खाडी जान लागेका कामदारहरू भन्छन् - 'साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ'
काठमाडौं । छोटो छुट्टीमा घर परिवार भेट्न आएका लिवेक महतलाई साथीहरूले तुरुन्तै कतार नआउनु सुझाव दिन्छन् । राम्रो आम्दानी भएको जागिर गुम्ने डरले बुटवलका २७ वर्षे महतले वैदेशिक रोजगार नगइ सुख छैन । युद्धको प्रवाह नगरी उनी दुई पटक रद्द भएको कतार यात्रा फेरि सुरु गर्दै छन् । उनी भन्छन्, 'साथीले नआइज भन्छन्, नजाऊ जागिर खोसिने डर छ ।' उनी घर आएको एक हप्तामा अमेरिका–इजराइल र इरान बीचको युद्ध सुरु भएको थियो । सुरुमा डर लागे पनि परिवार चलाउने आधार गुमाउन नचाहेको उनले सुनाए । होटलमा सेफको जागीर गरेर उनले मासिक दुई लाख आम्दानी गर्छन् । जुन रकम उनले घर चोखो पठाउँछन् । गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए । यही मार्च २५ तारिखमा कतार प्रस्तान गर्न लागेका उनले भने, 'जे त होला भनेर जाँदै छु, यहाँ बसेर के गर्नु आम्दानी छैन ।' युद्धको प्रभावलाई बेवास्ता गर्दै रोजागरमा जाने युवाहरूको बाध्यता छन् भने विदेशमा भएका कहिले घर फर्किने भन्ने प्रतिक्षामा छन् । कतारको एक कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत सुरवीर लामाले घर फर्किने मन बनाएको थुप्रै भयो । फर्किने अवस्था नरहेको उनकी श्रीमती रुमा लामाले बताइन् । छोराछोरीसहित काठमाडौंमा बसेकी काभ्रेपलाञ्चोककी रुमाले श्रीमान्लाई फर्किनु भने पनि घरको स्थितिले गर्दा फर्किन नमानेको बताउँछिन् । उनी भन्छन्, 'घर आएर छोराछोरी र तिमीलाई कसले पाल्छ ? बाध्यताले त्यही बस्नुभएको छ ।' रुमाका अनुसार दुई छोराछोरीको पढाइ खर्च र घर बनाउने सपनाले उनलाई खाडीमा जोखिम मोलेरै भए पनि मजदुरी गर्दै गरेको सुनाइन् । साउदी अरबमा १२ वर्षदेखि मजदुरी गर्दै आएका विशाल गैरेले सरकारले केही दिनदेखि रोकेको श्रम स्वीकृति खुलेकामा खुसी भए । श्रम स्वीकृत रोकिँदा काम गर्न जान नपाइने हो की भन्ने चिन्ताले सताएको बताए । उनले भने, 'उता गए, ज्यानको डर यता बसे परिवार पाल्न नसकिने डर । गरिबलाई जता सुकै डरै डर छ ।' यता नेपाल बिदामा आएका जोखिम मोलेरै भए पनि काममा फर्किन चाहन्छन् भने उता विदेशमा भएकाहरू आर्थिक मन्दी बढ्दै गएको र आफू सुरक्षित नभएको बताउँदै घर फर्किन चाहन्छन् । कुबेदको एक क्याफेमा वरिष्टाको कामदार रहेका विमल (नाम परिवर्तन) राईले मिलेसम्म स्वदेश फर्किन चाहन्छन् । अहिले सबै सामान्य जस्तो देखिन्छ तर, एरपोर्टमा, तेल खानी तिर बम हान्दा आफूलाई जोखिमपूर्ण महसुस भएको बताउँछन् । 'फर्किन पाए भने जागिरै छोडेर आउन तयार छु', उनी भन्छन्, 'कम्पनीहरू बन्द हुँदै छन्, आर्थिक सङ्कट देखिन थालेको छ ।' श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका (पश्चिम एसिया) युद्धको प्रभावका कारण सुरक्षालाई ध्यानमा राख्दै साउदी अरेविया, युएइ, कतार, कुबेत, बहराइन, ओमन, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजराइलसहित देशमा श्रम स्वीकृति स्थगन गरेको थियो । वैदेशिक रोजगार विभागमा चैत ३ गते रोकिएको श्रम स्वीकृति खुला भएपछि वैदेशीक रोजगारमा पुनःजाने श्रमिकको चाप बढेको छ । विभागको वैदेशिक श्रम स्वीकृति शाखाका निर्देशक खीलराज राईले अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दैनिक हजारदेखि एक हजार १०० सम्म रहेको जानकारी दिए । वैदेशिक रोजगार व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष सुजित श्रेष्ठका अनुसार रोजगारीमा जानु र सुरक्षित भएर बसे अहिले युद्ध क्षेत्र ग्रस्त कामदारहरूको चुनौती छ । उनका अनुसार नेपाल सरकारले यस्तो बेलामा सुरक्षाको केन्द्रलाई चनाखो गरी हेर्ने र नागरिकको काम गर्ने अधिकारको सुरक्षा सन्तुलित भएर दायित्व पूरा गर्नुपर्ने देखिन्छ । श्रमिकहरूको दबाबका कारण खुलाउँदै र वैदेशिक रोजगार विभागको माग अनुसार परराष्ट्र मन्त्रालयले चैत ३ सिफारिस गरे बमोजिम श्रम मन्त्रालयले स्थगन गरिएको श्रम स्वीकृति खुला गरिएको जनाएको छ । विज्ञप्ति नै जारी गरेर मन्त्रालयले स्थगन भएका मुलुकहरूमध्ये साउदी