ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत अर्थात १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार मात्र नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत बजारमा बिक्री गर्ने छ ।
‘जनताकाे जलविद्युत कार्यक्रम’का संगठित संस्थाहरुले क्रेडिट रेटिङ गर्न नपर्ने
काठमाडौं । नेपाल सरकारको कार्यक्रम अनुसारको कार्यान्वयनमा आउन लागेको “जनताको जलविद्युत कार्यक्रम” अन्तर्गतका संगठित संस्थाहरुले क्रेडिट रेटिङ गर्न नपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले उक्त संस्थाहरुले धितोपत्रको प्रारम्भिक सार्वजनिक निश्कासन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिने भएको हो । बोर्डले बिहीबार एक सूचना प्रकाशित गरी क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ को उपनियम(७) बमोजिम क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थालाई हटाएर यस्तो व्यवस्था गर्ने निर्णय गरेको हाे ।
नेप्से ५ अंकले बढ्दा नेशनल लाइफ इन्स्योरेन्सको एकैदिन २२ करोडको सेयर किनबेच
काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य ५.४० अंकले उकालो लागेर ११५५ अंकमा पुगेको छ । पुँजी बजारमा ५ लाखभन्दा कमको कारोबारमा प्यान एैच्छिक गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय पछि उकालो लाग्न थालेको बजार अन्तत अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढेर बन्द भएको छ । सामान्य अंकले बढेको बजारमा सामान्य कारोबार भएको छ । कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । समग्रमा भन्नुपर्दा इन्स्योरेन्सको झण्डै कुल कारोबारको आधा जस्तो हाराहारीमा सेयर किनबेच भएको छ । यस इन्स्योरेन्सको एकैदिन २२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको संस्थापक र साधारण सेयर गरी सो मात्राको सेयर कारोबार भएको हो । सो मध्ये सबैभन्दा बढी संस्थापक सेयर बिक्री भएको छ । जसको एकैदिन २१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ भने एक करोड ५७ लाख रुपैयाँ बराबरको साधारणसेयर किनबेच भएको छ । कम्पनीको ब्रोकर नंम्बर २० र ४९ मार्फत कुल एक लाख ९६ हजार २६२ कित्ता सेयर २१ करोड रुपैयाँमा किनबेच भएको हो । बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर काराेबार भएकाे फ्लोरसीट बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०७० र साधारण सेयरको मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ रहेको छ ।