सिटी एक्स्प्रेस फाइनान्सले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति

काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनीले १६७ प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको २५ लाख कित्ता सेयर जारी गर्ने अनुमतिको लागि आइतबार(आज) बोर्डलाई आवेदन दिएको छ । बोर्डले अनुमति दिएपश्चात कम्पनीले २५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने छ । हाल संस्थाको पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६७ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ । हकप्रद संस्थाको चुक्ता पुँजी वृद्धि गर्न सो मात्राको सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट मार्फत सो मात्राको सेयर जारी गर्ने निर्णय गरेको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटेर १३०० विन्दुमा, ट्रेडिङ बाहेक सबै समूह राताम्मे

काठमाडौ । आइतबार नेपाल स्टक एक्चेन्ज(नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १७ दशमलब ८१ अंकले ओरालो लागेर १३०० अंकमा अडिएको छ । बजार दोहोरो अंकले ओरालो लाग्दा बीमा समूह १२२ अंक तल झरेको छ । एक दशमलव ८१ अंकले परिवर्तन हुँदा बीमा समूहको सात करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा ट्रेडिङ समूहबाहेक कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । आइतबार १६१ कम्पनीको ३९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कारोबार रकमको आधारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ४ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको २ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.०२ प्रतिशत कमाएका छन् भने प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ५.७४ प्रतिशत गुमाएका छन् ।  

धितोपत्र बोर्डबाट नागबेली लघुवित्तले पायो हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार संस्थालाई ७ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । नागवेलीले चुक्तापूँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।