सेयर बजारमा एकाएक हरियाली, नेप्से १५ अंकले बढ्दा बीमा १६१ अंकले उकालो

काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार एक्कासी उकालो लागेको छ । सो दिनको बजारमा नेप्से परिसुचक १५ दशमलब ६५ अंकले उकालो लागेर १३६१ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । कुल १६५ कम्पनीको ५० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सिभिल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा बीमा समूहको सूचक १५१ अंकले उकालो लागेको छ । सो दिन उत्पादनमूलक बाहेक अन्य बाँकी समूह हरिया भएका छन् । उत्पादनमूलक भने सामान्य २.४३ अंकले घटेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद जारी गर्ने, कहिले हुँदै छ बुक क्लोज ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सेयरधनीमाझ ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले गत वर्ष सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम सो मात्राको सेयर जारी गर्न लागेको हो । सभाको निर्णयअनुसार कम्पनीले २० प्रतिशत बोनस सेयर जारी पश्चात कायम भएको पुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्दै छ । बोनस पश्चात कम्पनीको पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ हुनेछ । त्यसमा ३५ प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख रुपैयाँ पुग्ने छ । उक्त २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर जारी गर्न आगामी जेठ १ गते इन्स्योरेन्सको बुक क्लोज हुने भएको छ ।

चौतारी लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लि. ले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ५ लाख ४० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यस लघुवित्त वित्तीय संस्था तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल यस लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । सो मात्राको सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी १८ करोड रुपैयाँ हुनेछ ।