त्रिवि अस्पतालमा एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण हुँदै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गर्न प्रहरीले उनलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । अस्पतालको आकस्मिक कक्षमा अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले बताए । 'प्रहरीले अध्यक्ष ओलीलाई स्वास्थ्य परीक्षण गर्न भनेर अस्पताल ल्याएको छ', उनले भने, 'अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।' एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर कार्यालयमा एकछिन राखेर स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
त्रिवेणी । बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको थियो । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए । उनका अनुसार मृतक दुई जनाको नाम थर खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । रासस
मृतक बुवाको पार्थिव शरिरलाई देख्न नपाएपछि सामाजिक सञ्जालमै भक्कानिइन् कोमल वली
काठमाडौं । पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय वलीको निधन भएको हो । बुवाको निधनपछि तुलसीपुर जाँदै गरेकी कोमल ढिलो भएपछि सामाजिक सञ्जाल फेसबुकमै भक्कानिएकी छन् । रुँदै उनले भनेकी छन्, ‘हामी अमलिया आइपुग्यौं, नेपालगञ्जबाट आउँदाआउँदै ढिलो भयो, तुलसीपुरमा विमानस्थल बनाउन सकिएन, बनाउन सकेनौं । हजुरको पार्थिव शरिरलाई विदाई गर्न पाएनौं, एकैछिन कुर्नुस् न है ।’ स्वर्गीय ललितबहादुर वली साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका ललितका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् ।