शिवम् सिमेन्टको आईपीओः ५ हजार २२० कित्तासम्म आवेदन दिनेले मागे जति पाए

काठमाडौं । शिवम् सिमेन्टको साधारण सेयर(आईपीओ) बाँडफाँट भएको छ । सिमेन्टले गत फागुन ६ गतेदेखि फागुन ९ गतेसम्म बिक्री गरेको उक्त आईपीओ बुधबार बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । त्यस्तै, योभन्दा बढी १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर बाडिएको क्यापिटलले जनाएको छ । यसरी बाँडफाँट गरे पश्चात ११५ कित्ता सेयर बाँकी रहेकोमा ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनाले १० कित्ता थप सेयर पाएका छन् । त्यस्तै, बाँकी ५ कित्ता सेयर पनि सोही रेन्जमा आवेदन दिएकामध्ये ५ जनाले १ कित्ताका दरले थप सेयर पाएका हुन् । बिक्री प्रबन्धकका अनुसार आयोजना प्रभावित स्थानीय बासिन्दाले मागे जति नै सेयर पाएका छन् । १५ कित्तादेखि १ लाख १५ हजार कित्तासम्म सेयर हात पारेका छन् । स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता सेयर बिक्री भएको थिएन । त्यसैले उक्त बिक्री नभएको सेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको क्यापिटलले जनाएको छ ।

६० प्रतिशत हकप्रद पछि एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बुधबार इन्स्योरेन्सको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ रहेको छ । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ । दिँउसोको सवा एक बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँले बढेर ३८५ रुपैयाँ पुगेको छ ।

बजार झिनो अंकले बढ्यो, एशियन लाइफको कारोबार रकम र संख्या दुबैमा वृद्धि

काठमाडौं ।  मंगलबारको बजार झिनो अंकले उकालो लागेको छ । शुरुमा समान्य उतारचढाव भइरहेको नेप्से १२ बजेदेखि तीव्र गतिमा उकालो लागेर ११०४ अंकमा पुगेको थियो । त्यसपछि अर्थात करिब २ बजेपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.०६ अंकले बढेर ११०२ अंकमा पुगेको छ । कुल १७४ कम्पनीको २२ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा मात्र नभई संख्याको आधारमा पनि इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको एकैदिन कुल ४१ हजार ६९५ कित्ता सेयर दुई करोड २६ लाख रुपैयाँमा किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँले घेटेको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको क्रमशः एक लाख ८७ हजार र एक २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी उत्पादन मूलक समूहको सूचक २८ अंकले उकालो लागेको छ । ट्रेडिङ र अन्य समूह सामान्य अंकले ओरालो लागेका छन् ।