धितोपत्र बोर्डद्धारा कानुनी व्यवसायीसँग छलफल, कानुन संसोधन र नियमन प्रणाली व्यवस्थित गर्ने
काठमाडौं । धितोपत्र बोड र सर्वोच्च अदालत बार एशोसिएशनबीच नियमन तथा कानूनी व्यवस्था र अदालती अभ्यास विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले कानुन संसोधन र नियमन प्रणाली व्यवस्थित गर्न गत माघ २५ गते उक्त कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले धितोपत्र बजारको आकार, क्षेत्र तथा दायरा विस्तार भएका कारण कानून व्यवसायीका लागि एक महत्वपूर्ण विषय भएको बताए । साथै, बजारमा विभिन्न प्रकारका मुद्दा, मामिला आउन सक्ने भएकाले कानून व्यवसायीहरुले अध्ययन तथा अनुभवका आधारमा यस बजारप्रति आफ्नो ज्ञान विस्तार गर्न आवश्यक भएकोले यस प्रकारको अन्तरक्रिया तथा छलफल कार्यक्रम विशेष रहने उनले बताए । उनले धितोपत्र बजारका साथै वस्तु विनिमय बजार पनि नयाँ प्रकृतिको विषय भएकाले यसमा लगानी गरी प्रतिफल प्राप्त गर्न ज्ञान तथा कौशलता (नलेज एण्ड स्कील) दुवै आवश्यक हुने हुँदा यस बारेमा सर्वसाधारणलाई प्रशिक्षित गर्नुपर्ने बताए । उनले धितोपत्र बजार केवल लगानी र प्रतिफलको विषय मात्र नभई देशको आर्थिक विकासको संवाहक भएको न्यायाधीश सिन्हाले बताए । कार्यक्रमका विशेष अतिथि तथा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले प्राथमिक बजार देशव्यापी भएको तथा दोस्रो बजार क्रमशः देशव्यापी हुँदै गएको बताए । उनले बजार सहभागीको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै परस्परमा बाझिएका कानूनहरु मिलाउने, ट्रष्ट ऐन तथा म्युचुअल फण्ड सम्बन्धी ऐनको तर्जुमा, विद्यमान ऐन नियमहरुलाई समय सापेक्ष बनाउने र बजार गतिविधि तथा सेवाहरुलाई उच्च प्रविधियुक्त बनाई स्तरीय एवंम् विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्न चुनौतीपूर्ण भएको बताए । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कायम मुकायम(कामु) प्रबन्धक निरञ्जन फुँयालले धितोपत्रको दोस्रो बजार विषयमा र अधिवक्ता शिवप्रसाद रिजालले धितोपत्र बोर्ड सम्बन्धी कानूनी व्यवस्थाहरु र अदालती अभ्यासका बारेमा प्रस्तुतिकरण गरेका थिए । एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले बोर्ड र कानून व्यवसायीबीच भएको यस प्रकारको संवादले कानूनी व्यवसायीको भूमिका बढेको साथै थप जिम्मेवारी बनाएको बताएका छन् । उनले कानून प्रवलीकरणमा बोर्डको समेत भूमिका रहेको बताउँदै धितोपत्र बजारमा भए गरेका कानूनी अभ्यासलाइ थप सुदृढीकरण तथा पारदर्शी अदालती प्रक्रियाका लागि कानून व्यवसायी थप सक्रिय भई मार्गनिर्देशक हुन सक्नुपर्ने जनाएका छन् । कार्यक्रममा पूर्व न्यायाधिश तथा अधिवक्ता सहित करिब १२० जना सहभागि थिए ।
नेप्से सामान्य अंकले बढेर ११२८ मा, अपर तामाकोशीको सबैभन्दा बढी किनबेच, सेयर मूल्य कति ?