अरेविया, युएइ, कतार, ओमान, यमन, जोर्ड, टर्कीमा कार्यरत नेपाली श्रमिकलाई र बिदामा नेपाल आई पुनः उल्लेखित देशहरूमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यद्यपी सरकारले इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान देशमा भने श्रम स्वीकृति स्थगन रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार बिदामा घर आएका र रोजगारमा पुनःजान चाहने नेपाली कामदारका लागि भनेर निश्चित देशमा श्रम स्वीकृति दिएको छ । घर फर्किन चाहनेसँगै श्रम गर्न पुनःविदेश जाने नेपालीको भावना सम्बोधन गर्न आवश्यक देखिएको उनले सुनाए । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले छुट्टीमा विदेशबाट घर आएका नेपाली कामदारले समयमा जान नसेकमा रोजगार गुम्ने हुँदा उनीहरूलाई मात्रै पुनः श्रम स्वीकृति दिने निर्णय गरिएको बताए । प्रवक्ता क्षेत्रीले युद्ध प्रभावित क्षेत्रमा रहेका नेपाली कामदारले अति आवश्यक भए मात्रै घर आउने नभए त्यही सुरक्षित रहन आग्रह गरेका छन् । 'अवस्था सामान्य हुँदै छ, जहाँ हो त्यही सुरक्षित बस्न आग्रह गरेका छौँ', उनले भने । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार रु १७ लाख २९ हजार नेपाली खाडी मुलुकमा श्रमिक छन् । रासस
ट्राफिक प्रहरीको कारबाहीमा परे १७५ राइड सेयरिङ सवारीसाधन
काठमाडौं । अफलाइन रूपमा सञ्चालन हुँदै जथाभावी पिक एन्ड ड्रप गर्ने राइड सेयरिङ सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १७५ वटा सवारीसाधन कारबाहीमा परेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अनलाइन अनुमति बिना अफलाइन रूपमा सवारी सञ्चालन गर्ने तथा जथाभावी पिक एन्ड ड्रप गर्ने चालकलाई कारबाही गरिएको जनाएको छ । मापदण्डअनुसारका सवारीसाधन नभएको, सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने देखिएकाले कडाइका साथ निगरानी तथा कारबाही गरिएको ट्राफिक प्रहरीले उल्लेख गरेको छ ।
भायानेटको ‘वाइफाइ ६’ सेवा सार्वजनिक, घरभरि तीव्र गतिको इन्टरनेट उपलब्ध हुने
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले घरभित्र इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले प्रयोगकर्तालाई उच्च गति र स्थिर कनेक्टिभिटी अनुभव प्रदान गर्ने उद्देश्यले उक्त सेवा बजारमा ल्याएको जनाएको छ । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै एउटै घरमा धेरै उपकरण एकैपटक सञ्चालन गर्नुपर्ने आवश्यकता बढिरहेको सन्दर्भमा नयाँ प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ । पुरानो प्रविधिको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने वाइफाइ ६ ले लेटेन्सी न्यून बनाउँदै एकै समयमा मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ तथा कार्यालयसम्बन्धी काम सहज रूपमा सञ्चालन गर्न सहयोग गर्ने बताइएको छ । भायानेटले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका उच्च गतिको वाइफाइ ६ प्याकेज उपलब्ध गराएको छ । कम्पनीका अनुसार २५० एमबीपीएस गतिको वार्षिक योजना भ्याटसहित १३ हजार ८ सय रुपैयाँमा उपलब्ध हुनेछ । वार्षिक योजना लिने ग्राहकलाई थप एक महिना इन्टरनेट सेवा निःशुल्क प्रदान गरिनेछ । घरको सबै कुनासम्म समान रूपमा इन्टरनेट सिग्नल पुर्याउने उद्देश्यले कम्पनीले भ्याटसहित ३ हजार ५ सय रुपैयाँमा ‘वाइफाइ ६ मेस’ राउटरको विकल्प पनि उपलब्ध गराएको छ । मेस प्रणालीले बाक्लो भित्ता वा ठूलो क्षेत्रफल भएका घरमा समेत स्थिर सिग्नल उपलब्ध गराउने कम्पनीको दाबी छ । पुराना ग्राहकलाई लक्षित गर्दै भायानेटले अपग्रेड प्रक्रिया पनि सरल बनाएको छ । हालका प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्कमा पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयूमा अपग्रेड गर्न सक्नेछन् । कम्पनीका अनुसार ४के भिडियो स्ट्रिमिङदेखि बिना अवरोध अनलाइन गेमिङसम्म आधुनिक डिजिटल आवश्यकतालाई ध्यानमा राखेर सेवा डिजाइन गरिएको हो । सेवाबारे थप जानकारी वा जडानका लागि ग्राहकले ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा पुग्न सक्नेछन् ।