लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।      केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भरुवाबाट एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, काठमाडौंका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ ।  केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।  

ज्ञान उदासलाई देवकुमारी थापा स्मृति पुरस्कार

विराटनगर । देवकुमारी थापा स्मृति गुठीले ५१ हजार रुपैयाँ राशिको देवकुमारी थापा स्मृति सम्मान कवि ज्ञान उदासलाई प्रदान गर्ने घोषणा गरेको छ ।  विसं २०१८ देखि साहित्य सेवामा निरन्तर सक्रिय उदासका सातवटा कविता सङ्ग्रह प्रकाशित छन् ।  यो सम्मान विसं २०६८ देखि प्रदान गर्न थालिएको हो, जुन यसअघि इन्द्रबहादुर राई, सत्यमोहन जोशी र महावीर पुनजस्ता वरिष्ठ व्यक्तित्वहरूले प्राप्त गरिसकेका छन् ।      त्यसैगरी, गुठीले २५ हजार रुपैयाँ राशिको बबरसिंह थापा स्मृति सम्मान चलचित्र निर्देशक सङ्गीता श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । श्रेष्ठले ‘कथा काठमाडौं’जस्ता चलचित्र र ७० भन्दा बढी ‘म्युजिक भिडियो’को निर्देशन गरेका छन् ।    

आर्थिक गणना वैशाख २ गतेदेखि

सिरहा । सिरहामा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना हुने भएको छ ।   जिल्ला तथ्याङ्क कार्यालयले बुधबार आयोजना गरेको जिल्लास्तरीय सचेतना गोष्ठीमार्फत गणनाको तयारी र कार्यतालिकाबारे जानकारी दिएको हो ।  प्रमुख तथ्याङ्क अधिकृत विमल यादवका अनुसार यो गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ ।   आर्थिक विकासको वस्तुगत अवस्था चित्रण गर्ने उद्देश्यले देशभरि नै सञ्चालन हुन लागेको यो कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ, प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण सङ्कलन गरिनेछ ।  गणनाका क्रममा ढुङ्गा, बालुवा तथा खनिज उत्खनन, लघु तथा ठूला उद्योग, निर्माण, विद्युत् उत्पादन तथा वितरण, खानेपानी तथा सिँचाइ, फोहर व्यवस्थापन, होटल तथा लज, यातायात, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार, बैंक तथा वित्तीय संस्था, घरजग्गा कारोबार, शैक्षिक तथा स्वास्थ्य संस्था गरी १८ प्रकारका प्रमुख आर्थिक क्रियाकलापलाई समेटिने अधिकृत यादवले जानकारी दिए । जिल्लाभर ६० जना गणक परिचालन गरिने जनाइएको छ ।