सेयर बजार दोहोरो अंकले उकालो, ६ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको परिसूचक बजार बन्द हुँदा १७.४२ अंकले उकालो लागेर १२९७ अंकमा पुगेको छ । बजारमा परिसूचकका साथै सेयर कारोबारमा पनि वृद्धि भएको छ । बजारमा दिनभर १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको बजारमा विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी प्रुडेन्सियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । त्यसैगरी, बीमा समूह २९३ अंकले बढेको छ । त्यस्तै, अन्य र बैंकिङ समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् । बैंकिङ समूह ४.२८ अंकले बढेको छ भने अन्य समूह १.२१ अंकले घटेको छ ।
दुई फण्डको १६ करोड ५५ लाख इकाई नेप्सेमा सूचिकृत, हेरौँ कुन कुनको कति?
काठमाडौं । सोमबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुल १६ करोड ५५ लाख २० हजार इकाई सूचिकृत भएको छ । एकैदिन एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन्स म्यूचल फण्डको सो मात्राको इकाई नेप्सेमा थपिएको हो । यी दुई मध्ये एनआईसी एशिया ग्रोथको सबैभन्दा बढी इकाई थपिएको छ । यस ग्रोथको ८ करोड ३५ लाख २० हजार र सिटिजन्स म्यूचलको ८ करोड २० लाख इकाई नेप्सेमा थपिएको हो ।
यूनाईटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने, पूँजी एक अर्ब नाघ्ने
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले सेयरधनीमाझ २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १२४ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३६ रुपैयाँ रहेको छ ।