केपी ओलीले किने त्रिशुली–३ बीको १० हजार कित्ता सेयर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी, जनताको लगानी कार्यक्रममा १० हजार कित्ता सेयर खरिद गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले त्रिशुली–३ बीको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । ओलीले जनताको जलविद्युत आयोजना अन्तर्गत त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सेयर खरिद गरेका हुन् । उनले आगामी २ वर्षपछि कम्पनीको १० हजार कित्ता सेयर प्राप्त गर्नेछन् । उनले १० हजार कित्ता सेयरका लागि हाल एक लाख रुपैंयाँ भुक्तानी गरेका हुन भने २ वर्षपछि ९ लाख रुपैंयाँ भुक्तानी गर्नुपर्नेछ । ३७ मेगावाट क्षमताको आयोजनाको एक महिना अघि मात्रै निर्माण आरम्भ भएको थियो ।
प्यान बारे बोर्डको स्पष्टिकरणः एक पटकमा ५ लाखभन्दा बढी कारोबारमा मात्रै अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा एक पटकमा ५ लाख वा सो भन्दा बढी कारोबारमा स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने भएको छ । बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत दोस्रो बजारमा पटक पटक नभई एक पटकमा ५ लाखभन्दा बढी सेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई प्यान अनिवार्य गर्ने स्पष्टिकरण दिएको हो । बोर्डले आगामी २०७६ वैशाख १ गतेबाट ५ लाखभन्दा बढी कारोबारमा प्यान अनिवार्य र सो भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गरेको थियो । यस बारेमा कतिपय लगानीकर्ताहरुलाई केही दुविधा भएकाले बोर्डले बिहीबार उक्त स्टष्टिकरण दिएको हो । अब लगानीकर्ताले एक पटकमा ५ लाख रुपैयाँ वा सोभन्दा बढी रुपैयाँको सेयर कारोबार गरे मात्रै प्यान अनिवार्य हुने छ । साथै, उक्त व्यवस्था अनुसार लगानीकर्ताले सेयर खरीद वा बिक्री गर्दा दिनभरीको कारोबार वा पटक पटकको कुल कारोबारमा प्यान ऐच्छिक हुने बोर्डले जनाएको छ ।
सेयर बजार करेक्सनतर्फ, २५ करोडको कारोबारमा सबैभन्दा बढी ग्लोबल आईएमईको
काठमाडौं । सेयर बजार पुनः करेक्सनतर्फ लागेको देखिएको छ । अघिल्लो साता निरन्तर घटेर ११०० अंकमा झरेको नेप्से गत साता लगातार बढेर परिसूचक ११६३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से घटेर बिहीबार ११४० अंकमा आइपुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । गत साताको कुनै दिन आधा अर्बको सेयर किनबेच भएको बजारमा बिहीबार जम्मा २५ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ । बैंकको एकैदिन एक करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ६६ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ६२ अंकले घटेको छ भने बाँकी समूह सामान्य एकल अंकले ओरालो लागेका छन् । उता उत्पादनमूलक र अन्य समूह क्रमशः १.१६ र २.२२ अंकले बढेर हरिया देखिएका छन् । बजारमा सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ९.९१ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ रहेको छ । सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।