जलविद्युत् लगानी तथा विकास कम्पनीले १०% शेयर लाभांश दिने

काठमाडौँ । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावअनुसार शेयर लाभांश वितरण गर्दा लाग्ने कर बराबर हुन आउने २१ करोड ५२ हजार ६३१ बराबरको नगद लाभांश समेत प्रदान गर्ने भएको छ । तर सो प्रस्तावलाई यही पुस ३० गते आयोजना गरिएको सातौँ वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ । यस्तै कम्पनीले चुक्ता पूँजीको एक बराबर एकको दरले हकप्रद शेयर बिक्री गर्ने निर्णय यसअघि नै गरिसकेको छ । हाल कम्पनीको कूल चुक्ता पूँजी दश अर्ब रहेको छ । त्यसमा ८० प्रतिशत सरकारी स्वामित्वका संस्थाको रहेको छ भने २० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीले हालसम्म विभिन्न १४ आयोजनामा रु आठ अर्ब माथि लगानी गरेको छ । हकप्रद शेयर बिक्री पछि कम्पनीको पूँजी बढेर २२ अर्ब पुग्नेछ । अघिल्ला आर्थिक वर्षहरूमा कम्पनीले पाँच प्रतिशतका दरले नगद लाभांश दिँदै आएको थियो ।

साेमबारकाे बजारमा उतारचढाव, नेप्से ६ अंकले घट्दा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

काठमाडौं । सोमबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुलेलगत्तै बढेर १२०७ अंकमा पुगेको नेप्से करिब एक घण्टामा घटेर ११९२ अंकमा झरेको थियो । त्यसपछि पुनः बढेर १२०० अंकमा पुगेको परिसूचक एक बजे घटेर ११९२ अंकमा नै झरेको थियो । पछि पुनः सुस्त गतिले बढेर ११९९ अंकमा पुगेको परिसूचक अन्तत बजार बन्द हुँदा ११९१ अंकमा झरेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटेर ११९१.७४ अंकमा अडिएको छ । तीब्र उतारचढाव देखिएको सोमबारको बजारमा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिन ८७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ७९ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन आइतबारको तुलनामा ८ करोड रुपैयाँ घटी हो । बजारमा कुल १६८ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये एनएमबी बैंक लिमिटेडको ९ करोड ९५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको पनि ८ करोड २६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । उतारचढाव देखिएको बजारमा पनि विभिन्न ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । सो मध्ये हाथवे फाइनान्स कम्पनी र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था र जलविद्युत लगानी तथा विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९५ प्रतिशत र ९.८७ प्रतिशत कमाएका छन् । सो दिन सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७.६७ प्रतिशतले घटेको छ । त्यस्तै, मल्टीप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ७.०४ प्रतिशतले घटेको छ । बजारमा कारोबारमा आएका ११ समूह मध्ये अधिकांश समूहको सूचक राताम्मे भएका छन् । विभिन्न ७ समूहको सूचक राताम्मे भएका छन् भने बाँकी ४ समूहको सूचक हरिया देखिएका छन् । जीवन बीमा, फाइनान्स, उत्पादनमूलक र अन्य समूह उकालो लागेका छन् । सो दिन होटल समूह ३२, निर्जीवन बीमा २० र बैंकिङ् समूह १० अंकले घटेका छन् । बाँकी समूह भने एकल अंकले घटेका छन् ।

बोनस सेयरपछि सिद्धार्थ बैंकको मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

काठमाडौं । सोमबार सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार मूल्य समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता ३०९.५२ रुपैयाँमा खुलेको छ । समायोजन पछि खुलेको पहिलो कारोबारमा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ३०० रुपैयाँसम्म किनबेच भएको छ । दिउँसो करिब २ बसेसम्म बैंकको सेयर ८ रुपैयाँले घटेर प्रतिकित्ता ३०१ रुपैयाँमा किनबेच भइरहेको छ ।