एकैदिन तोलामा करिब पाँच हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा करिब पाँच हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको हो । सोमबार सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ । सोमबार ३ हजार ६५ रुपैयाँ रहेको चाँदी मंगलबार ३ हजार १७० रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य उच्च दरमा वृद्धि भएपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको महासंघले जनाएको छ ।
राष्ट्रपतिले गरे मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने स्म्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो । क्यासिनोलगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु/गराउनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । त्यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २० हजार बराबर मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । यो व्यवस्थाअनुसार अब प्रतिदिन ५० हजार बराबरको मात्रै कारोबार हुनेछ । यसअघि प्रतिदिन रु एक लाख बराबरको कारोबार हुँदै आएको थियो । यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार बराबर मात्रै गर्न सकिनेछ । प्रतिदिन २० हजार बराबर मात्रै कारोबार गर्न सकिने र मासिक रूपमा रु दुई लाख बराबर कारोबार हुनेछ । प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्था कायम छ ।