमा पनि लिइन्छ ।  असोजको बडादशैँ जस्तै यस दिन पनि शक्तिस्वरूपा भगवतीको विशेष पूजा गरिन्छ । चैते दशैँको भोलिपल्ट अर्थात चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा भोलि राम मन्दिरहरूमा विशेष उत्सव हुने गर्दछ ।        

१७ महिनादेखि चिकित्सकविहीन भेटेरिनरी केन्द्र, बैतडीका पशुपालक मारमा

बैतडी । पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १७ महिनादेखि  चिकित्सकविहीन हुँदा स्थानीय पशुपालक किसानलाई मर्का परेको छ ।    केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार चिकित्सक अभावका कारण उपचारमा समस्या भएको  छ । करारमा कार्यरत डाक्टरले त्यागपत्र दिएपछि केन्द्र चिकित्सकविहीन भएको हो ।  केन्द्रमा एक जना पशु चिकित्सकको दरबन्दी रहे पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्ति गर्न नसक्दा सेवा प्रवाहमा कठिनाइ भएको हो । गम्भीर प्रकृतिका बिरामी पशुको उपचारका लागि धनगढीबाट चिकित्सक बोलाउनुपर्ने परेको केन्द्रप्रमुख पन्तले बताए ।     

जीविकोपार्जन सुधारका लागि २ करोड २५ लाखको भैँसीपालन कार्यक्रम

अत्तरिया । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालनका लागि दुई करोड २५ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी दिए । भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने, 'भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पु¥याउने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन् ।'  कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापनलगायतमा किसानलाई अनुदान दिइने छ । अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्नेछ ।