नबिल बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, एकैदिन चार करोड ७७ लाख बढीको कारोबार

काठमाडौं । सोमबारको बजारमा लगानीकर्ताहरु नबिल बैंकको सेयरमा आकर्षित देखिएका छन् । बैंकको एकैदिन संथापक र साधारण सेयर गरी चार करोड ७७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार मात्रै बैंकको २ करोड ४३ लाख ९२ हजार ५६४ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७४७ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा २३ रुपैयाँले बढेर प्रतिकित्ता ७४७ रुपैयाँमा कारोबार भएको छ । आइतबार बैंकको प्रमोटर सेयर मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको २ करोड ३३ लाख ६३ हजार २१२ रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएको छ । बैंकको सेयर कारोबारमा वृद्धि भएपछि कारोबार रकममा भने गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा बैंकको साधारण सेयर प्रतिकित्ता २४ रुपैयाँले घटेर ७८३ रुपैयाँमा झरेको छ । आइतबार बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता ८०७ रुपैयाँ रहेको थियो । त्यस्तै, अपर तामाकोशी हाइड्रो पावर र एनएमबि बैंकको एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल १६१ कम्पनीको २३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा सोमबारको नेप्से परिसूचक ७.२१ अंकले घटेर ११०२ अंकमा अडिएको छ । बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । संस्थाका लगानीकर्ताले एकैदिन ९.९५ प्रतिशत कमाएका छन् । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको भने सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । सो दिन होटल र उत्पादनमूलक समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

८ प्रतिशत बोनस पछि प्रभु बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो । मूल्य समायोजन पछिको सोमबारको बजारमा कम्पनीको सेयर मूल्य घट्दो क्रममा रहेको छ । सोमबार प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको सेयरको मूल्य घटेर २०५ रुपैयाँसम्म कारोबार भएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख कित्ता बोनस सूचिकृत

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । डेभलपमेन्ट बैंकको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो । तमघासमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकको हाल एक करोड ६२ लाख २६ हजार कित्ता सेयर सूचिकृत रहेको छ । त्यस्तै, बजार पुँजीकरण ३ अर्ब ९४ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल एक अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।