काठमाडौं । सोमबारको नेप्से परिसूचक सामान्य १.३४ अंकले बढेर ११२८.८६ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा सोमबार ०.१२ प्रतिशतले बढेको हो । कुल १६६ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सबैभन्दा बढी सेयर किनबेच भएको छ । अपरको एक करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा एक रुपैयाँ अर्थात ०.४३ प्रतिशतले बढेको हो । आइतबार अपरको सेयर मूल्य प्रतिकित्ता २३१ रुपैयाँ रहेको थियो । त्यस्तै, चौतारी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सोमबार ९.८९ प्रतिशत कमाएका छन् । सेयरधनीले आइतबारको तुलनामा सोमबार प्रतिकित्ता २८ रुपैयाँ बढी कमाएका हुन् । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ रहेको छ । बजारमा कारोबार आएका १० वटा समूहमध्ये दुई समूह राताम्मे भएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २४.४२ अंकले बढेर हरियो देखिएको छ । उत्पादनमूलक र बैंकिङ समूहको सूचक क्रमशः १०.४८ र १.४८ अंकले बढेको छ ।
युनिभर्सल पावरको आईपीओ मंगलबार बन्द हुने ! अपरकाे भन्दा बढी ओपन रेञ्ज पाउने
काठमाडौं । युनिभर्सल पावर कम्पनीको आईपीओ मंगलबार बन्द हुने भएको छ । युनिभर्सलले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीका लागि खुल्ला गरेको ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयरमध्ये आइतबारसम्म ३३ लाख ९ हजार कित्ता शेयर बिक्री भएको र मंगलबार पनि उल्लेख्य आवेदक रहेकोले २९ गतेभित्रै सबै शेयरका लागि आवेदन पर्नसक्ने सम्भावना रहेको कम्पनीले जनाएको हो । ‘दुई दिनमा करिब ३८ प्रतिशत शेयर बिक्री भइसकेको छ, मंगलबार पनि आवेदकहरुको चाप उल्लेख्य छ, अन्तिम दिन आवेदकहरुको संख्या थप बढ्ने भएकोले मंगलबार नै शेयर निष्कासन बन्द हुन सक्छ ।’- कम्पनी स्रोतले भन्यो । मंगलबारसम्म सबै शेयर बिक्री नभए फागुन २६ गतेसम्म समय थप गर्न सकिनेछ । उक्त शेयरका लागि न्यूनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । आइतबारसम्मको आवेदन र आवेदक संख्या हेर्दा प्रतिआवेदक औसत ८८ कित्ताका लागि आवेदन दिएका छन् । दुई दिनको आवेदन संख्या हेर्दा यदि मंगलबार नै शेयर निष्कासन बन्द हुने हो भने आवेदकले आवेदन गरेकै मात्रामा कम्पनीको शेयर प्राप्त गर्नसक्ने सम्भावना छ । कस्तो छ युनिभर्सलको शेयर ? युनिभर्सल पावरले दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लोखारे खोला जलविद्युत आयोजना बनाईरहेको छ । यसले ०७६ साउन देखि विद्युत्को व्यवसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त आयोजनामा हालसम्म कुनै पनि अवरोध नभएको र योजनाअनुरुप नै काम अघि बढिरहेको दाबी कम्पनीले गरेको छ । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलाश विकास बैंकले संयुक्त रुपमा लगानी गरेको छ । आयोजनाको डिस्काउन्टेड पेब्याक अवधि नै १४ वर्ष रहेको उल्लेख गरिएको छ, यो यसअघि शेयर जारी भएका निजी क्षेत्रका विद्युत् परियोजनाको भन्दा राम्रो अवधि हो । यसअघि जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत् आयोजना लगायतका आयोजनाको पेब्याक अवधि २० वर्षभन्दा बढी अवधि थियो । युनिभर्सलको आर्थिक वर्ष २०७४/७५ को प्रतिशेयर नेटवर्थ ९९ रुपैंया १४ पैसा छ । त्यसैले, यसले ओपन रेञ्ज नै ९९.१४ देखि २९७.४२ रुपैंयासम्म पाउनेछ, यो भनेको अपर तामाकोशी आयोजनाको भन्दा राम्रो रेञ्ज हो ।